काठमाडौं । निजामती सेवा ऐनको दफा १९ (२) ‘क’ ले भन्छ– ‘ज्येष्ठता र कार्यकुशलताका आधारमा बहालवाला सचिवहरूमध्येबाट एक जनालाई मुख्यसचिव नियुक्त गरिनेछ ।’ तर न लोकदर्शन रेग्मी ऐनको मापदण्डका आधारमा मुख्यसचिव नियुक्त भएका थिए, न परराष्ट्र सचिवबाट बिहीबार मुख्यसचिव बनेका शंकरदास बैरागी नै । ‘ऐनमा जेसुकै लेखिए पनि पहुँचका आधारमा मुख्यसचिव बन्ने चलन रहँदै आएको छ,’ एक पूर्वसचिवले भने, ‘रेग्मी जसरी मुख्यसचिव भए, बैरागीले त्यही उपाय अपनाए, सफल पनि भए ।’
तत्कालीन मन्त्री विष्णु पौडेललाई ‘रिझाएर’ अर्थ सचिव बन्न सफल भएका रेग्मी आरजु राणा देउवाको ‘सहयोग’ मा गृह सचिव बने र पछि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा मुख्यसचिव भए । रेग्मी २०७४ असोज पहिलो साता मुख्यसचिव नियुक्त भएका थिए । बिहीबार मुख्यसचिव नियुक्त भएका बैरागी २०८० असोज १५ सम्म मुख्यसचिव बन्न पाउनेछन् ।
प्रधानमन्त्रीको मुख्य प्रशासनिक सल्लाहकारका रूपमा निकट भएर काम गर्न पाइने भएकाले कर्मचारीतन्त्रमा मुख्यसचिव सबैभन्दा आकर्षक र उच्च पद हो । समग्र निजामती कर्मचारीको वृत्ति विकास र क्षमता विकासमा ‘शक्तिको कसरत गर्ने’ मियोसमेत हो ।
‘केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि रेग्मी छायामा पर्लान्, साइड लाग्लान् भनेको त उनी नै उत्कृष्ट ठहरिए, राजदूत सिफारिस भए,’ ती पूर्वसचिवले कटाक्ष गरे, ‘त्यो खुबी रेग्मीमा थियो, उनले सबैजसो शक्ति केन्द्रको भलो गरे, प्रशासन क्षेत्र कोमामा गए पनि आफ्ना लागि राम्रो गरे ।’
करिब तीनवर्षे कार्यकालमा कर्मचारी प्रशासनका क्षेत्रमा ‘माखो नमारेका’ उनै रेग्मीलाई बिहीबार मन्त्रिपरिषद् बैठकले बेलायतको राजदूतमा सिफारिस गरेको छ । अर्थ, गृह सचिव र मुख्यसचिवपछि राजदूतको नियुक्ति पाउने रेग्मी दोस्रो व्यक्ति हुन् । यसअघि कर्णध्वज अधिकारी अर्थ, गृह सचिव र मुख्यसचिव हुँदै भारतको राजदूत भएका थिए ।
रेग्मीकै सिको परराष्ट्र सचिव रहेका बैरागीले पनि गरे । ‘उनले पनि प्रधानमन्त्री वरपरका सारा शक्तिलाई रिझाए,’ एक पूर्वसचिवले भने, ‘मुख्यसचिव बन्न त सफल भए, अब प्रशासन क्षेत्रले चाहिँ दुःख पाउँछ किनभने सारा समय अब सरकारकै गुणगानमा बिताउनुपर्ने हुन्छ ।’
रेग्मीले बीचमै नछाडेका भए बैरागीले मुख्यसचिव बन्ने अवसर पाउने थिएनन् किनकि उनले २२ असोजमा अनिवार्य अवकाश पाउँथे । बैरागीका ब्याची सचिवहरू सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका केदारबहादुर अधिकारीले २२ असोजमा अवकाश पाउनेछन् ।
आफूले अवकाश पाउने त्यही मितिलाई मध्यनजर गर्दै बैरागीले ६ महिना अघिदेखि नै रेग्मीलाई बीचमै राजीनामा गराउन कसरत नगरेका होइनन् । केही समयअघि प्रधानमन्त्री ओलीले अस्ट्रेलियाको राजदूत बन्न रेग्मीलाई प्रस्ताव पनि गरेका थिए, तर उनले अमेरिका वा बेलायतबाहेक अन्यत्र कहीं नजाने अडान लिएपछि समय लम्बियो ।
