चितवन । वर्षाको समय भएका कारण तरकारीको मूल्य आकाशिएको छ तर यहाँ मासुका लागि उत्पादित ब्वायलर कुखुरा भने तरकारीभन्दा पनि सस्तो मूल्यमा बिक्री गर्न किसान बाध्य भएका छन् । तरकारीको मूल्य प्रतिकेजी रु एक सयभन्दा बढी छ । दुई किलोभन्दा बढी तौलको ब्वायलर कुखुरा किसानले रु एक सयमा पनि बिक्री गर्न नसकेको गुनासो गरेका छन् ।
कोभिड–१९ सङ्क्रमणका कारण देशभरका उद्योग व्यवसाय प्रायः ठप्प छन् । धेरै क्षेत्र यसको मारमा परेको छ । राज्यले कृषि र पशुजन्य उत्पादन ओसारपसार र बिक्री–वितरणमा रोक नलगाएको भए पनि ब्वायलर कुखुरा भने बिक्री हुन सकेको छैन । ब्वायलर कुखुरा उचित मूल्यमा बिक्री नहुँदा चितवनका किसान चिन्तित छन् । उनीहरु लागत मूल्यभन्दा निकै सस्तोमा कुखुरा बेच्न बाध्य भएको गुनासो गर्छन् ।
भरतपुर महानगरपालिका–६ इन्द्रपुरीका किसान विष्णु ढकालले बेच्ने अवस्थामा पुगेका कुखुरा लिन आफ्नो फार्ममा व्यवसायी नआएको गुनासो गरे । उनले भने, “कुखुरा पालेको ४५ दिन भयो, रु एक सयमा पनि बिक्री भएको छैन ।” आफ्नो गाउँका कतिपय किसानको ६० दिनसम्म पनि कुखुरा नउठेको उनले बताए । ४० देखि ४५ दिनमा कुखुरा बिक्री गर्ने उपयुक्त समय हो । ढकालले आफ्नो खोरमा एक हजार कुखुरा राखेका छन् । “रु ७० मा खरिद गरेर चल्ला राखेको हो, अहिले कुखुराको मूल्य नै रु एक सयभन्दा बढी छैन”, उनले भने, “दाना, औषधि र श्रमदान खेर गयो ।” “कुखुरा यतिकै फाल्न भएन, यो लटमा कम्तीमा पनि रु तीन लाख घाटा हुने निश्चित भयो”, उनले गुनासो गरे ।
भरतपुरका अर्का कुखुरापालक किसान प्रकाशबाबु खनालले ब्वायलर पालक किसानको अवस्था नाजुक रहेको बताए । “जिउँदो कुखुरा रु एक सयमा पनि बिक्री भएको छैन”, उनले भने, “किसान ऋणमा चुर्लुम्म डुबेका छन् ।” उनले बिचौलियाको बिगबिगी कायमै रहेको भन्दै कुखुरा लगेर भण्डारण गरिरहेको दाबी गरे । “किसानको बजारमा पहुँच छैन, बिचौलियाकै भरमा बेच्नुपर्ने बाध्यता छ, अनि कसरी मूल्य पाइन्छ ?”, उनको प्रश्न छ ।
नेपाल कुखुरा बजार व्यवसायी सङ्घका अध्यक्ष हरि लोहनीले बजारमा मासु बिक्री नभएका कारण समस्या भएको बताए । “उत्पादन ह्वात्तै बढ्यो तर बजार ठप्प छ”, उनले भने, “अनि कसरी भाउ पाउँछ ।” होटल रेष्टुरेन्ट बन्द हुँदा खाने मान्छे घेटेका कारण बिक्री कम भएको उनले बताए । किसानको खोर मूल्य न्यूनतम प्रतिकेजी रु ८० देखि एक सय सम्ममा कुखुरा उठाइरहेको लोहनीले बताए । पछिल्लो निषेधाज्ञा अघि जिउँदो कुखुरा प्रतिकेजी रु।२७० सम्म पुगेको थियो । किसानको कुखुरा खोरबाट उठिरहेको तर भाउ भने नपाएको उनले बताए । काठमाडौँमा मासु स्टक गर्न थालिएका कारण पनि कुखुरा बिक्री हुन समस्या नरहेको उनको भनाइ छ ।
सोह्र श्राद्ध शुरु भयो, फेरि मलमासको कुरा छ, दशैँमा पनि अवस्था यस्तै होला जस्तो छ । कुखुराको बजार के हुन्छ भन्ने नै अन्योल छ । कार्तिक नलागेसम्म ब्वायलर कुखुुराको मूल्यमा समस्या नै भइरहने उनको बुझाइ छ । चितवनका किसानले उत्पादन गरेको कुखुरा काठमाडौँ, वीरगञ्ज, बुटवल, पोखरालगायत बजारमा बिक्री हुन्छ ।
आत्मनिर्भर बन्दै गएको पोल्ट्री व्यवसायमा हुने उतारचढावले साना लगानीकर्ताहरु पलायन हुने अवस्था सिर्जना हुँदै गएको छ । विगतमा बर्डफ्लु, भूकम्प लगायतका कारण पनि समय समयमा किसानले समस्या व्यहोर्नु परेको थियो । तर अहिलेको अवस्था त्योभन्दा पनि भयावह बनेको छ । कोरोनाको कहरले मुलुकको अरू क्षेत्र र व्यवसायलाई पनि मारमा पारेकै छ । तर यहाँका कुखुरापालक किसानहरु भने देशको अरु क्षेत्रभन्दा यो व्यवसायलाई बढी मार परेको बताइरहेका छन् ।