काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतवार भेटवार्ता भएको छ । आइतवार अपराह्नका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएपछि ओली–प्रचण्ड भेटवार्ता भएको हो ।
ओलीलाई भेट्न प्रचण्ड दिउँसो साढे २ बजे बालुवाटार पुगेका थिए । अध्यक्षद्वयबीच पछिल्ला राजनीतिक नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन लगायत विषयमा छलफल भैरहेको बताइएको छ ।
प्रधानमन्त्रीका सल्लाहकारसहित निवासका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि आइतवारका लागि तय भएको सचिवालय बैठक स्थगित गरिएको थियो । मन्त्रिपरिषद् पुर्नगठनको तयारी भैरहेको बेलामा धमाधम नेताहरुमै कोरोना संक्रमण पुष्टि हुन थालेपछि पुर्नगठनको काम दशैं पछि गर्ने तयारीमा प्रधानमन्त्री रहेको बताइन्छ ।
ओलीले प्रचण्डलाई दशैंपछि पुर्नगठन गर्ने प्रस्ताव राखे पनि प्रचण्डले भने अन्य नेताहरुसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताएको स्रोतको दाबी छ ।