प्रधानमन्त्री निवास बालुवाटारका ७६ जनामा कोरोना संक्रमण पुष्टि

प्रधानमन्त्री निवास बालुवाटारका ७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्रोतका अनुसार प्रधानमन्त्रीका सल्लाहकार, सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी चालकलगायत ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 


संक्रमितमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, फोटो ग्राफर राजन काफ्ले लगायतका सचिवालयका सदस्य समेत रहेका छन् । संक्रमितमध्ये रिमाल, भट्टराई, थापा र काफ्लेले आफूहरु संक्रमित भएको जानकारी दिएका छन् । 


उनीहरुले सामाजिक सञ्जालमार्फत संक्रमण भएकोबारे जानकारी दिँदै आफूहरुको सम्पर्कमा आउनेहरुलाई सचेत हुन सुझाएका छन् । प्रधानमन्त्री ओलीको रिपोर्ट भने नेगेटिभ आएको छ । सचिवालयका सदस्यहरुको भन्दा एक दिनअघि, विहीबार, स्वाब लिएर गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका चिकित्सक डा दिलीप शर्माले बताए ।