काठमाडौं । डेनमार्ककी २६ औं प्रधानमन्त्री हुन्, मैट फ्रेडेरिक्सन । वाम गठबन्धनकी यी प्रधानमन्त्री आफ्नो निवास र प्रधानमन्त्री कार्यालय साइकलमै ओहोरदोहोर गर्छिन् । साइकलमा यसरी हिँडेर पैसा बचाउँछिन्, र त त्यो पैसा डेनमार्क सहयोग (डानिडा) मार्फत नेपालजस्ता गरिब देशमा अर्बौंको सहायता आउँछ । मानवीय-सहायतामा संसारमै कहलिएको छ । कुल राष्ट्रिय आयको १ प्रतिशत संसारका गरिब देशहरुलाई बाँड्ने डेनमार्क हाम्रा लागि विचित्र देश हो ।
एकछिन नेपालतिर फर्कने हो भने राष्ट्रपति विद्यादेवी भण्डारीका निम्ति विलासी गाडी किन्न १८ करोड छुट्याउन कुनै लोकलाज मानिएन । कतिसम्म भने छुट्याइएको ४ करोडले नपुगेपछि सरकारी ढिकुटीबाट थप १४ करोड निकासा भयो ।
धेरै नेपालीको स्मरणमा छन्, राष्ट्रपतिका पति तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी । उनी साइकलमै संसद् जान्थे । उनकी धर्मपत्नी भने दर्जनौं अगुवा-पछुवा गाडीसहितको लावालस्कर लगाएर सडक ओगटेर हिँड्छिन् । जनताले माया गरेर नै पदमा पुर्याएका हुन् भने किन चाहियो यस्तो लावालस्कर ? जनताकै नेता हुन् भने किन चाहियो संसारमै नभएको सुरक्षा ?
यस्ता कदमको उल्टै बचाउ गर्छन्, प्रधानमन्त्री केपी ओली, 'राष्ट्रपति साइकल चलाउन जान्नु हुन्न ।' इच्छाशक्ति हुने हो साइकल सिक्न कुनै आइतबार छैन । यो सब बहानाबाजी हो ।
विश्वकै धनी देश डेनमार्कमा राजतन्त्र छ । त्यहाँ 'बाइसाइक्लिङ मोनार्की' या 'बाइसाइकल मोनार्की' नामक बेलायती शब्द चलनचल्तीमा छ । दोस्रो विश्वयुद्धका क्रममा नाजीले आधिपत्य जमाउँदा डेनिस जनताप्रति ऐक्यबद्धता जनाउन राजा फ्रेडरिक नवौं र उनकी पत्नी इन्ग्रिडले कोपनहेगन वरपर साइकल यात्रा गरेको इतिहास छ ।
डेनमार्क भ्रष्टाचार कम हुने देशमध्येमा पर्छ । जनता सरल र सादगी जीवनशैलीका लागि चिनिन्छन् । डेनमार्ककै २५ औं प्रधानमन्त्री लार्स लोकी रस्मोसेन सत्ताबाट बाहिरिँदा काँधमा एउटा झोला मात्र बोकेको खबर पनि पुरानो भएको छैन ।
केही वर्षअघि नेपालमा बिमस्टेक सम्मलेन चल्दै गर्दा मुलुकमा एक साता कर्फ्यूजस्तो चलेको थियो भने डेनमार्कमा प्रधानमन्त्रीले फ्रेन्च राष्ट्रपतिलाई साइकल सयर गराएको तस्बिर भाइरल भएको थियो । रस्मोसेनले नै फ्रान्सेली राष्ट्रपति इमानुल माक्रोँ र उनको टोलीलाई साइकलमै एक घन्टा राजधानी कोपनहेगन भ्रमण गराएका थिए । मध्यसहरको यात्रामा कहीँ पनि सर्वसाधारणको आवागमन रोकिएन।
नेदरल्यान्ड्सको राजपरिवारको साइकल मोह देखेर त झन् छक्क पर्नुपर्ने स्थिति छ । महारानी बिट्रिक्सको त साइकल चलाउँदै गरेको सालिक समेत बनेको छ । नेदरल्यान्ड्सका प्रधानमन्त्री पनि साइकलमै कार्यालय आउजाउ गर्छन् । त्यहाँका सरकारी अधिकारी, कर्मचारीदेखि नागरिकसम्मको रोजाइमा छ, साइकल । नेदरल्यान्ड्स कस्तो देश हो भने नागरिकभन्दा साइकल बढी छन् ।
