मंसिरको महिना। शरद ऋतुबाट काँचुली फेरेर हेमन्तमा परिणत हुँदैगर्दा प्रकृतिको सौन्दर्यता अर्कै देखिएको थियो। यसै पनि विवाहको महिना, तल्लो गाउँ, माथिल्लो गाउँ, वर, पर पञ्चेबाजा र नौमतीको सुमधुर ध्वनीले वातावरणलाई अझ बढी उत्सवमय बनाएको थियो । माथि चिहानडाँडा, मुनि दमाई गाउँ, अगाडि रणजोर खोलाको विशाल पहिरो अनि पछाडि ढुङ्गेछाप डाँडाको बीचमा अवस्थित थियो सेतीदेवी माध्यमिक विद्यालय। भर्खरै मात्र केहिदिन पानी परेर घाम लागेको हुँदा मौसम सफा थियो। त्यसैले पनि उत्तरमा हिमालको काखमा दोलखा जिल्ला मुस्कुराइरहेको देखिन्थ्यो भने दूर दक्षिणमा महाभारत पर्वतको हरियालीले सिन्धुलीलाई पनि सम्मुख पारिरहेको थियो।
देशमा सल्किरहेको सशस्त्र द्वन्द्धको रापले यो ठाउँलाई पनि अछुतो राखेको थिएन। विद्यालयको आसपासका भित्ताहरू र रूखहरूमा विभिन्न क्रान्तिकारी नाराहरू लेखिएका पोस्टरहरू टाँसिएका थिए । अझ त्यो दिन त एउटा रातो झन्डा पनि विद्यालयको प्राङ्गणमा फरफराइरहेको थियो। टिफिनपछि पठनपाठन बन्दगरि विद्रोहीहरूले सभाको आयोजना गरिरहेका थिए। विभिन्न वक्ताहरूको संक्षिप्त मन्तव्यहरू र केहि सांस्कृतिक कार्यक्रमहरूपछि उद्घोषकले इलाका सदस्य सामनालाई मञ्चमा बोलाए । पुष्ट शरिर, त्यसमाथि कम्ब्याट पोसाक, शिरमा तारा अंकित क्याप, निधारमा रातो टीका अनि खुट्टामा सैनिक बुट लगाएकी त्यस्तै सोह्र-सत्रकी एक युवती मञ्चमा अगाडि आइन् र मुठ्ठि कसेर सबैलाई अभिवादन गर्दै सम्बोधन गर्न लागिन्-
यो देशमा बेथिति र विसङ्गतिलाई कसले मलजल गरिरहेको छ ? तपाईहरूलाई लाग्न सक्छ, स्वर्गजस्तो सुन्दर हाम्रो देशलाई आज यो रसातलमा पुर्याउन केहि मुठ्ठिभर मान्छेहरू जिम्मेवार छन्। हेर्नुस् यो बुझाइ बिलकुल गलत छ। वास्तवमा आजको विषमताको मूल कारक भनेको यहाँको व्यवस्था, संस्कार र संरचना हुन् । हो यही कुसंस्कार र कुव्यवस्थालाई उखेलेर नयाँ संसार स्थापना गर्ने दृढसंकल्पका साथ हामीहरू यस ऐतिहासिक दिग्विजयको महान् अभियानमा होमिएका छौँ । लडाइँ हाम्रो रहर होइन, बरू युगको आव्हान हो, आवश्यकता हो किनभने देशले मुक्ति खोजिरहेको छ। यदि परिवर्तनको यस लडाइँलाई हामीले अगाडि बढाउन सकेननौं भने युगले हामीलाई सराप्ने छ, भावी पुस्ताले धिक्कार्ने छ। तर यो यात्रा रोकिंदैन। युगले सुम्पिएको यस ऐतिहासिक कार्यभार सम्पन्न गर्न अरू कोहि त अग्रसर हुन्छ नै। जो सुकैले यस क्रान्तिलाई अगाडि बढाओस्, ऊ हाम्रो युगको नायक हो, एक अजय विचारको संवाहक हो र उसको विजय अवश्यम्भावी छ।
सामनाको जोशिलो भाषण सुनिरहेको आकाश भिडबाट अलि अगाडि सर्यो। पहिलेदेखि नै परिचित आवाजजस्तो लागिरहेको थियो उसलाई। तर अब निश्चय नै गर्यो कि भाषण गरिरहेकी सामना अरू कोही नभएर उसकै पहिलेकी सहपाठी प्रतिक्षा थिई। विद्रोहमा लागेपछि नाम परिवर्तन गरेर छद्मनाम राखेकी रहिछ। यत्तिकैमा आकाशकी बहिनी रूपाले छेउमा आएर आश्चर्य मान्दै भनी-हेर्नु न दादा, हिजोकि त्यस्ती लजालु, असाध्यै कम बोल्ने प्रतिक्षा दिदी आज कसरी यति धेरै मान्छेहरूको अगाडि निर्धक्कसँग बोलिराख्नुभको छ ?
