काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पमकल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्षद्वयबीच विवाद समाधान कार्यदलको प्रतिवेदन परिमार्जनमा सहमति भएको हो । साथैस्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्तावबारे पनि अध्यक्षद्धयबीच सहमति भएको बुझिएको छ ।
अध्यक्षद्धयले कार्यदलको प्रतिवेदन परिमार्जन गरेपछि आजै स्थायी कमिटी सदस्यहरुलाई पठाउने भएका छन् । साथै उनीहरुले शुक्रबार बस्ने स्थायी कमिटीको एजेण्डा पनि स्थायी समिति सदस्यहरुलाई उपलब्ध गराउने भएका छन् । नेकपाले भदौ २६ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ । असार १० गतेबाट सुरु भएको बैठक असार १८ यता बस्न सकेको छैन ।
अध्यक्षद्धयले कार्यदलले बुझाएको प्रतिवेदनलाई सचिवालय सदस्यहरूको सुझावको आधारमा परिमार्जनसहित स्थायी कमिटीमा पेस गर्ने तयारी भएको नेकपाका नेताले बताउँछन् । प्रतिवेदनको कुन बुँदामा के के विषय परवर्तन भयो भन्ने सार्वजनिक गरिएको छैन ।