स्वीडेनमा मन्त्री र सांसदहरु सर्वसाधारणजस्तै भीडभाड हुने बस र रेलमा यात्रा गर्छन् । सांसद भएकै कारण केहीमा छुट हुँदैन । निजी सचिवको सुविधा पाइँदैन । कतिसम्म भने सभामुख समेत सार्वजनिक सवारी साधन चढ्छन् । प्रधानमन्त्रीले मात्रै स्थायी रुपमा कारको सुविधा पाएका छन् ।
उदेकलाग्दो के भने संसारकै गरिब देश नेपालमा तडकभडकविनाको जीवनयापनका लागि न सरकारको इच्छाशक्ति छ, न त जनतामै जागरुकता । त्यसो हुने हो भने काठमाडौं उपत्यका, विराटनगर, वीरगन्ज, भरतपुर, पोखरा महानगर सहजै साइकल सहर बन्न सक्छन् ।
समथर भूमि काठमाडौं त पहिले नै साइकल सहर थियो । सरकारले साइकललाई प्रोत्साहन दिने नीति ल्याउने हो भने दुई र चारपांग्रे सवारी साधन थन्क्याएर साइकल युग नब्युँतेला भन्न सकिँदैन ।
कोरोनाभाइरस महामारीको बीचमा जोर-बिजोर प्रणाली लागू गर्दा पनि यो सहरले कष्टकर ट्राफिक जाम र प्रदूषण बेहोरिरहेको छ । यहाँ त अझ सरकारले नै विद्युतीय सवारीमा महँगो कर थोपरेको छ ।
हाम्रा लागि एउटा उदाहरण के हो भने कोभिड–१९ बाट अत्यधिक प्रभावित इटालीका व्यस्त सडकलाई निजी गाडीबाट मुक्त बनाउँदै पैदल र साइकलयात्रीमैत्री बनाउने काम अगाडि बढेको छ । धेरै मुलुकले 'मास ट्रान्सपोर्ट' को विकल्प साइकललाई बनाउन थालेका छन् । एकसाथ धेरै मानिसले यात्रा गर्दा कोरोनाभाइरसको प्रसार बढ्ने भएकाले 'सिंगल' सवारीमा जोड दिइएको छ ।
जनस्वास्थ्य विज्ञका अनुसार साइकल चलाउँदा भौतिक दूरी कायम हुने मात्र होइन, शारीरिक व्यायाम पनि हुन्छ । कम खर्चिलो, धुवाँधुलो र कार्बन उत्सर्जन नगर्ने अनि रोगप्रतिरोधात्मक क्षमता बढाउने भएकाले इंग्ल्यान्ड, अमेरिका, फ्रान्स, जर्मनी, अस्ट्रेलिया, फिलिपिन्स, जापान आदि मुलुक साइकल युगमै फर्किरहेका छन् । साइकलको विकल्पमा रुपमा विद्युतीय गाडीलाई लिइएको छ ।
फेरि पनि डेनमार्ककै प्रसंग । डेनमार्क संसारकै एक उत्कृष्ट साइकल सहरका रूपमा चिनिएको छ । प्रदूषण नियन्त्रणका लागि सहरभरि साइकल मार्गहरू बनेका छन्। विदेशी पाहुनालाई समेत साइकलमै सहर घुमाएर डेनमार्कले 'साइकल सिटी' को उदाहरण दिएको छ।
नेपालमा पनि साइकल सिटी बनाउने सपना त छ तर साइकल चढ्नेलाई या त गरिब ठानिन्छ या सोखिन मात्र मानिन्छ । छुट्टै लेनको अभावमा यहाँ थुप्रै साइकल यात्रीले ज्यान गुमाएका छन् । गाडी चढ्ने र साइकल चढ्नेबीचको विभेद सोचनीय छ । हाम्रो देशमा पनि पाहुना सत्कारका नाममा जनतालाई सडकमा हिँडडुल गर्नै नदिने चलन हट्ला ? सरकारी निवास बालुवाटारबाट आफ्नो कार्यालयसम्म साइकल यात्रा गर्ने प्रधानमन्त्री कहिले आउलान् ? सर्वसाधारणको प्रश्न छँदै छन् ।