श्रीमान् भर्सेस श्रीमती

श्रीमान् भर्सेस श्रीमती

भनिन्छ, सुखमय दाम्पत्य जीवनको मूल आधार भनेकै एकअर्कामाथिको विश्वास हो । यही विश्वासमा घरगृहस्थी चलेको र अडेको हुन्छ । तर, विदेशमा आएपछि गजबका सम्बन्ध र अचम्म लाग्दो परिवारिक वातावरण देख्न थालेँ । म बसेको अपार्टमेन्टमा नोरमन भन्ने जमैकन बस्थ्यो, श्रीमती र तीन छोरासँग । जेठो र माइलो छोरा १२–१४ वर्ष हाराहारीका थिए भने कान्छो सात–आठ वर्षको हुँदो हो । हाम्रो कोठा जोडिएको हुनाले कहिलेकाहीँ बाहिर निस्कँदा वा बाहिरबाट फर्कंदा हाई– हेलो हुने गथ्र्याे । बिस्तारै बोलीचाली पनि हुन थाल्यो र एक पटक त घरैमा बोलाएर बियर खुवाएको थियो ।

म नोरमनको कोठामा पसेको त्यही पहिलो र अन्तिम दिन बन्न गयो । किनभने त्यस दिनपछि मलाई उसको कोठामा जानै डर लाग्न थाल्यो । बडेमानको काले जोडले बोल्दा पनि म लुखुरेको सातै जान्थ्यो । त्यस दिन बियर पिउँदै गफ गरिरहेका थियौँ । उसलाई म नेपाल चिनाउने प्रयास गर्दै थिएँ भने ऊ जमैकाको बयान गरेर थाक्दैनथ्यो । भित्र कोठामा तीन छोरा खेल्दै दौडँदै कति बेला हामी बसेको ठाउँमा पनि आउँथे र नोरमन ‘फ... एक ठाउँमा बस्न सक्दैनौ’ भनेर कराउने गथ्र्यो । केही बेरमा भित्र कोठाबाट उसकी स्वास्नी कराई, “नोरमन, तेरो छोरा र मेरो छोरा मिलेर हाम्रो छोरालाई पिट्दै छन्, आएर छुटाऊ ।” नोरमन पनि कराउँदै ‘फ... फ...’ भन्दै उठ्यो अनि मैले मौका छोपेर ‘अर्को दिन फेरि आउँछु, आज काम छ’ भन्दै फुत्त निस्केँ । त्यस दिन मैले यहाँको दाम्पत्य जीवनको वास्तविकता यही रहेछ भन्ने थाहा पाएँ । बिस्तारै नोरमनसँग टाढिँदै गएँ । पछि अन्तै सर्यौं ।

विदेश आएको केही समयपछि म दोभासे भएर काम गर्न थालेँ । इमिग्रेसनमा दोभासेको विवरण दर्ता भएपछि यहाँ कार्यरत विभिन्न सरकारी, अर्धसरकारी र निजी कम्पनीहरुले काम दिँदै गए । अदालत, वकिलको कार्यालय, अस्पताल, विद्यालय, इन्स्योरेन्स एजेन्सीको कार्यालय, डाक्टरको निजी क्लिनिक, डिटेनसन सेन्टर, एयरपोर्ट अध्यागमनको कार्यालयबाट लिएर रिफ्युजी बोर्ड र सीमा इमिग्रेसनसम्म काम पाउँदै गएँ । भारतमा पढेकाले मैले हिन्दीसँगै बङ्गाली पनि जानेको थिएँ । हिन्दी जानेपछि उर्दू पनि जानियो । यही ज्ञानले यहाँ काम पाउँदै गएँ ।

