काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकलौटी रुपमा ३ महत्वपूर्ण नियुक्ति गरेका छन् । उनले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गरे । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।
आज बिहान मात्रै लोकदर्शन रेग्मीले मुख्यसचिवको पदबाट राजीनामा दिएका थिए । रेग्मीको राजीनामा स्वीकृत गरेपछि बैरागीलाई मुख्यसचिवमा नियुक्त भएका हुन् । त्यसैगरी ओलीले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेका छन् । मुख्यसचिवबाट आजै राजीनामा दिएका रेग्मीलाई बेलायतको राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ।
ओलीले एकलौटी रुपमा भट्टाभट नियुक्ति गरेपछि नेकपाका शीर्ष नेताहरुले त्यसको विरोध गर्न थालेका छन् । हालै स्थायी कमिटीको बैठकले महत्वपूर्ण नियुक्ति पार्टी कमिटीबाट पारित गरेर निर्णय लिने बताइएपनि ओलीले त्यसको उल्लंघन गरेको आरोप लागेको छ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पनि पार्टीमा छलफल नभएको बताए ।
नयाँ मन्त्री नियुक्तिमै ओली र प्रचण्डबीच विवाद भैरहेको अबस्थामा राजदुत नियुक्तिबारे उनीहरुबीच पनि कुनै कुराकानी नभएको स्रोतले बतायो । यसबारे थप रणानीति तय गर्न प्रचण्ड र माधव नेपालबीच आज फाेनवार्ता भएकाे छ । उनीहरूबीच आजै भेटवार्ता गर्ने तयारी भैरहेकाे छ ।