छलफलमा जुटे ओली-प्रचण्ड, मन्त्रिपरिषद् पुर्नगठनको तयारी

छलफलमा जुटे ओली-प्रचण्ड, मन्त्रिपरिषद् पुर्नगठनको तयारी

काठमाडाैं । नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद् पुर्नगठनको जिम्मेवारी अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिएसँगै उनीहरु आज छलफलमा जुटेका छन् । नयाँ मन्त्री छनौटको लागि मापदण्ड बनिसकेकोले सोही मापदण्डमा रहेर नयाँ मन्त्री छान्ने उनीहरुको तयारी छ । 

यता उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बन्न आदालतले रोकेकोले उनको सरकारमा जाने बाटो बन्द भएको छ । स्रोतका अनुसार वामदेवलाई अदालतले रोक लाएकोले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि सरकारमा नलाने बुझिएको छ । श्रेष्ठ पनि प्रतिनिधिसभा निर्वाचन हारेकोले उनलाई सरकारमा सहभागी गराउँदा मुद्दा मामिला चल्न सक्ने भएकोले उनलाई पनि सरकारमा सहभागी नगराइने भएको हो । 

गौतम र श्रेष्ठ सरकारमा नजाने भएसँगै सचिवालय सदस्यसमेत रहेका दुई मन्त्री ईश्वर पोखरेल र रामबहादुर थापालाई सरकारबाट फिर्ता नगरिने भएको छ । दुई वर्ष पार गरेका भएपनि उपप्रधान तथा रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापालाई निरन्तरता दिइने भएको स्रोतको दाबी छ । 

यता महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । स्थायी कमिटीका सदस्यहरु भीम रावल, जनार्दन शर्मा, पम्फा भुषाल, सोमप्रसाद पाण्डे र देवेन्द्र पौडेललाई मन्त्री बनाइने भएको छ । उनीहरुलाई दिइने मन्त्रालयको छिनोफानो आजै गर्ने तयारीमा ओली र प्रचण्ड रहेका छन् । 

त्यसैगरी २ कार्यकाल प्रतिनिधिसभा निर्वाचन जितेर पनि अवसर नपाएकाहरुलाई सरकारमा सहभागी हुने अवसर दिइने भएको छ ।