दाङका पक्षमा मतदान गर्न नेकपाको ह्विप

दाङका पक्षमा मतदान गर्न नेकपाको ह्विप

बुटवल । प्रदेश सभामा दर्ता भएको प्रदेशको राजधानी र नामसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।  सोमबार बिहान बुटवलमा बसेको नेकपाको प्रदेश सभाको संसदीय दलको बैठकले मतदान गर्न मिल्ने ६० जना सांसदलाई पक्षमा मतदान गर्न भनेको नेकपा सचेतक भूमिश्वर ढकालले जानकारी दिए। 

बुटवललाई आर्थिक र पर्यटकीय राजधानी बनाउने र राप्ती उपत्यकालाई प्रशासनिक राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्न मुख्यमन्त्रीले ह्विप जारी गरेका थिए ।  प्रदेश सभाको बैठक अब केहीबेरमा बस्दै छ। 

प्रदेशसभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न सांसदलाई समय दिनेछन् । सांसदले धारणा राखिसकेपछि सरकारले पेश गरेको प्रस्ताव निर्णयार्थ पेश हुनेछ । यसरी छलफल र प्रस्ताव पेश गर्नका लागि प्रदेशसभाले तीन दिनको समय राख्ने गरी तयारी गरेको छ ।

सोमबार र मङ्गलबार छलफल चलाएर बुधबार निर्णयार्थ पेश गर्ने तयारी सदनको छ । प्रदेशसभा राजधानीसम्बन्धी निर्णयलाई अबको तीन दिनभित्र सक्ने गरी आन्तरिक तयारीमा जुटेको छ । कार्यविधिअनुसार संशोधन प्रस्ताव र सांसदले धारणा राख्न माग गर्ने समयअनुसार छलफल कति लामो हुने भन्ने तय हुने छ ।

राजधानीको प्रस्तावमाथि छलफल सकिएको भोलिपल्ट नै प्रदेशसभाले राजधानी र नामकरण टुङ्ग्याउने छ । प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार प्रस्तावका पक्षमा दुई तिहाई नपुगेका खण्डमा भने संशोधन प्रस्तावमाथि मतदान हुने छ । मतदानका लागि सम्पूर्ण तयारी गरिएको छ ।

प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्तावमाथि संशोधन पेश गर्नका लागि १८ घण्टाको समय निर्धारण गरिएको छ ।  यही असोज १६ गते प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेश भएको थियो ।

उक्त प्रस्ताव पारित गर्नका लागि निर्माण गरिएको प्रदेश न ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावसम्बन्धी आन्तरिक कार्यविधि, २०७७ मा प्रस्तावमाथि छलफल समाप्त भएको १८ घण्टाभित्र चित्त नबुझेका प्रदेशसभा सदस्यले संशोधन पेश गरिसक्नुपर्ने नियम बनाइएको छ ।