काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार राजीनामा दिने भएका छन् । राष्ट्रियसभाको खाली एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने पार्टी निर्णयसँगै खतिवडाले राजीनामा दिन लागेका हुन् ।
राजीनामा दिएलगत्तै अर्थमन्त्री खतिवडा पहिला अर्थमन्त्रालयमा पुगेर बिदाइ हुनेछन् । त्यसपछि सञ्चारमन्त्रालयमा आएर प्रेस मिट गर्दै अहिलेसम्म आफुले गरेका कामकारवाहीका वारेमा जानकारी दिने तयारी गरेको खतिवडा निकटस्थहरुले बताएका छन् ।
आजैको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्टपतिलाई सिफारिस गर्नेछ । यसैबीच खतिवडाको बहिर्गमनसँगै अवको अर्थमन्त्री को हुने भन्ने चर्चा सुरु भएको छ । अर्थमन्त्रीका लागि नेकपाकै महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे चर्चामा छन् । उता, राष्ट्रियसभामा जाने निश्चित भएका वामदेव गौतमले पनि उपप्रधानसहित अर्थमन्त्रालयको दावी गर्दै आएका छन् ।