यसरी नै कामको सिलसिलामा आरतीसँग भेट भएको थियो । एक्लै क्यानडा आएकी आरतीसँग आनन्दले भेट गराएको थियो । त्यस्तै, आरतीका माध्यमबाट अजयसँग भेट भएको थियो । प्रसङ्गमा आरतीलाई ल्याउनुको कारण थियो, सुखमय दाम्पत्य जीवन । तीनै जनाको परिवार दूरदेश नेपालमा थिए र तीनै जना कागज पाएपछि परिवारलाई बोलाएर सुखका साथ क्यानडामा जीवन बिताउने सपना देख्दै आएका थिए ।

एक्लाएक्लै आएका आनन्द, आरती र अजयका बीच घनिष्टता पनि एक्लाएक्लै जस्तै थियो । अर्थात् आरतीसँग आनन्द र आनन्दसँग अजय र आरतीसँग अजयको सम्बन्ध थियो । तर, दुवैसँग आरती हुने गर्थी । एकपटक त आरती र अनन्त एउटै कोठामा बस्न थालेको पनि सुनियो । तर, परिवार आएपछि सबै आआफ्नो परिवारसँग रमाएर बस्दै आएका छन् । आरतीकै माध्यमबाट अनुपका लागि काम गर्न थालेपछि मैले आरतीलाई आनन्द र अजयका बारेमा सोध्दा उनीहरुको परिवार आइसकेको भन्ने थाहा पाएँ । अर्थात् त्यस बेलासम्म आरतीको परिवार आएका थिएनन् ।

नेपालीको पिकनिकका बेला आरतीले आफ्नो श्रीमान्सँग परिचय गराइन् । उनको पनि परिवार आएको थाहा पाएँ । तर, त्यहीँ पिकनिकमा अनुपसँग भेट्दा सँगै उभिएकी आरतीले अनुपसँग एक शब्द पनि बोलेको देखिनँ । त्यसरी राम्ररी चिनेको र मलाई भेट्न अनि समुदायका अन्य कार्यक्रममा सँगै देखिने जोडी नबोलेको देखेर मेरो मनमा खुल्दुली मच्चियो । मैले अनुपलाई सोधेँ, “के भयो ? आरतीसँग बोलेनौ नि ?” “श्रीमान् आएपछि आरती आफैँ बोल्न छोडी,” उसले भन्यो ।

यति भनेपछि मैले अरु केही सोधिनँ । चोरको खुट्टा काट् भन्दा खुट्टा लुकाएको उखान सम्झेँ । विदेशमा एक्लै भएपछि साथी चाहिन्छ भनेर म पनि अरु कुरा खोतल्नेतिर लागिनँ ।

आरतीजस्तै अञ्जुका लागि काम गर्दा उनको बारेमा भने अरुभन्दा बेग्लै पाएँ । उनी पनि यहाँ एक्लै आएकी थिइन् । नेपालमा गृहिणी भएर घरपरिवार हेर्दै आएकी अञ्जुले यहाँ आएर एउटा बिस्कुट फ्याक्ट्रीमा काम गर्न थालिन् । “जिन्दगीको वास्तविकता बल्ल बुझेँ दाइ,” उनी मलाई भन्ने गर्थिन् । अङ्ग्रेजीको हेलो–हाईबाहेक केही नजानेकी अञ्जु कागज बनाएर परिवार भित्र्याउन पनि सफल भएकी थिइन् । तर, परिवार ल्याएपछि विदेशमा पनि श्रीमान्को खटनमा बस्नुपरेको थियो । कामबाट राती फर्कने बानी श्रीमान्लाई चित्त बुझेको थिएन । अनि झर्कने, कराउने र हातै उठाउने जस्ता क्रियाकलापबारे पनि अञ्जुसँगै काम गर्ने अर्पणाको श्रीमान्बाट थाहा पाएको थिएँ । बल्लतल्ल श्रीमान्ले पनि एउटा कम्पनीमा रातीकै काम पाएकाले अञ्जु जीवनको सकारात्मकता सोच्न थालेकी थिइन् ।

