प्रदेश राजधानी देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप, पक्षमा नेकपाको ह्विप

प्रदेश राजधानी देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप, पक्षमा नेकपाको ह्विप

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश नं ५ को स्थायी राजधानी देउखुरीका विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ । आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले दाङस्थित देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो ।

प्रदेश सरकारले प्रदेशसभामा पेश गरेका प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको विपक्षी दल कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए । नामका बारेमा भने कांग्रेसको असहमति नरहेको उनले बताए ।

कांग्रेसले निर्णय गरे पनि दाङ र  बाँकेका नेताले भने दाङकै पक्षमा मतदान गर्ने तयारी गरेका छन् । प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी  देउखुरी उपत्यका र प्रदेशको नाम लुम्बिनी प्रस्ताव गर्दै प्रदेशसभामा शुक्रबार पेश गरेका थिए। 

नेकपाले आफ्ना सांसदलाई ह्वीप जारी गरेर दाङको पक्षमा मतदान गर्न निर्देशन दिइसकेको छ । प्रदेश सभामा नेकपामा ६१ सांसद छन् नाम र राजधानी टुंगो लगाउन दुुई तिहाई मत आवश्यक पर्छ । त्यो भनेको ५८ जना सांसदले दाङको पक्षमा मतदान गर्नुपर्ने हुन्छ ।