बहिनीतिर हेर्दै आकाशले भन्यो-त्यही त रूपा, अझ ऊ त देशको चिन्ता गर्ने भइसकिछ । क्रान्ति, परिवर्तन र नयाँ संसारको कुराहरू गरिरहेकी छ। जुन कुरा यहाँ अधिकांश मानिसहरूले बुझ्न पनि सकिरहेका छैनन्।
विगतमा सँगै कक्षामा पढ्दा कक्षाको प्रथम विद्यार्थी भएको नाताले कहिलेकाहिं नोटकपीहरू आदानप्रदान गर्दाबाहेक आकाशले चाहेर पनि प्रतिक्षासँग नजिक हुन र कुरा गर्न पाएको थिएन। अझ ग्रामीण समाज कुनै दुई केटा र केटीको थोरैमात्र पनि सामिप्यतालाई अतिरञ्जित गरेर उनीहरूको निधारमा कलंकको टीका लगाउन उद्दत रहिरहन्थ्यो। तर पनि यदाकता साथीहरू र रूपाबाट प्रतिक्षाले उसको पढाइप्रति गर्ने गरेको प्रशंसा सुन्न पाउँदा ऊ हर्षित हुन्थ्यो। उता प्रतिक्षा पनि उसको पढाइ र आचरणबाट निकै नै प्रभावित भइरहेकी थिई। समाजको डरले भनौं या अनुकुल समयको पर्खाइमा उनीहरूले एकअर्काप्रतिको अगाध प्रेम प्रत्यक्ष रूपमा व्यक्त गर्न सकेका थिएनन्।
विद्यालयमा देखिनुभन्दा दुई वर्षअघि आठ कक्षामा पढ्दै गर्दा एक दिन विद्यालयबाट घर फर्किनन् प्रतिक्षा । एकाएक ऊ हराएको हल्ला फैलिएको थियो गाउँमा। गाउँको एक गरीब किसान परिवारमा हुर्किएकी प्रतिक्षाका बाबु जीविकोपार्जनको सिलसिलामा धेरै पहिले मुगलान पसेका थिए। उनी हिंडेको पन्ध्र दिनपछि एकपटक मुगलान पुगेको खबरसहितको पत्र त आयो तर त्यसपछि सम्पर्कबिहिन भए, कुनै खबर, हालबेहाल केही थाहा भएन। गाउँमा अर्मपर्म, दु:खजिलो गरेर हुर्काएकी थिइन्, प्रतिक्षालाई उसकी आमाले। एकातिर वर्षौंदेखि बेखबर खसम अर्कातिर त्यस्तो दुःखले हुर्काएकी, बाँच्नको निम्ति एउटै मात्र भरोसा सम्झिएकी र बुढेसकालको एकमात्र साहारा ठानेकी आफ्नी प्राणभन्दा प्यारी छोरी पनि अचानक हराउँदा साह्रै नै विक्षिप्त बनेकी थिइन् उसकी आमा। प्रतिक्षा हराएको पाँच दिनपछि एक अपरिचित युवक उसको घरमा आएर आमालाई एउटा चिठी र केही पैसा दिएर हतारहतार फर्केको थियो। चिठीमा प्रतिक्षाले आफू खुशीले विद्रोहमा लागेको, जहाँ पुगे पनि आफू सकुशल रहने, सम्भव भएसम्म छिट्टै भेट्न आउने, नभए पनि निरन्तर पत्र लेखिरहने बाचा गर्दै आमालाई आफ्नो स्वास्थ्यको ख्याल गर्न र उसको बारेमा केही चिन्ता नगर्न भन्दै आग्रह गरेकी थिई।
प्रतिक्षाको घरभन्दा केही पर थियो आकाशको घर। आकाशका बाबु सरकारी सेनामा मेजर थिए। उनको कार्यक्षेत्र पश्चिम नेपालतिर थियो। घरमा आकाश, उसकी आमा र बहिनी मात्र थिए। दुवै परिवारबीच पहिलेदेखि राम्रो सम्बन्ध रहँदै आएको थियो । आकाश र प्रतिक्षाको हृदयमा एकअर्काप्रति परस्पर स्नेह पनि बढ्दो थियो। समाजको गिद्धे नजरको सन्त्रास र बालसुलभ लज्जाले उनीहरूको एकअर्काप्रतिको प्रेम अव्यक्त नै रहेको थियो । रूपालाई पनि असाध्यै माया गर्थी प्रतिक्षा। एक किसिमले भन्ने हो भने हितैषी नै थिए उनीहरू। प्रतिक्षा विद्रोही बनेर भूमिगत भइसकेपछि आकाश र रूपा विद्यालय जाँदा आउँदा उसको घरमा पसेर आमालाई बोलाएर मात्र हिंड्ने गर्थे । आमाले पनि उनीहरूले बोलाउँदा मन हलुका बनाउँदै बिरह पोख्ने गर्थिन्-