रात्रि–सिफ्टमा काम गर्ने श्रीमान् एकपटक कामबाट बिहान फर्कनुपर्नेमा दिनभरि पनि नफर्केकोबारे अञ्जुले भनेपछि म नेपाली समाजको अध्यक्षलाई लिएर उनको घर गएको थिएँ । पछि अफिसमा गएर बुझ्दा त श्रीमान् त्यस दिन काममै गएका रहेनछन् । उनको फोन पनि बन्द थियो । प्रहरीमा गएर खबर पनि गरियो । तर, उनी हराएको दुई दिनपछि उनले आफैँ नेपालबाट फोन गरे र अब क्यानडा नफर्कने समाचार पठाएको अञ्जुले मलाई जानकारी गराएकी थिइन् ।

यसरी श्रीमान् आएको पाँच महिना र काम सुरु गरेको १८ दिनमै बिनाजानकारी नेपाल पुगेकोबारे बुभ्mन अञ्जुलाई भेट्न गएँ । अञ्जु दोधारमा थिइन् । छोराछोरी लिएर नेपाल फर्कने कि छोराछोरीका भविष्यका लागि यतै बस्ने ?श्रीमान् जानुको कारण पनि गजबको थियो । अञ्जु काम गर्ने फ्याक्ट्रीका केटा साथीहरुको फोन आउँदा रिसाउने, हप्तामा दुई दिन दिउँसो चार बजेदेखि राती १२ बजेको सिफ्ट गर्दा कहिलेकाहीँ सँगै काम गर्ने केटा साथीले अरु सहकर्मीसँगै राखेर घरसम्म मोटरमा छोड्दा शङ्का गर्ने । अझ बसबाट राती घर फर्कंदा कहिलेकाहीँ रातको एक बज्दा निहुँ खोजेर हातै हाल्ने । आफूले काम गरेको हप्तादिन नबित्दै श्रीमान् झन् झन् शङ्कास्पद बन्दै गए । अञ्जुको रात्रि–सिफ्टप्रति आपत्ति जनाउँदै काम नै छाड्न लगाएपछि उनले बल्लतल्ल एउटा रेस्टुरेन्टमा वेट्रेसको काम पाइन् । शुक्रबार र शनिबार श्रीमान्को बिदा हुनु र अञ्जुको रेस्टुरेन्टको काम दुवै दिन बेलुकी आधारातसम्म चल्नु अनि अञ्जु घर फर्कदा घडीको सुईले रातको १२ कटाइसकेको हुनुले फेरि शङ्काको जङ्गलमा फिलिङ्गो देखियो ।

अञ्जुको घरको समस्या भनेको श्रीमान्ले विश्वास नगर्नु हो । श्रीमान्लाई लाग्थ्यो, अन्जु क्यानडामा आएर एक्लै बस्न थालेपछि बिग्री अनि अहिले पनि अञ्जुले कतै न कतै कसैसँग सम्बन्ध बनाएर राखेकी छे । अनि त्यही शङ्काले अञ्जुको घरको लङ्का जलेर खरानी हुँदै गइरहेको थियो । नेपालमा मास्टरी गरेर बसेको मान्छेले क्यानडामा कतै काम नपाएर हो वा जस्तो पाए त्यस्तो काम गर्न नचाहेर हो, अञ्जुको बेरोजगारीले गृहकलह बढाइरहेको थियो । धेरै प्रयासपछि बल्लबल्ल एउटा कम्पनीमा रातको काम पाएपछि अञ्जुले अब श्रीमान्ले सबै बुझ्ने र सुखको दिन आउने सपना देख्न थालेकी थिइन् । तर, सोचेभन्दा विपरीत भएपछि अञ्जु आफैँ द्विविधामा परिन् ।

