काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । आन्तरिक विवादका कारण झण्डै डेढ महिना अघि स्थगित बैठक विवाद समाधानउन्मुख भएपछि शुक्रबार बसेको हो ।
बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्तावमाथि छलफल गरेर पारित गर्ने तयारी छ ।
स्थायी कमिटि बैठक बस्नु अगाडी दुई अध्यक्षबीच गोप्य छलफल भएको छ । प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाका अनुसार शुक्रबार बिहान साढे १० बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।