नानी बाबु हो ! आउँदा जाँदा कहिल्यै पनि म बुढीलाई नबोलाई बाटो काटेर नहिँड्नु है। तिमीहरू आउँदा एकछिनलाई भने पनि मनको न्यास्रो पखालिन्छ। छोरी हिंडेदेखि बैरागीजस्तै भएकी छु नानी हो। कहाँ के गर्दै होलीरु आफूले खाइ नखाइ रात दिन आँसु पिएर उसैको सुखको लागि यतिसम्म गरें । अहिले आएर त्यसलाई किन यो नर्कको बाटो हिँड्न परेको,उनीहरू पनि हरतरहले आमालाई सम्झाएर आफ्नो बाटो लाग्थे। विद्रोहमा लागेर परिवारका सदस्य भूमिगत भएकाहरूको घरमा बस उठ गर्नु पनि निको मानिन्न थियो ।
गाउँ छोडेर हिँडेपछि प्रतिक्षा दुई वर्षपछि पहिलोपटक विद्यालयको सभामा देखिएकी थिई। त्यहि भएर पनि कार्यक्रमको समाप्तिपछि एकपटक उसलाई भेट्न सकिन्छ कि भन्ने लालसा आकाशको मनमा जागृत हुँदै थियो।
यो कुनै नयाँ र नौलो क्रान्ति होइन । थोत्रिएका व्यवस्थाहरू,असान्दर्भिक पद्धती र संस्कारहरू फाल्न र न्यायसहितको समतामूलक समाज स्थापना गर्नको लागि इतिहासका हरेक कालखण्डमा यस्ता संघर्षहरू हुँदै आएका छन्। हो हामी त्यहि निरन्तरताको युद्धमा छौं । हामीलाई तपाईंहरूको साथको खाँचो छ।
उज्यालो चेहरा तर गम्भीर भावमा बोलिरहेकी सामनाको भाषणको सार यकिन गर्न नसकेपनि उपस्थित मानिसहरू उसका कुराहरू कमसेकम झुठो छैन भन्नेमा विश्वस्त हुँदै थिए। यत्तिकै अलि टाढाबाट ड्याङ्ग ड्याङ्गू बन्दुक पड्किएको आवाज आयो। एकाएक रामेछापबाट सरकारी सेना विद्रोहीहरूले कार्यक्रम गरिरहेको सुइँको पाएर पिछा गर्दै आइरहेको हल्ला फैलियो । सामना आफ्नो मन्तव्य बीचमै रोकेर भीडभित्र हराई । सबै भागाभाग गर्दै आ-आफ्नो घरतर्फ लागे। आकाश पनि रूपालाई लिएर हतारहतार घरतिर दौडियो। उसको मनमा अब डरभन्दा पनि वियोग र विछोडको सन्त्रासपूर्ण भावनाले स्थान जमाउन थाल्यो। घरमा पुगेर आमाको मन राखिदिन थोरै खाना खायो, अनि सरासर आफ्नो कोठामा गएर खाटमा पल्टियो ।
धेरै रातिसम्म मनमा कुराहरू खेलिरहे, अब प्रतिक्षासँग कहाँ र कहिले भेट होला ? ऊ त देश बदल्ने भनेर युद्धमा हिँडिसकेकी छ। मर्नु र मार्नु उसलाई सामान्य कुरा भइसकेको छ। ऊ खुकुरीको धारमा यात्रा तय गर्न निस्किएकी छ, संगीनको निशानासँग लुकामारी खेल्न हराएकीछ। अब उसलाई माया, ममता, मानवीय संवेदनाजस्ता कुराहरूसँग कुनै सरोकार बाँकी होला र ?
कैयौँ पटक निदाउन कोसिस गर्थ्यो ऊ तर सक्दैनथ्यो। फेरि सोच्थ्यो,आखिर ममात्र उसँगको एकोहोरो प्रेममा तड्पिरहेकोछु। उसले पहिले पनि त मलाई माया गर्थी भन्ने आधार नै के छ र ? बालापनको निर्दोष त्यो पारस्परिक स्नेह यदि रहेछ नै भने पनि शारिरीक आशक्तिपूर्ण प्रेममा नै परिणत हुन्छ भन्ने पनि त छैन। जीवन, भोगाइ र सम्बन्धहरू माथिबाट नै लेखिएर आएको हुन्छ भन्छन्। यस्तै यस्तै कुराहरू सोच्दै अबेर राति ऊ निदायो ।
विद्यालयमा विद्रोहीहरूको सभामा प्रतिक्षालाई देखेदेखि आकाशको मन यसै पनि स्थिर थिएन। उसले जीवन, भोगाइ, प्रेम र संसार के हो बुझ्नै छोडिसकेको थियो। अनेकौं छरपष्ट सोच र भावनाहरूभित्र कैदी बन्दै गइरहेको थियो ऊ।
बुधबारको दिन थियो । साताको हरेक बुधबार धोबी बजारमा हाट लाग्थ्यो । माघे संक्रान्ति नजिकै आइरहेको हुँदा आमाले आकाशलाई आवश्यक सरसामान लिएर आउन हाट पठाइन् । बाटो लामो भएकोले कोही साथी भेटिने आशले घरबाट सबेरै निस्कियो ऊ। सालुको बजार कटेर कविलासको उकालो चढ्दै गर्दा बीच चौतारोमा एक युवती झोला बिसाएर बसिरहेको देख्यो । उसले तलबाट नै चिनिहाल्यो, चौतारोमा बस्ने केटी प्रतिक्षा थिई। केही सोच्न नभ्याउँदै माथिबाट प्रतिक्षाले बोलाई-आकाश तिमी कता ?