त्यसरी नै विभिन्न समयमा विभिन्न प्रकारको कथाव्यथा बोकेका मानिसहरुसँग भेट हुँदै गयो । सबैका आआफ्नै कथाव्यथा र समस्या हुने गर्थे । कामको कर्तव्यले गर्दा गोपनीयतामाथि विशेष ध्यान दिनुपथ्र्यो । कसलाई भेटेँ र केका लागि भेटेँ भन्नेबारे मलाई र जसका लागि मैले भाषा आदानप्रदान गरेँ, उनलाई मात्रै थाहा हुन्थ्यो । विभिन्नथरीको अनुभव बटुल्दै गएका बेला मेरो कामको क्रममा यस्तो अवस्था पनि आउँछ भन्ने मैले कहिल्यै सोचेको थिइनँ । त्यस दिन एउटा एजेन्सीले फोन गरेर लाई–डिटेक्टर (झुटो बोलेको बत्ता लगाउने मसिन) ब्युरोबाट पोलिग्राफी जाँचका लागि बोलाइएको थियो । भाषा हिन्दी भनिएको थियो ।

पोलिग्राफी जाँच लाई–डिटेक्टरजस्तै हो । यसअघि मलाई हिन्दी भाषाका लागि तीनपटक यस्तै पोलिग्राफी जाँचका लागि बोलाइएको थियो । एकपटक म एउटा बेग्लै विशेषज्ञको क्लिनिकमा गएको थिएँ भने दुईपटक एउटै विशेषज्ञको क्लिनिकमा गएको थिएँ । मैले बुझे अनुसार पोलिग्राफी जाँच गर्ने यन्त्रको आविष्कार सन् १९२१ मा अमेरिकाका जोन  अगस्टस लार्सनले गरेका थिए । यो जाँचको प्रक्रिया मानिसको शरीरमा यन्त्र जडान गरी मानिसको मुटुको धड्कन, रक्तचाप, पसिनाको प्रक्रिया आदिको गतिविधि हेरेर गरिन्छ । यो प्रक्रिया विशेष गरी सोधिने विभिन्न प्रश्नको उत्तर हो वा होइनको आधारमा गरिन्छ । यन्त्रले मानिसको मानसिक प्रक्रिया र शारीरिक हाउभाउ तथा स्थितिका आधारमा काम गरेको हुन्छ । झुटो बोल्ने व्यक्तिको गतिविधिको रेकर्ड मेसिनले नकारात्मक रुपमा गर्छ र त्यसकै आधारमा झुटो सावित हुँदो रहेछ । यो पोलिग्राफी जाँच विशेष गरेर हत्या, चोरी–डकैती, यौन शोषण, गमन आदिका लागि गरिँदो रहेछ । विशेष गरेर जेलका कैदीहरुलाई पोलिग्राफी जाँचका लागि ल्याउने गरिँदो रहेछ । पोलिग्राफी जाँच सुरु गर्नु अगाडि नै प्रश्नहरु बताउने गरिन्छ । यो पोलिग्राफी जाँच वकिलहरुले पनि आफ्नो मुवक्किलको मुद्दा लिन अगाडि ऊ झुटो हो वा होइन पत्ता लगाउन गर्दा रहेछन् । यसमा विशेषज्ञ कम्प्युटर अगाडि बसेर गतिविधि रेकर्ड गर्ने गर्छन् र यो प्रक्रिया तीन÷चारपटक गरिन्छ । यसैका आधारमा व्यक्तिले झुठो बोलेको हो वा हाइन भन्ने पत्ता लगाउने गर्दा रहेछन् । तर, पोलिग्राफी जाँच शतप्रतिशत नै सही हो भनेर विश्वास चाहिँ गर्न सकिादैन भनेर विशेषज्ञले एकपटक मलाई भनेका थिए ।

