काठमाडाैं । नेकपाको सचिवालय बैठक स्थगित भएको छ । शनिबार दिउँसो ४ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक आइतबार ४ बजे बस्ने गरी स्थगित भएको हो।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको छलफलमा आज सचिवालय बैठक बोलाउने सहमति भएको थियो। पछिल्लो समय राजदूतलगायतका राजनीतिक नियुक्तिमा पार्टीभित्र विवाद आएपछि अध्यक्षद्वयबीच सचिवालय बैठकमा छलफल गर्ने सहमति भएको थियो ।
स्थायी कमिटीको निर्णय र असोज ४ र ६ मा बसेको सचिवालय बैठकको छलफलअनुसार राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड बनाउने विषयमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग छलफल जारी रहेकै वेला प्रधानमन्त्री ओलीले बिहीबार राजनीतिक नियुक्तिसम्बन्धी महत्वपूर्ण निर्णय लिएपछि पार्टीभित्र फेरि खटपट सुरु भएको छ ।
यता प्रचण्ड र माधव नेपाल समूहले भने फेरि प्रधानमन्त्री ओलीको राजीनामा माग्ने तयारी गरेका छन् । सचिवालयमै अल्पमतमा रहेका ओलीले वातावरण मिलाउन आजको सचिवालय बैठक स्थगित गरेको चर्चा छ ।