म धोबी बजार हिंडेको प्रतिक्षा । अनि तिमी कसरी त यहाँ ? एकै सासमा बोल्यो आकाश।
म त माथि शिरिषे हिंडेको । मसँगैआएका साथीहरू ओखलढुङ्गातिर लागे। मचाहिँ यता जानुपर्ने भयो । शिरिषेमा साथीहरू भेट्नेछु । त्यहाँसम्म एक्लै हुनेभएँ भनेर सोचिराको, तिमीलाई भेट्टाइहालें। बाटो काट्न सजिलो हुने भयो । झोला काँधमा भिर्दै उठी प्रतिक्षा।
एक महिनाअघि विद्यालयको सभामा देख्दा लडाकु पोसाकमा थिई प्रतिक्षा। तर अहिले ऊ सामान्य ट्रयाक सुटमा हिंडेकी थिई। जसको यादले रातदिन तड्पाइरहेको थियो, सोच्दै नसोचेको उसँगको आकस्मिक भेट दैव संयोग नै लाग्यो आकाशलाई। अगाडिको यात्रा तय गर्दै दुवैजना हिँड्न थाले। आकाशले भन्यो-विद्यालयको सभामा तिमीले गरेको भाषण सुन्दा म कति अचम्ममा परेको थिएँ। त्यति कम बोल्ने,सकभर आफूलाई बाहिर नखुलाउने तिमीमा कति छिटो यत्रो परिवर्तन आएछ है। कार्यक्रम सकिएपछि तिमीलाई भेट्छु र कुरा गर्छु, सोचेको थिएँ तर …बोल्दाबोल्दै आकाश बीचमै रोकियो।
हो आकाश, हिजो म को थिएँ, के थिएँ, आज कुन अवस्थामा छु, नियतिले मलाई कुन ठाउँमा ल्याइपुर्याएको छ, म आँफै अन्योलमा छु। मैले पनि नसोचेको होइन, भूमिगत भएपछि आमाको यादमा तड्पिएकी म, त्यो दिन आमालाई भेट्छु, मनका सबै भडास आमासँग पोख्छु भनेर । तिमी र रूपालाई पनि कति सम्झन्थें मैले । तर यो अनिश्चितताको यात्रामा भेटघाट र मिलन पनि कहाँ निश्चित हुँदो रैछ र ? बोल्दाबोल्दै लामो सुस्केरा हाली र आकाशलाई सोधी-गाउँतिर सबैलाई सञ्चै छ ? आमालाई कस्तो छ आकाश ? गाउँबाट आउने जानेहरू भेट्दा संधै सोधिरा’को हुन्छु तर चाहेर पनि भनेको बेला पत्र पठाउन सकेकी छैन ।
अँ, सबैलाई ठिकै छ। आमा त त्यही त हो नि, संधै तिम्रो पीरमा आफूलाई गलाउनुभएको छ । हामीलाई भेट्दा रूनुहुन्छ। तिमीले किन यस्तो बाटो रोज्यौ प्रतिक्षा ? घरमा आमा एक्लै हुनुहुन्छ, तिमीले यसरी घरको जिम्मेवारी भुलेर हिँड्न मिल्छ ? आमाले तिमीमाथि राखेको भरोसा र विश्वासको डिल यदि भत्कियो भने के होलारु सोच्न सक्छ्यौ, गम्भीर हुँदै आकाशले भन्यो।
एकछिन सन्नाटा छायो। पुसको तुसारो पन्छाउँदै घामका किरणहरू बिस्तारै धर्तीमा हाबी हुँदै थिए। हाटको लागि बजार हिँडेका मान्छेहरूको ताँती अब धेरै तलसम्म देखिन्थ्यो । तर आकाश र प्रतिक्षा निकै माथि पुगिसकेका थिए। कुकुरकाटे भञ्ज्याङ्गमा पुगेर उनीहरूले चिया र बिस्कुट खाए अनि फेरि खरानेको पाखैपाखा उकालो हिँड्न लागे। प्रतिक्षाले भनी, हो आकाश, मैले यो कुन बाटो रोजें, के का निम्ति यो बाटो रोजें, मेरो भविष्य कहाँ छ, केही पनि बुझ्न छोडिसकेकी छु।
प्रतिक्षा आफ्नै सुरमा बोलि नै रही- काँडाका झाङमा अलमलिएका चराझैँ रङमङिएकी छु म । मेरो यात्रा चिप्लेकिराको रालमाथिको हिँडाइजस्तो लाग्न थालेको छ । एक मनले त सोच्छु, आमा मात्र सँधै दुःखको सागरमा हेलिएको कति दिनसम्म हेरेर बस्न सक्थें र म ? फेरि मेरो बाबालाई पनि गरिबीमा पिल्साएर मुगलान भसाउने र बेपत्ता बनाउने यहि समाज र यहाँको व्यवस्था त हो । अनि हामीले उठाएका वर्गीय हितका मुद्धाहरू गलत पनि त छैनन्। त्यहि भएर सके यो देशलाई मुक्ति दिलाउँछु, फुङ्ग उड्दै गरेको आमाको मुहारमा फेरि रङ्ग भर्छु । सकिन भने एकदिन मरेर जाने चोला हो, देशको निम्ति आफूलाई अलि चाँडै बली चढाउँला।
खरानेको पाखाबाट पारिपट्टि सौरेनी भञ्ज्याङ्गमा सेताम्य हिउँ परेको देखिरहेको थियो। घाम लागेको भए पनि हिमाली चिसो सिरोटेले बेलाबेला हानिरहेको थियो उनीहरूलाई। आकाश एकसुरले प्रतिक्षाको कुरामा डुबुल्की मार्दै हिँडिरहेको थियो। प्रतिक्षाले फेरि भनी-अर्को मनले सोच्छु, सिङ्गो देशलाई खरानी बनाएर, त्यही तातोमा रमाउँदा सन्तुष्टी मिल्ला र ? वर्गीय मुक्ति नै भने पनि आज दुवै पक्षबाट मर्नेहरू सबै दुई छाक गाँस टार्न परिवारको रोजिरोटीका लागि हिँडेका गरीब र निमुखाहरू मात्रै त छन्। ठूला सम्भ्रान्त शासकहरू र नेतृत्वमा रहेका टाउकेहरू त यमराजको छायाले समेत नभेट्ने गरी देश विदेशका बलिया सुरक्षा घेराभित्र बसेर गरीबका छोराछोरीहरूलाई रगतको होली खेलाइरहेका छन्। यिनीहरूबाट भोलि धोखा भयो भने यत्रा सहीदहरूको बलिदानी कति सस्तो साबित होला ?
