काठमाडौं । नेकपा अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ । मन्त्रिपरिषद् पुर्नगठनको तयारीस्वरुप ओली र प्रचण्डबीच हिजो पनि छलफल भएको थियो । हिजोको छलफलमा सबै मन्त्री फेर्ने कि केही मन्त्री फेर्ने भन्नेमा ओली प्रचण्डबीच कुरा अड्किएको थियो ।
प्रधानमन्त्री केही मन्त्री मात्र फेर्ने तयारीमा छन् भने प्रचण्डले सबै मन्त्री फेर्नुपर्ने बताउँदै आएका छन् । आजको छलफलमा मध्यमार्गी बाटो अपनाएर सहमति गर्ने तयारी छ । सबै मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएर आवस्यकताको आधारमा केही मन्त्रीहरुलाई पुन नियुक्ति दिने ओली-प्रचण्डको तयारी छ ।
नयाँ मन्त्री छनौटको लागि मापदण्ड बनेकोले सोही अनुसार छनौट हुने भएको छ । यसपटकको मन्त्रिमण्डल पुर्नगठनमा वरिष्ट नेताद्धय झलनाथ खनाल र माधव नेपालनिकट धेरै नेताहरुले अवसर पाउने देखिएको छ ।
आजको भेटमा ओली-प्रचण्डबीच केही मुख्यमन्त्री पनि फेर्ने विषयमा पनि छलफल हुने भएको छ । स्रोतका अनुसार कम्तिमा ४ मुख्यमन्त्री फेर्नेगरी उनीहरुले तयारी गरिरहेका छन् । नयाँ मुख्यमन्त्रीमा पनि खनाल र नेपाल पक्षाका एक एक जनाले अवसर पाउने भएका छन् ।
स्रोतका अनुसार ओली र प्रचण्डबीच वागमति, कर्णली र प्रदेश १ मा क्रमश अष्टलक्ष्मी शाक्य, प्रकाश ज्वाला र भीम आचार्यलाई मुख्यमन्त्री बनाउने सहमति भैसकेको छ । अन्य प्रदेशका बारेमा आज सहमति हुने बताइएको छ ।