कुलमानबारे मन्त्रिपरिषद्मा किन भएन निर्णय, के भएको थियो बैठकमा ?

कुलमानबारे मन्त्रिपरिषद्मा किन भएन निर्णय, के भएको थियो बैठकमा ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्ने चर्चाका बाबजुद त्यो प्रस्ताव भने सोमवारको मन्त्रिपरिषद् बैठकमा पेस भएन ।

यसअघि ऊर्जामन्त्री वर्षमान पुनको सचिवालयले घिसिङलाई पुनर्नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा जाँदैछ भनेर जानकारी गराएको थियो ।

‘उहाँको पुनर्नियुक्तिबारे सम्बन्धित मन्त्रालयबाटै प्रस्ताव आएन, त्यसपछि छलफल पनि भएन,’ एक मन्त्रीले कान्तिपुरसँग भने, ‘सामान्य कुरा भने उठेको थियो । चारवर्षे कार्यकाल सकेर घिसिङ सोमबार मात्रै पदमुक्त भएका छन् । लोडसेडिङ अन्त्यका लागि महत्त्वपूर्ण काम गरेको भन्दै उनलाई फेरि नियुक्त गर्नुपर्ने आवाज उठिरहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बरु आयुर्वेदिक उपचार पद्धतिबारे चर्चा गरे ।

मन्त्रिपरिषद् बैठकमा उनले आयुर्वेदिक उपचार विधि पद्धति र यसका फाइदा/बेफाइदाबारे व्याख्या गरेका थिए ।

‘स्वस्थ रहने हो भने आयुर्वेदिक उपचारतिर लाग्नुपर्‍यो,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘बिरामी हुँदै औषधि खाँदै अस्पताल जाँदै गर्ने हो भने एलोपेथिक उपचार गर्नुपर्‍यो ।’

उनले आयुर्वेदिक औषधिमा इम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता) बढाउने र त्यसमा भाइरस कम गर्ने तत्त्व बढी रहेको आफूले पाएको पनि बताएका थिए ।

नयाँ अस्पताल खोल्नेसम्बन्धी स्वास्थ्य मन्त्रालयको प्रस्तावका सन्दर्भमा धारणा राख्दै प्रधानमन्त्री ओलीले आयुर्वेदिक उपचार पद्धति भरपर्दो र विश्वासिलो रहेको बताएका हुन् ।

उनले आयुर्वेदिक अस्पताल खोल्नेतर्फ पनि ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

उनले आयुर्वेदिक औषधिको सही प्रयोग गर्नुपर्ने पनि बताएका थिए ।

प्रधानमन्त्री ओलीले गत २५ गते आयुर्वेदका विज्ञ र सरोकारवालासँग प्रधानमन्त्री निवास बालुवाटारमै लामो छलफल गरेका थिए ।

बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय भने गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।