प्रतिक्षाका हरेक शब्दहरू रगतबाट निस्किएका अभिव्यक्तिहरूजस्तो लाग्दै थियो आकाशलाई। सोच्थ्यो, झरेका सपनाहरूको पातमै टेकेर बोलिरहिछ प्रतिक्षा । ‘बिहानीको आशामा तिमीले हिँडिरहेको यो अन्धकारमय बाटो कहाँ पुगेर कहिले टुङ्गिएला र ? मलिन स्वरमा बोल्यो आकाश।’
थाहा छैन आकाश, खण्डहरमा ब्युँझिएका मेरा सपनाहरू पुरा होलान्, नहोलान्। भञ्ज्याङहरूमा बास बसेका ती सपनाहरू स्मृतिमा रहलान्, नरहलान्। मलाई यो दुई वर्ष दुई दशकभन्दा बढी लागिसक्यो आकाश। न भोक भन्न पाइएको छ, न त निद्रा नै। एउटै थालमा खाना खाएका, एकै ओछ्यानमा सुतेका कैयौं साथीहरू आफ्नै आँखा अगाडि मारिएका छन् । म पनि धेरै पटक मृत्युलाई छल्दै यहाँसम्म आइपुगेकी छु। लाग्छ,आमाको अविराम पुकार भगवान पशुपतिनाथले सुनिरहेका छन् र मात्र म आजसम्म जीवित छु। सारा खुशी लुटिएको छ मेरो,हाँसो खोसिएको छ। आकाश,दैवले ममाथि असाध्यै क्रुर परीक्षा लिइरहेको छ। आँखा रसाएर आए प्रतिक्षाको।
प्रतिक्षा जे बोलिरहेकी थिई, ती शब्दभन्दा बढी भग्नावशेष बनेर रोइरहेको गीतजस्तो लाग्थ्यो। आकाशलाई लाग्यो, प्रतिक्षाका निम्ति उसँग व्यक्त गर्न अब कुनै शब्द छैन। रित्तो रित्तो थियो ऊ। वर्षौंदेखि मनमा सँगालिराखेको प्रतिक्षाप्रतिको प्रेम अझै पनि प्रस्फुटन गर्न सकेको थिएन, न त प्रतिक्षा नै त्यो मनस्थितिमा थिई । आफूलाई सम्हालेर विषयान्तर गर्दै आकाशले भन्यो, प्रतिक्षा, स्कुले जीवनको सम्झना कत्तिको आउँछ नि ?
आउँछ नि, अति नै आउँछ। अझ जब म हतास भएको हुन्छु, जिन्दगीमा आफू हारिरहेको, कताकता हराइरहेको आभास गरेको हुन्छु, त्यो बेला मलाई मेरी आमा र स्कुलका साथीहरूको असाध्यै याद आउँछ। त्यसमा पनि तिमी राम्रो पढ्ने मान्छे, सबैले तिम्रै उदाहरण दिंदा, तिमीसँग नजिक हुन कति मन लाग्थ्यो। तर खै किन हो डर लाग्थ्यो, तिमीसँग स्कुलमा हुँदा खुलेर बोल्न पनि कहिल्यै सकिन। तर अन्यथा नसोच,मैले त्यो बेला पनि भविष्यमा तिमीसँग विवाह गरेर सुन्दर संसारमा रमाउने परिकल्पना गर्थें ।
प्रतिक्षाको कुराले केहि लज्जा महशुस भए पनि भावुक बनेर सुनिरहेको थियो आकाश। प्रतिक्षा भन्दै थिई- मलाई त लागेको थियो,मेरो तिमीप्रतिको त्यो अबोध प्रेम फक्रिन नपाउँदै पहिले नै निमोठियो । तर भगवान हुँदा रैछन् क्यारे, आज तिमीसँग भेट हुन लेखेको रहेछ। मनको वेदना बिसाउनकै लागि दैवले आज तिमीसँग भेट जुराएको जस्तो लागेको छ।
प्रतिक्षा जति कुरा गर्दै गई,आकाशको मनमा उति नै उसप्रति स्नेह उर्लिंदै थियो। उसले त सोचेको थियो, उसको माया एकतर्फी थियो तर प्रतिक्षाले पनि उत्तिकै माया गर्दिरहिछ उसलाई । उसलाई लाग्थ्यो, युद्धमा हिंड्नेहरूको चट्टानी मन हुन्छ तर होइन रहेछ, वर्षौंदेखिको पीडा कष्ट र वेदनाको भारीले उनीहरूको मन गह्रुङ्गो बनाएको हुँदो रहेछ। उसले सुनेको थियो, विद्रोहमा लागेकाहरू त नास्तिक हुन्छन्, भौतिकवादमा मात्र विश्वास गर्छन्। तर प्रतिक्षा त बारबार भगवानको नै कुरा गरिरहेकी छ। मनमनै सोच्यो, आखिर टेक्ने समाउने सबै आधारहरू धराशायी हुँदै जाँदा एउटा मात्रै भरोसा त्यही दैवसँग त हुने रहेछ। यस्तै अनेक कुराहरू गर्दै, मनका वर्षौंदेखिका कुण्ठाहरू पोख्दै उनीहरू धोबी बजार निस्किए। संक्रान्तिको मुखमा लागेको हाट, मान्छेहरूको ठूलो भीड थियो। भीडभित्र नपस्दै प्रतिक्षाले भनी- आकाश, माथि बजारमा नजाउँ, सुराकीहरू पछि लाग्न सक्छन्। हामी असुरक्षित हुन्छौं । यहीं किनमेल गरेर छिट्टै छुट्टिनुपर्छ हामी।
‘छिट्टै छुट्टिनुपर्छु’ यी शब्द काँडा बिझेजसरी बिझ्यो आकाशको मनमा। तर विवशतालाई स्विकार्न अभिशप्त थियो ऊ ।