म फ्रेङ्क क्लर्कको पोलिग्राफी क्लिनिकमा यसअघि दुईपटक गइसकेको थिएँ । उनले मलाई चिनिसकेका थिए । फ्रेङ्कका अनुसार यो पोलिग्राफी जाँच विशेष गरेर गुप्तचर विभागमा काम गर्ने विशेषज्ञले गर्ने गर्छन् र उनले केही वर्ष टोरोन्टो प्रहरीको गुप्तचर विभागमा काम गरेर क्यानेडियन पुलिस कलेजबाट पोलिग्राफी जाँचमा डिप्लोमा गरेपछि निजी क्लिनिक खोलेर बसेका थिए । उनले नै मलाई पोलिग्राफी जाँचबारे धेरै जानकारी दिएर मेरो जिज्ञासा मेटाउने काम गरेका थिए । मैले भाषानुवाद गर्ने भएकाले फ्रेङ्कले मलाई चाहिएका बेला एजेन्सीमार्फत बोलाउने गर्थे । त्यस दिनका लागि पनि एजेन्सीले तीन हप्ताअघि नै मेरो समय लिएको थियो । एजेन्सीले हिन्दी दोभासेका लागि मलाई बोलाएको थियो ।

पोलिग्राफी जाँचको दिन नियमानुसार समयभन्दा १५–२० मिनटअघि पुगेको थिएँ । तर त्यस दिन म समयअगावै ३० मिनट अगाडि पुगेर फ्रेङ्कको सेक्रेटरीलाई म आएको जानकारी गराएँ अनि कफी लिन जान्छु भनेर टिम हर्टन खोज्न निस्केँ । बिहानको ठीक १० बजेको थियो । म कफी लिएर आउँदै थिएँ । काउन्टरमा फ्रेङ्कलाई देखेँ । उनले मलाई अर्को क्याबिनमा लिएर गयो । अनि दुईवटा प्रश्नले भरिएको पानासँगै केही खाली पाना र कलम दिँदै यसलाई हिन्दीमा अनुवाद गरेर राख्नू भनेर गए ।

मैले प्रश्नहरु सररर पढेँ । जम्मा २३ वटा प्रश्न थिए । प्रश्नमा लोग्ने–स्वास्नीको सम्बन्धबाट लिएर रिस उठ्ने कारण, रिसाउने कारण, यौनका कुरा र इच्छा अनि बिहेअघि–पछि भए–गरिएका यौन सम्बन्ध, मनभित्र कसैप्रति रहेको चाहना र कसैसँग सम्बन्ध बनाउन चाहने इच्छाबारे समेत प्रश्न बनाइएको थियो । मैले व्यावसायिक तरिकाबाट प्रश्नहरुलाई हिन्दीमा अनुवाद गरी दिए अनि फ्रेङ्कलाई कुरेर बसेँ ।

केही समयपछि फ्रेङ्क आए र पोलिग्राफी जाँच गर्ने क्याबिनमा मलाई सँगै लिएर गए । भित्र मैले एउटा जोडीलाई देखेँ । फ्रेङ्कलले उनीहरु श्रीमान् फलानो र श्रीमती फलानो भनेर परिचय गराए  अनि दोभासेका रुपमा मेरो पनि परिचय दिए । श्रीमतीले एक दाने पोते लगाएको देखेर मलाई नेपाली नै हुन् कि जस्तो लागेको थियो । श्रीमान् फलानोले मलाई चिनेर होला, आत्तिएर रातोपीरो भए । श्रीमान् फलानोले फ्रेङ्कलाई मलाई एकपटक बाहिर पठाएर केही कुरा गर्ने भने । फ्रेङ्कले मलाई बाहिर जान आग्रह गर्यो । म बाहिर गएको केही बेरपछि फ्रेङ्कले मलाई भित्र बोलाए । उनीहरु र म दुवै नेपाली भएकाले अब नेपालीमा जाँच लिनेबारे जानकारी गराउँदै फ्रेङ्कले अघि उसले दिएको प्रश्न फेरि नेपालीमा अनुवाद गर्नु भनेर कागज कलम दियो । त्यसपछि उनीहरुको अगाडि मलाई म दोभासेको नियम–कानुनमा बाँधिएको र यस कोठाभित्र भएका कुरा बाहिर नजाने कसममा बाँधिएको स्मरण गरायो । त्यसपछि फ्रेङ्कले मेरै उपस्थितिमा पोलिग्राफी जाँचका प्रक्रियाबारे जानकारी गराए ।

