काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा कार्यदलको प्रतिवेदन, त्यसको कार्यान्वयन र मन्त्रिपरिषद् पुर्नगठनलगायतका विषयमा छलफल भएको थियो ।
अध्यक्षद्वयबीत पार्टीको साउन १३ मा स्थगित गरिएको बैठक भदौ २६ बोलाउने सहमति भएको छ । त्यसअघि सचिवालय बैठक बस्ने र मन्त्रिपरिषद् पुर्नगठनको तयारी गर्ने विषयमा पनि अध्यक्षद्वयबीच सहमति भएको स्रोत बतायो ।
कार्यदलले दिएको सुझावकै आधारमा मन्त्रिमण्डल पुनर्गठन गरिने भएको हो । त्यसो त कार्यदलले मुख्यमन्त्री पनि फेर्न सुझाव दिएको थियो । तर तत्काल मुख्यमन्त्री नफेर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।
ओली र प्रचण्डबीच २ वर्ष कार्यकाल पार गरेका र कार्यसम्पादन कमजोर रहेका कम्तिमा पनि १० जना मन्त्रीलाई विदाई गर्ने समझदारी भएको छ । त्यसैगरी नयाँ मन्त्रीमा २ कार्यकाल प्रतिनिधिसभामा दोहाेरिएर पनि अवसर नपाएकालाई मौका दिइने भएको छ ।