हुन्छ आमाले अह्राउनुभएका सामानहरू यहिँ किनिहाल्छु म,आकाशले भन्यो । उसले आवश्यक सबै सामग्रीहरू किन्यो । प्रतिक्षाले पनि केही मरमसला त्यहीं किनी । त्यसपछि उनीहरू एउटा कपडा पसलमा गए । प्रतिक्षाले आमाको लागि सारी किनी । अनि रूपाको लागि एउटा पस्मिनाको सल किनेर आकाशलाई दिंदै भनी- कालीलाई यो प्रतिक्षा दिदीले पठाएको मायाको चिनो भनेर देऊ है। दुवैले एकएक ओटा जाले रूमाल पनि किने र बाहिर निस्किए । उनीहरू भीडभन्दा अलि परको चौरमा गएर बसे ।
प्रतिक्षाले एकपटक चारैतिर नजर डुलाई। दूर क्षितिजमा पुगेर उसका आँखाहरू टक्क अडिए । एकछिन खै के सोची कुन्नि, अनि आकाशतिर फर्कंदै भनी- आकाश, जीवनमा सोच्दै नसोचेको भेट भयो, यत्रो बाटो सँ-सँगै यात्रा गरियो, आज त मेरो पनि मन धेरै हलुका भएको छ। साथीहरू शिरिषेमा पर्खिरहेका होलान्। अब मैले जानुपर्छ।
आकाश गह्रुङ्गो मन लिएर एक अबोध बालकले झैं एकटक हेरिरहेको थियो उसलाई। प्रतिक्षाले फेरि भनी- हामी छिट्टै पूर्व खोटाङ, भोजपुरतिर जाने कुरा छ। अरू त केहि गुनासो छैन अब मलाई, तिमीसँग पनि भेट भइहाल्यो, मर्नुअघि एकपटक आमाको मुहारमा हाँसो देख्न मन थियो। खै भेट्दै नभेटि मर्छु कि, त्यहि मात्र डर लाग्छ ।
‘मर्ने कुरा नगर, प्रतिक्षा। तिमीलाई मैले कति माया गर्छु, त्यो त सायद भगवानलाई मात्र थाहा होला। तिम्रो आमाको रातदिनको प्रार्थना र मेरो पवित्र प्रेमको शक्तिले तिमीलाई केही पनि हुने छैन। तिमीसँग शीघ्र मिलनको कामना गर्दै म सारा देवीदेउरालीहरूलाई फूलपाती चढाइरहने छु, मठमन्दिरहरूमा परेवा उडाइरहने छु। तिम्रो मायाको कसम म तिम्रै प्रतिक्षा गरिरहेको हुनेछु।’ आकाशको आँखामा आँशुको ताल बन्यो।
‘हुन्छ आकाश, आमालाई मेरो केही चिन्ता नगर्नु, आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्नु रे भन्देउ। साह्रो गाह्रो पर्छ कि तिमीले हेरविचार गर्दिनु। कालीलाई पनि उसकी दु:खी दिदीले धेरै धेरै सम्झिएकी छ,नबिर्सिएस् रे भन्दिनु। नमरी बाँचे,दिनदशा नबिग्रिए अवश्य भेट हुने नै छ।’ प्रतिक्षाले आफूलाई सम्हाल्न सकिन। रोक्दा रोक्दै पनिआँखाबाट बरर आँशु झरिहाले ।
दुवै जना हत्केलाले आँशु पुछ्दै बसेको ठाउँबाट उठे। प्रतिक्षाले अघि किनेको सारी, मरमसला र केही पैसा आमालाई दिनु भनि आकाशलाई सुम्पिई। दुवैले झोलाबाट अघि किनेको जाले रूमाल झिके अनि एकअर्कालाई दिएर चोखो मायाको बन्धन कसे। दुई आत्माको मिलन त फेरि होला नहोला, तर त्यो बिदाई अघिको अन्तिम क्षण बिरानो बस्तीलाई समेत रूवाइदिने किसिमको थियो। गुँरासै-गुँरासै फुल्ने प्रीतिका आँखाहरूमा आँशु छचल्किएको थियो, जुनभन्दा शितल मुहारहरूमा रोदनमय बादल लागेको थियो, झर्नाको कलकल मिसिएको मधुर बोली पनि अनायासै भासिएको थियो ।
‘हुन्छ आकाश, अब म जान्छु। कोहि साथी त तिमीले भेटिहाल्छौ। राम्रोसँग जाऊ है।’ प्रतिक्षाले बिदाइको हात हल्लाई।
‘हुन्छ, राम्रोसँग तिमी पनि जाऊ है प्रतिक्षा। आफ्नो सधैँ ख्याल गरे। घरको केही पीर नगर्नु। म…’ बोल्दाबोल्दै भक्कानियो आकाश। मुटुभित्र गाँठो पार्दै बिदाइको हात हल्लायो ।
अघि त्यहाँसम्म आउँदा त दुःख र बेदनाका कथाहरू सुनाउँदै आएको भए पनि एक अर्कालाई मनदेखि बुझ्ने प्रियसीको साथ थियो। तर अब अनिश्चित गन्तव्यको अन्धकारतिर सानो आशाको त्यान्द्रोको धिपधिप प्रकाशमा एक्लै यात्रा गर्नु थियो प्रतिक्षालाई, जुन प्रकाश जतिबेला पनि हुरीले निभाउन सक्थ्यो। यता आकाश पनि भँगालाले खाएजस्तो उदास मन लिएर घरतिर फर्कनु थियो नै। बाटोमा साथीहरू त अवश्य भेट्थ्यो होला, तर पनि ऊ एक्लै नै हुन्थ्यो। आखिर मन त पहिले नै प्रतिक्षासँग जानेवाला थियो।