श्रीमान् फलानोले मलाई राम्ररी चिनेका रहेछछन् । त्यसैले उनले मलाई बाहिर पठाएर म नेपाली भएको जानकारी गराउँदै नेपालीमै जाँच गर्ने निधो गरेका होलान् । मलाई लाग्छ, उनीहरुबारे कुनै नेपालीले थाहा नपाओस् भनेर श्रीमान् फलानोले हिन्दी दोभाषेको माग गरेका रहेछन् । मलाई श्रीमान् फलानोले नेपालबाटै चिनेका थिए रे । म त्रिभुवन विश्वविद्यालय (टीयू) मा अन्तिम वर्षमा हुँदा उनले एमए भर्ना लिएका रहेछन् । हामीबीच कुराकानी पनि भएको थियो रे । टीयूबाट निस्केपछि मैले सरकारी जागिर खान थालेँ । उनले गैरसरकारी सस्था चलाउँदा आक्कलझुक्कल एक–दुईपटक हाम्रो भेट भएको जानकारी गराए तापनि मैले भने उनको अनुहार नै सम्झन सकिनँ । मात्र ‘ए हो’ भनेर कुरा अघि बढाएको थिएँ ।

उनले मलाई यसअघि पनि नेपालीहरुको कार्यक्रममा देखेको तर कुरा गर्न नभ्याएको समेत भने । आफू दुई वर्षअघि आएर परिवार छाडेर फेरि फर्केर गएकोसमेत बताए । आज मलाई यहाँ देख्दा अचम्म लागेको पनि सुनाए । उनले यहाँ आएको कसैलाई नभन्न हातै जाडेर बिन्ती गरे । मैले यो काम सुरु गर्दा गोपनीयता भङ्ग नगर्ने सर्तनामामा दस्तखत गरेको जानकारी गराएँ ।

मैले पहिलोपटक नेपाली दम्पतीलाई पोलिग्राफी जाँचका क्लिनिकमा भेटेको थिएँ । यसअघि दुई भारतीय दम्पत्तीको पोलिग्राफी जाँचको भाषानुवाद गरिसकेको थिएँ । तर, आज उनीहरुको पोलिग्राफी क्लिनिकमा आउनुको कारण भने थाहा पाएको थिइनँ । उनीहरुको उपस्थिति र जाँचबारे फ्रेङ्कले भनेपछि पो स्तब्ध भएँ ।

पोलिग्राफी विशेषज्ञ फ्रेङ्कले पहिले दुवैलाई सँगै राखेर अनि पछि एक्लाएक्लै राखेर जाँच प्रक्रियाबारे बताए । त्यसपछि मित्र फलानोलाई बाहिर पठाएर जाँच सुरु गरे । श्रीमती फलानोको शरीरमा यन्त्र राखिएपछि फ्रेङ्क कम्प्युटरमा बसे । उनले मलाई प्रश्नको नम्बर भन्न थाले । त्यसरी नै १–२–३–४... आदि फ्रेङ्कले जुन प्रश्न नम्बर भन्छन्, म अनुवाद गरेका प्रश्न नेपालीमा भन्ने गर्थें र नेपालीमै दिएको उत्तरलाई अङ्ग्रेजीमा अनुवाद गरिदिन्थेँ । यसरी नै उनलाई चारपटक त्यही प्रश्न तलमाथिका सङ्ख्याका आधारमा दोहो¥याएर सोधेपछि फ्रेङ्कले पोलिग्राफी जाँच पूरा भएको जानकारी गराए । अनि मित्र फलानोलाई भित्र बोलाएर फ्रेङ्कले आफ्नो पोलिग्राफी जाँचको रिजल्ट सुनाए ।

