काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज मंगलबार बोलाइएको सचिवालय बैठक बालुवाटारमा बस्ने भएको छ।प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक मंगलबार मध्यान्ह साढे १२ बजे बालुवाटारमा बस्ने जानकारी दिएका हुन्।
आइतबार सचिवालयको बैठक पहिलोपटक पार्टी कार्यालय पेरिसडाँडामा बसेको थियो। अर्को बैठक सोमबार दिउँसो १ बजे पेरिसडाँडामै बस्ने तय भए पनि पछि स्थगित गरिएको थियो।
आजको बैठकले नयाँ मन्त्रीको टुङ्गो लगाउने भएको छ । स्रोतका अनुसार २ वर्ष कार्यकाल पुरा गरेका र कार्यसम्पादन कमजोर भएका २ दर्जन मन्त्रीहरुको बिदाई गरिने भएको छ । आजको बैठकले आली रहेका ३ मन्त्रालयसहित १५ जना नयाँ मन्त्री छान्ने बताइएको छ ।
नयाँ मन्त्रीमा उपाध्यक्ष वामदेव गौतमदेखि प्रवक्ता नारायणकाजी श्रेष्ठसम्मको चर्चा छ । यता सचिवालय सदस्य भीम रावल, जनार्दन शर्मा, पम्फा भुषाल, सोम प्रसाद पाण्डे र देवेन्द्र पौडेल पनि मन्त्री बन्ने भएका छन् ।
दुई कार्यकाल प्रतिनिधिसभामा निर्वाचित भएर पनि अवसर नपाएका गणेश ठगुन्ना, गणेश पहाडी, यज्ञराज सुनुवार, विजय सुब्बा, विशाल भट्टराई, राजबहादुर बुढा, प्रेम आलेमध्ये केहीलाई मन्त्री र केहीलाई राज्यमन्त्री बनाइने बताइएको छ ।