अध्यक्षद्धयको प्रतिवेदन सर्वसम्मतिले पारित गर्दै सकियो नेकपा स्थायी कमिटी बैठक

अध्यक्षद्धयको प्रतिवेदन सर्वसम्मतिले पारित गर्दै सकियो नेकपा स्थायी कमिटी बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मतिले पारित गर्दै  बैठक सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए । 

यता नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले  बैठकले ०७७ चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको  जानकारी दिए। महाधिवेशनबारे छलफल गर्न नेकपाले केन्द्रीय समितिसमेत आह्वान गरेको छ। कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने र उक्त बैठकमा महाधिवेशन तयारीबारे छलफल हुने श्रेष्ठले जानकारी दिए। असार १० गतेदेखि बसेको बैठक आज टुंगिएको उनले जानकारी दिए ।

आजको बैठकले १३ स्थायी कमिटी सदस्यले आ आफ्नो धारणा राखेको श्रेष्ठले बताए । अध्यक्षद्वयले राखेको प्रस्तावमा स्थायी कमिटी सदस्यले धारणा राखेको बताउँदै श्रेष्ठले सदस्यको धारणा प्रस्तावमा समावेश गरिने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएको उनले जानकारी दिए ।

आजको बैठक सुरू भएपछि प्रधानमन्त्री ओलीले भने  आफ्ना कुरा राखेर बिचैमा बाहिरिएका थिए । स्थायी कमिटी बैठक सुरु हुने वितिक्कै प्रधानमन्त्री ओलीले बोलेका थिए। उनी बैठकमा २० मिनेट बोलेका एक स्थायी कमिटी सदस्यले बताए। प्रधानमन्त्री ओलीले दुवै अध्यक्षले तयार पारेको प्रस्तावबारे बोलेका थिए। त्यस्तै, प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले गरेको कामबारे जानकारी दिएका थिए।

सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गरेको उनको भनाइ थियो। आफूले बोलेपछि प्रधानमन्त्री ओलीले बैठक सञ्चालनको जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएका थिए। त्यसपछि उनी बैठकबाट बाहिरिएका थिए। 

स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले  नेपालले एक व्यक्ति एक पदका निम्ति कार्यदल मौन रहेको भन्दै आपत्ति जनाएका थिए यद्दपी प्रतिवेदन पारित गर्ने सवालमा भने उनले पनि समर्थन गरेका थिए ।