श्रीमान र श्रीमतीलाई हाम्रो समाजमा एक रथका दुई पाङ्ग्रा भनेर परिभाषित गरिन्छ । दाम्पत्य जीवन विश्वासमा अडेको हुन्छ । लोग्नेले जेजति गल्ती गरे पनि स्वास्नीले सहनैपर्ने । आफ्नो श्रीमतीले अरुसँग हाँसेर कुरा गर्दासमेत शङ्का गर्ने तर श्रीमान् परस्त्रीसँग बस्न गए पनि शङ्का गर्न नहुने सङ्कीर्ण समाजबाट हुर्केबढेकाले हामी त्यहीँ मनस्थिति लिएर बिदेसिएका हुन्छौँ । रामले सीताको चरित्रमाथि शङ्का गरेर अग्निपरीक्षा दिनुपरेको रामायण पढेर हुर्केको हुनाले लोग्नेमान्छेले जति परस्त्रीगमन गरे पनि श्रीमतीले अरुसँग बोलेको, हाँसेको, कसैले घरमा ढिलो छाडिदिएको, कसैसँग बाहिर गएको, आफ्नो अनुपस्थितिमा कसैलाई बोलाएको वा कोही आएको, सहकर्मीसँग बढी निकटता बढाएको आदि–इत्यादि कुराले मित्र फलानोलाई पनि पिरोलेको हुनुपर्छ । त्यसैले त १५ वर्षको दाम्पत्य जीवनपछि आविश्वासको बादलले श्रीमान् फलानोलाई आफ्नै श्रीमतीको चरित्रमाथि शङ्का उब्जाएर हजारौँ डलर खर्चेर पोलिग्राफी जाँच गराउनु प¥यो । कारण थियो, उनको गणनामा रहेको अस्थायी साधनको गणित नमिल्नु ।

हामी छुट्टिने बेला मित्र फलानोले फेरि एकपटक यो घटनाबारे कसैलाई नभन्नू भनी बिन्ती चढाएका थिए । मैले उनको अनुहारमा युद्ध हारेर फर्केको सिपाहीको प्रतिविम्ब देखिरहेको थिएँ । पोलिग्राफी जाँचमा श्रीमती फलानो र श्रीमान् फलानोमा को गलत थिए भन्नेबारे थाहा पाएर पनि न त म कसैलाई बधाई दिन सक्थेँ, न कसैप्रति सहानुभूति नै राख्न सक्थेँ । यसमा कसको जित भएको थियो र कसले हारेको थियो ? म भन्न सक्दिनँ ।

त्यही राती १० बजेतिर श्रीमान् फलानोको फोन आयो । पहिलो पटक उनले मलाई फोन गरेका थिए । मेरो फोन नम्बर कताबाट पाए ? त्यो पनि मैले सोधिनँ । मात्र उनको कुरा सुनेँ, “आज जे भयो, त्यसलाई एउटा सपना मानेर बिर्सिदिनु होला । हामी अब कहिल्यै भेट्दैनौँ होला । भोलि हामी यहाँबाट अन्यत्र नयाँ सहरमा जाँदै छौँ ।”

अनि फोन काटियो ।

उनले आफ्नी श्रीमतीमाथि शङ्का गरेको कारण थियो । घरमा राखेको परिवार नियोजनको अस्थायी साधन उनको हिसाब अनुसार कम हुनु र आफू रात्रि–ड्युटीमा काम गर्नु । कतै उनले आफैँले गन्ती बिर्सेका हैनन् । उनकी श्रीमतीको पनि यही आरोप थियो । वास्तविकता भने सोचेको भन्दा विपरीत नै थियो ।

तीन वर्षपछि पोलिग्राफी विशेषज्ञ फ्रेङ्कले फेरि फोन गरेर मसँग समय मागे । यसपटक उनले नेपाली भाषाकै लागि भनेर मेरो समय बुक गरेका थिए । तर, यसरी हजारौँ डलर खर्च गरेर हामी के प्रमाणित गर्न खोजिरहेका छौँ ? नदेखेको कुरामा विश्वास नगरेर मौन बस्न सकिँदैन । किन आफैँ सुखमय दाम्पत्यको चीरहरण गर्न खाजिरहेका छौँ ? मैले भने अझै बुझ्न सकिरहेको छैन ।

टोरोन्टो, क्यानडा