काठमाडौं । सत्तारुढ नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठक सुरू भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना कुरा राखेर बिचैमा बाहिरिएका थिए । स्थायी कमिटी बैठक सुरु हुने वितिक्कै प्रधानमन्त्री ओलीले बोलेका थिए।
उनी बैठकमा २० मिनेट बोलेका एक स्थायी कमिटी सदस्यले बताए। प्रधानमन्त्री ओलीले दुवै अध्यक्षले तयार पारेको प्रस्तावबारे बोलेका थिए। त्यस्तै, प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले गरेको कामबारे जानकारी दिएका थिए।
सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गरेको उनको भनाइ थियो। आफूले बोलेपछि प्रधानमन्त्री ओलीले बैठक सञ्चालनको जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएका थिए। त्यसपछि उनी बैठकबाट बाहिरिएका थिए।
स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्षद्धयको प्रतिवेदनमा असहमत राखेका छन् । नेता नेपालले एक व्यक्ति एक पदका निम्ति कार्यदल मौन रहेको भन्दै आपत्ति जनाएको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले भने । उनका अनुसार नेपालले पार्टीमा विधि विधानका कुरा उठाउन के समस्या भयो भन्दै कड्किएर आफूले राखेको १५ बुँदे असहमतिको बारेमा मौन रहन नपाइने जनाएका हुन् ।
बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल, नेताहरु देव गुरुङ, घनश्याम भुसाल, मात्रिका यादव, अष्टलक्ष्मी शाक्य, रघुजीपन्त लगायतले आ-आफ्नो धारणा राखिसकेका छन् ।