काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न सडकका चोकमा पहेँलो क्रसलाइन बनाइएको छ । सवारी साधनको चाप उच्च हुने चोकमा पहेँलो रङले केही ठाउँ ओगट्ने गरी क्रसलाइन बनाइएको छ ।
सवारी चालकका लागि यो लाइन कुनै नयाँ नियम हो कि भनेर चासाको विषय बनेको छ । यात्रुका लागि पनि यो चासोको विषय बनेको छ । ट्राफिक प्रहरीका अनुसार यो क्रसलाइन सवारीसाधन रोकिन नमिल्ने वा पार्क गर्न नमिल्ने ‘फ्रि जोन’ हो । सडकमा गुडिरहेका सवारीसाधनले चोकमा ट्राफिक व्यवस्थापन गर्न उभिएका प्रहरीलाई नै ठाउँ नहुनेगरी च्याप्न थालेपछि त्यसलाई रोक्न प्रहरीले क्रसलाइन बनाएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ट्राफिक व्यवस्थापन सहज बनाउन फ्रिजोन निमार्ण गरिएको बताए । “गाडीहरू ट्राफिक आइल्यान्ड (सडक चोकको बीचमा ट्राफिक प्रहरीका लागि बनाइएको ठाउँ)सम्म आइपुग्न थालेपछि व्यवस्थापन गर्न नै असहज हुन्छ । चोकमा गाडी व्यवस्थापन गर्न प्रहरीलाई ठाउँ चाहिन्छ । त्यसकै लागि खाली ठाउँ राख्न, त्यहाँ गाडी रोक्न नमिल्ने गरी फ्रिजोन बनाइएको हो,” प्रवक्ता चतुर्वेदीले भने ।
ट्राफिक प्रहरीले स्थानीय तह, महानगर तथा नगरपालिकासँगको समन्वयमा चोकहरूमा पहेँलो रङको लाइन कोरेर गाडी रोक्न नमिल्ने ठाउँ बनाएको हो । यसले ट्राफिक व्यवस्थापनमा सहजता मिल्ने ट्राफिक प्रहरीको विश्वास छ ।
जतिसुकै जाम भए पनि फ्रिजोनमा गाडी रोक्न नमिल्ने प्रहरीले जनाएको छ ।