‘त्यतिबेला बैरागीका लागि काम गरिरहेको शक्ति केन्द्र असफल भएको थियो,’ स्रोतले भन्यो, ‘जुन स्वार्थका लागि ती व्यक्तिहरू लागिरहेका थिए, त्यो पूरा भएको छ तर यसरी मुख्यसचिव बन्नु भनेको सधैंभरि तिमीहरूकै शरणमा पर्छु भन्नु हो ।’
बैरागी आफ्नै मन्त्री प्रदीप ज्ञवालीलाई क्रस गरेर पनि अघि बढेका थिए । त्यसप्रति मन्त्री ज्ञवालीसमेत असन्तुष्ट थिए, अहिले भने सबैलाई मिलाएपछि मुख्यसचिवको बाटो खुलेको स्रोतको भनाइ छ ।
यसअघिका प्रधानमन्त्रीहरूले पनि आफूले रुचाएका व्यक्तिलाई मुख्यसचिव नबनाएका होइनन् । तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीले कार्यकालबीचमै राजीनामा दिएर एसियाली विकास बैंकमा जागिर खान गएपछि रोलक्रममै नरहेका राजेन्द्रकिशोर क्षत्रीले मुख्यसचिव हात पारेका थिए । राजनीतिक लबिइङकै कारण शेरबहादुर देउवा नेतृत्वको सरकारले क्षत्रीलाई मुख्यसचिव बनाएको थियो, उनले तीन महिना उक्त अवसर पाएका थिए । त्यसपछि देउवाले गृह सचिव रेग्मीलाई मुख्यसचिव बनाए ।
विगतमा बलराम सिंह, तीर्थमान शाक्य, भोजराज घिमिरे, लोकमानसिंह कार्की सबै ‘पहुँचकै आधारमा’ मुख्यसचिव भएका हुन् । सिंहले ठ्याक्कै रेग्मीले जस्तै आफ्नै सेवा (न्याय सेवा) का तीर्थमान शाक्यलाई मुख्यसचिव बनाउन केही दिनअघि राजीनामा दिएका थिए । सिंह जर्मनीको राजदूत भएर गएका थिए ।
मुख्यसचिव नियुक्तिमा वरिष्ठ सचिवलाई पाखा लगाइएका धेरै उदाहरण छन् । जनकराज जोशी र उमेशप्रसाद मैनाली वरिष्ठताका हिसाबले लाइनमा भए पनि माधवप्रसाद घिमिरेलाई मुख्यसचिव बनाइएको थियो । भानुप्रसाद आचार्यलाई पन्छाएर लोकमानसिंह कार्कीलाई मुख्यसचिव बनाइएको थियो । निजामती सेवामा शक्तिशाली र सर्वोच्च मानिने मुख्यसचिवको नियुक्ति ‘चाकडीका भरमा’ हात पार्ने क्रम बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर प्रशासन क्षेत्रमा पर्ने विज्ञहरूको विश्लेषण छ ।
‘यस्ता निर्णयले एक त, निजामती सेवामा अनास्था बढ्न सक्छ । अर्को, राम्रो काम गरेर माथि पुग्छु भन्ने जुन अपेक्षा हुन्छ, त्यो छायामा पर्दै जानेछ,’ प्रशासनविज्ञ भीमदेव भट्टले भने, ‘कतै पद्धतिले नै पो काम गरिरहेको छैन कि जस्तो देखिन्छ ।’
रेग्मीले प्रशासन क्षेत्रमा गर्नैपर्ने काम पनि थाती राखेकाले त्यो सबै बैरागीमा काँधमा आएको छ । ‘रेग्मी बोल्दै बोलेनन्, प्रधानमन्त्री र आसेपासेबाहेक कसैको सम्पर्कमै गएनन्,’ स्रोतले भन्यो, ‘रेग्मीका तुलनामा बैरागी सरल छन्, सबैसँग मिल्न खोज्छन्, परिणाम हेर्न केही दिन कुर्नै पर्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।