अनसनको १७ औं दिनमा डा. केसी, देखिन थाल्यो यस्तो समस्या

अनसनको १७ औं दिनमा डा. केसी, देखिन थाल्यो यस्तो समस्या

काठमाडौं । चिकित्सा शिक्षा सुधारका माग राख्दै १७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ। अस्पतालमा अनसनरत डा केसीमा मुटुको धड्कन बढ्न थालेको, छाती दुख्ने, जिउ गल्ने, शरीरका मांशपेशी दुख्ने र बाराम्बार चक्कर लाग्नेलगायतका समस्या देखिन थालेको अस्पतालले जानकारी दिएको छ। 

उनको रगतमा चिनीको मात्रा कम देखिएको र पोटासियमलगायतका तत्व पनि निकै नै कम देखिएकाले डा केसीको स्वास्थ्य अवस्था निगरानी गरिरहेका अस्पतालका डा सुवासप्रसाद आचार्यले जानकारी दिएका छन्। डा आचार्यको टोलीले अनसनरत डा केसीको स्वास्थ्य अवस्था जुनसकै बेला पनि गम्भीर हुन सक्नेसमेत बताएका छन्। उनलाई जुनसुकै बेला आइसियूमा सार्नुपर्ने अवस्था रहेकोसमेत अस्पतालको भनाइ छ। 

डा केसीलाई कुनै पनि बेला औषधि दिनुपर्न सक्ने अवस्था रहेकाले उनको नसा भने खोलिएको अस्पतालले जनाएको छ। तर सरकारले भने उनका मागका सम्बन्धमा कुनै पनि चासो दिएको छैन।