काठमाडाैं । नौ दिनदेखि अनशनरत डा गोविन्द केसीलाई जबर्जस्ती ट्रमा सेन्टर पुर्याइएको छ । नेपालगन्जबाट काठमाडौं विमानस्थल उत्रिएका केसीलाई लिन टिचिङ अस्पतालको एम्बुलेन्स पुगेको थियो । तर, प्रहरीले डा केसीलाई टिचिङ अस्पताल नलगी ट्रमा सेन्टर पुर्याएको हो ।
केसीका सहयोगीले प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर लगेको बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, पिसिआर परीक्षणलाई तीव्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने माग राखेर केसीले २९ भदौदेखि जुम्लामा अनशन सुरु गरेका थिए ।
तर, जुम्लामा अनशनका क्रममा धरपकड र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै केसी काठमाडौंतर्फ आएका थिए । उनी सोमबार नेपालगन्जमा थिए । नेपालगन्जबाट आजै उनलाई काठमाडौं ल्याइउको थियो ।