बिदाइको क्षणमा प्रतिक्षालाई एक मनमा त लागेको थियो, आकाशलाई अँगालो मारौं र डाको छोडेर रोउँ। तर उसलाई राम्रोसँग थाहा थियो कि उसले तय गरेको यात्रामा आँशुको कुनै मूल्य छैन। यता आकाशलाई पनि नलागेको होइन, प्रतिक्षाको काखमा शिर राखेर एउटा सानो बालक आमाको काखमा रोएजसरी ग्वाँ-ग्वाँ रोएर सारा मनको वेदना पोखौं, प्रतिक्षाको हात समाएर बिन्ति गरौं , मलाई छोडि तिमी एक्लै नजाऊ, कि त मलाई पनि तिमीसँगै लैजाऊ, हैन भने हामीसँगै घर फर्कौं, दुःख-सुख बाडेर सँगै बाँचौंला । तर आखिर नियतिले दुवैको लागि अलग अलग बाटो निर्दिष्ट गरिसकेको थियो र विछोडको अनिवार्य दोबाटोमा ल्याएर छोडिसकेको थियो। प्रतिक्षाले डाँडो नकाटुन्जेल उसले हेरिरह्यो। प्रतिक्षाले पनि अन्तिमसम्म फर्केर हेर्दै हात हल्लाइरहेकी थिई। अन्तत: आत्मा र मन चुँडिएको लगभग निर्जीव शरीर लिएर आकाश घर फर्कियो।
भोलिपल्ट बिहान उठेर आकाशले रूपालाई प्रतिक्षाले पठाएको सल दियो। रूपा पनि दिदीलाई आकाशले भेटेको सुनेर फुरूङ्ग भई। तर दिदीसँग अब कहिले भेट होला र, रूपा सोच्न लागी। प्रतिक्षाले आमालाई पठाएका सामानहरू लिएर आकाश प्रतिक्षाको घरतिर लाग्यो। यता आकाशकी आमालाई चाँही छोराछोरी अब प्रतिक्षा र उसको घरसँग नजिक नभइदिउन् भन्ने लाग्न थालेको थियो। भन्थिन्, प्रतिक्षा अब पहिलेकी जस्तो होइन। ऊ र उसँग हिँड्ने मान्छेहरू तिमीहरूको बाबाको दुस्मन हुन्। उनीहरूबाट हामीलाईसमेत खतरा छ।
‘दिदीलाई त्यस्तो नभन्नु त आमा ! अरूले के गर्छन् थाहा छैन तर प्रतिक्षा दिदीले हामीलाई कुभलो गर्न त के सोच्न पनि सक्नुहुन्न।’ रूपा आमालाई सम्झाउँथी।
गाउँको वातावरण दिनदिनै अशान्त र त्रासदीपूर्ण बन्दै गयो । हिजोसम्म नङ र मासु जसरी पारस्परिक सौहार्दतामा मिलेर बसेका गाउँलेहरू प्रत्येकको आँखामा आज विषादको फूल फुलेको छनक पाइन्थ्यो । विद्रोहीहरू गाउँमा आउने, युवायुवतीहरू अपहरित हुने, मान्छेहरूले बिना प्रमाण सुराकीको आशंकामा कुटाइ खाने र मारिनेसम्मका घटनाहरू बढ्दै गए । आकाशको घरमा पनि कि उसको बाबुलाई जागिर छोडेर घर फर्कन लगाउनु, हैन भने घरजग्गा कब्जा गरिदिन्छौं भनेर निरन्तर धम्कि आउन थालेको थियो। उता सरकारी सेनाले पनि गाउँमा आएर मान्छेहरूलाई आशंकाको भरमा कुटपिट, गिरफ्तार र यातना दिनेजस्ता कार्यहरूलाई तिव्रता दिइरहेको थियो। एकदिन त प्रतिक्षाको घरमा गएर ‘तँ आतंककारीलाई पाल्ने हैन बुढी ?’ भन्दै सेनाले उसकी आमालाई तथानाम गाली गर्दै घरभित्रका भाँडाकुडा तितरवितर पारिदियो । त्यो दिनदेखि आमाको आँखामा साउने झरी रोकिन सकेन। त्यसको दुई दिनपछि विद्रोहीहरू आकाशको घरमा पसेर सम्पूर्ण अन्नपात बाहिर निकाले अनि घरमा आगो लगाईदिए । जग्गा कब्जा गरेको घोषणा गर्दै पार्टीको झण्डा गाडेर गए। आकाशकी आमाले भोलिपल्टै अब सदरमुकाममा रहेको उनको माइतीको शरणमा जाने निर्णय गरिन् र हलगोरू छिमेकीको जिम्मा लगाएर गोठमा बासको लागि बन्दोबस्त मिलाउन लागिन्। गाउँमा यत्ति छिटोछिटो बिग्रदै गएको अवस्था देखेर आकाश र रूपा पनि धेरै नै विरक्तिएका थिए।
भोलिपल्ट बिहान आकाशकी आमा सदरमुकाम जानको लागि सरसामान मिलाउँदै थिइन्। आकाश र रूपा जलेको घरको आँगनको पेटीमा हिंड्नको लागि तयार भएर बसेका थिए। प्रतिक्षासँग धोबीबाट छुटेर आएपछि आकाशले बिहान र बेलुका नियमित समाचार सुन्न थालेको थियो। आज पनि उसको हातमा रेडियो बजिरहेको थियो । रेडियो नेपालमा बिहान सात बजेको समाचार आइरहेको थियो ।
