नेकपाका कार्यकर्ताले सामाजिक सञ्जालमा नेताको बिरोध गर्न नपाउने

नेकपाका कार्यकर्ताले सामाजिक सञ्जालमा नेताको बिरोध गर्न नपाउने

काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा प्रस्तुत गर्न तयार पारेको प्रतिवेदनमा कार्यकर्तालाई अनुशासित राख्ने विषय पनि समावेश छ ।  आफ्ना नेता कार्यकर्तालाई एक-अर्काविरूद्ध सामाजिक सञ्जालमा लेख्न नपाउने गरी निर्देशन दिने प्रतिवेदनमा उल्लेख छ । 

शुक्रबार बस्ने नेकपा स्थायी कमिटी बैठकमा पेश हुन लागेको राजनीतिक प्रस्तावमा पार्टीभित्रको अराजकता, अनुशासनहीनता एवम् गुटबन्दीको नियन्त्रण गर्न जरूरी रहेको उल्लेख छ ।

‘समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै गएको गुटबन्दीको असरलाई विधि,पद्धति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सबै खालका अनेकता अराजकता अनुशासनहीनता एवम् गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछ,’ प्रस्तावमा भनिएको छ,’पार्टीको नीति नेता र कार्यकर्ताविरूद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हितविपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइसाथ रोक्न जिम्मेवार कमरेडहरू र सम्बद्ध सबैलाई निर्देशित गर्दछ।’

नेतृत्व तहबाट समेत गम्भीर गल्ती कमजोरीहरू भएको भन्दै प्रतिवेदनमा पार्टीभित्र उत्पन्न अन्तरविरोध ठीक किसिमले समाधान गर्न नसक्दा संस्थागत प्रबन्ध उल्लंघन हुँदै गएको र आन्तरिक एकता कमजोर भएको उल्लेख छ।

पार्टी अनुशासनलाई गुट अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोजेको भन्दै प्रतिवेदनमा गुट(गुटका अलग अलग बैठक बस्ने निर्णय गर्ने र सार्वजनिक रूपमा आरोप-प्रत्यारोपमा उत्रिने गलत अभ्यासलाई कडाइका साथ रोक्न प्रस्ताव गरिएको छ।

‘पार्टीमा गुटबन्दी तथा अनुशासनहीनता अन्त्य गर्न विधि तथा पद्धति स्थापित गर्न र नेता तथा कार्यकर्ता तथा जनप्रतिनिधिको कार्यशैली र जीवनशैलीलाई मार्गदर्शन गर्न विगतमा तय गरिएको आचारसंहितालई परिमार्जन गरी कडाइका साथ लागू गर्ने निर्णय गर्छ,’ प्रस्तावमा भनिएको छ,’सबैलाई, विशेषतस् जिम्मेवार कमरेडहरूलाई पारदर्शी र जवाफदेही जीवनशैली अपनाउन र आफ्नो आचरण तथा कामप्रति जवाफदेही हुन निर्देशित गर्दछ।’

पार्टीका नेताका नाममा सञ्चालित प्रतिष्ठान तथा संघ संस्थाहरू गुटबन्दीको माध्यम बनेको भन्दै यसको सञ्चालन विधि निश्चित गर्नसमेत प्रस्ताव गरिएको छ।