काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा १५ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १३ सय ७३, भक्तपुरमा ३९ र ललितपुरमा १ सय ८७ जना संक्रमित भेटिएका हुन् ।
देशभर पछिल्लो २४ घण्टामा २२ सय ५३ नयाँ कोरोना संक्रमित थपिएका छन् । आइतवार नियमित प्रेस ब्रिफिङको क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १२ हजार ७ सय ८४ मा गरिएको पीसीआर परीक्षणमा २२ सय ३५ जनामा कोरोना संक्रमण देखिएको बताएका हुन् । यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेको छ ।
संक्रमितमध्ये १० हजार ३ सय २६ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने बाँकी ११ हजार ८ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १३ सय २९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ रहेको छ । आज थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।