काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दशैंसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा गर्नुपर्ने बताएका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘दशैं आउँदै छ, केही सहजीकण गरेर भए पनि निषेधाज्ञालाई दशैंसम्म राख्नुपर्छ होला । अब चाडबाडमा मानिसको आवतजावत धेरै हुन्छ। संक्रमण बढ्छ। त्यसकारण दशैंसम्म निषेधाज्ञा गर्नैपर्छ।’ तिजजस्ता चाडबाडमा निषेधाज्ञा गरेकाले कोरोना संक्रमण कम भएको उनको भनाइ थियो ।
उनले भने, ‘निषेधाज्ञामा अपेक्षाकृत कोरोना नियन्त्रण नभए पनि निषेधाज्ञा नभएको भए अवस्था झनै भयावह हुने थियो ।’
ललितपुरमा क्वारेन्टिन र आइसोलेसनको अभाव नभएको उनले बताए। विदेशबाट आएकाहरूका लागि पनि राख्नका लागि पर्याप्त बेड भएको उनले समितिलाई जानकारी गराए ।