‘नियमित गस्तीमा रहेको सुरक्षा फौज र आतंककारी विद्रोहीहरूबीच हिजो राती खोटाङको रूपाकोटमा दोहोरो भिडन्त भएको छ। भिडन्तमा चार जना आतंककारीको घटनास्थलमै मृत्यु भएको छ भने सुरक्षाकर्मीतर्फ कुनै क्षती नभएको बताइएको छ। मृत्यु हुनेमा एकजना सामना भनिने रामेछापकी प्रतिक्षा आचार्य रहेको पुष्टी भएको छ। थप विवरण…’
समाचार सुन्नासाथ रूपा रूँदै चिच्याई। आकाशलाई एकाएक संसार अन्धकार भएजस्तो लाग्यो, टेकिरहेको धर्ती भासिएजस्तो लाग्यो। उसले पनि आफूलाई सम्हाल्न सकेन। डाको छोडेर नै रोयो। केही साताअघिमात्र हाट जाँदाका प्रत्येक क्षणहरू हुरीले उडाउँदै उसको स्मृतिमा ल्याइपुर्यायो। प्रतिक्षाले बोलेका हरेक शब्दहरू एकपछि अर्को गर्दै उसको कानमा अस्पष्ट रूपमा गुञ्जिन थाले। आकाशकी आमाले पनि आँशु थाम्न सकिनन् तर पनि आफूलाई सम्हाल्दै आकाश र रूपालाई लिएर प्रतिक्षाको घरतिर लागिन्।
प्रतिक्षाको घरमा पहिले नै गाउँलेहरू जम्मा भइसकेका थिए। प्रतिक्षाकी आमा मुर्छा परेर ढलेकी थिइन्। आकाशकी आमा रूँदै गएर प्रतिक्षाकी आमालाई अँगालो हालिन् र गाउँलेहरूलाई हेर्दै भनिन्- यी अधर्मीहरूले हामीलाई बाँच्न पनि नदिने भए। हिजो हाम्रो घरमा आगो लगाए। आज प्रतिक्षा मारिएको समाचार आयो। भोलि फेरि अरू के गर्ने हुन्रु हैन हामी गरीबका छोराछोरीहरूले यिनीहरूको के बिगारिदिएका थियौं र ? शासन राजनीति सबै उनीहरूकै हातमा छ। मिलेर देश चलाए त हुन्थ्यो नि। देशलाई तहसनहस पारेर जनतालाई गरिबीमा पिल्साएर फेरी त्यही गरिबीमाथि कहिलेसम्म राजनीति ? सतीले सरापेको यो देशमा भाइभाइलाई लडाएर कुन चाँहि स्वार्थ पूरा गर्न आतुर छन् हँ पापिहरू ? जतिसुकै प्रजातन्त्र र मुक्तिका नारा फलाके पनि आखिर जीत त ठूला ठालू र जाली फटाहाहरूकै भएको छ। व्यवहारतः आजसम्म कुन चाँहि युद्धले गरीबहरूलाई साँचो अर्थमा न्याय र मुक्ति दिलाएको छ र ?
मानिसहरूको होहल्लाबीच धेरैपछि प्रतिक्षाकी आमा होसमा आइन्। सम्झाइ-बुझाइ गरेर दिउँसोतिर गाउँलेहरू आ-आफ्नो घरतर्फ लागे। अन्तिममा आकाशकी आमाले पनि गहभरी आँशु पारेर बिदा माग्दै भनिन्- लौ त दिदी, हामीलाई पनि यहाँ टिक्न दिएनन्। हामी त सदरमुकाम हिँडैको । देशमा शान्ति फर्किएछ भने फेरि कुनैदिन यहि ठाउँमा फर्किउँला। हामीलाई मात्र हैन, संसारलाई नै रूवाएका छन्। जेजस्तो भए पनि मन त बुझाउनै पर्ने रहेछ। आफ्नो ख्याल गर्नु है।
‘लौ बा लौ, राम्रोसँग जाऊ। छोराछोरीलाई ठूलो मान्छे बनाए। यति राम्रो गाउँलाई मसानघाट बनाइहाले। मैले पनि अब को भनेर बाँच्नु छ र । यस्तै दुर्दिन देख्नको लागि आजसम्म बाँचेको रैछु, अस्ताउँछु होला अब छिट्टै नै। तिमीहरू सबैको सदा भलो होस् ।’ प्रतिक्षाकी आमाले बिलौना पोखिन्। आकाश र रूपाले पनि भारि मन लिएर बिदा मागे।
रूपा र आमा त दुःखका नै भए पनि कुरा गर्दै हिँडिरहेका थिए। तर आकाश शून्यताभित्रै हराइरहेको थियो। प्रतिक्षासँग पढ्दाका क्षणहरू, विद्यालयमा प्रतिक्षाले गरेको भाषण, हाट जाँदाखेरि उसले गरेका कुराहरू, अनि रूमाल साट्दै बिदा भएका ति पलहरू एकएक गर्दै उसको स्मृतिमा खेलिरहेका थिए। बालापनको अबोध त्यो पारस्परिक स्नेहको जगमा पवित्र प्रेमको सुन्दर संसार रचना गर्ने सपना अनायासै सिसासरी फुटेको थियो फेरि कहिल्यै नजुट्ने गरी। एउटा अनुपम प्रेमक हानीको निर्मम अन्त्य भएको थियो। गरिबीले युद्धसम्म पुर्याएर एउटा निष्कलंक सृष्टीको रचनालाई बर्बरतापूर्वक निमोठेको थियो। तर आकाश निरन्तर हिँडिरहेको थियो सन्तप्त हृदय लिएर, सत्ययुगमा सतीदेवीको वियोगमा हिँडेका महादेव जसरी मुर्झाएको बिलकुल शून्य मन लिएर।