काठमाडौं उपत्यकामा १५ दिन कर्फ्यू लगाउन मेयरहरुको सुझाव

काठमाडौं उपत्यकामा १५ दिन कर्फ्यू लगाउन मेयरहरुको सुझाव

काठमाडाैं । कोरोना संक्रमणदर उच्च भएपछि कोठमाडौं उपत्यकाका नगरपालिका मेयर फोरमले कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडाइ गर्न सुझाव दिएको छ ।  मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यू आदेश जारी गर्न सुझाव दिएको बताए।

केही दिन अत्यावस्यक सामग्री किनमेलका लागि सहज बनाई थप १५ दिन कर्फ्यू आदेश जारी गरेमात्रै कोभिड १९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने सचिव श्रेष्ठले बताए। अहिले १५ दिनसम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझैपनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोकेर संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन कर्फ्यू नै उत्तम विकल्प भएको उनको भनाइ छ।

कोभिड १९ संक्रमण समुदाय स्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने पनि उनले बताए।

कडा खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्नेतर्फ उपत्यका नगरपालिका मेयर फोरम सचेत रहेको पनि उनको तर्क छ।त्यसका लागि आफू बसेको वडा कार्यालयमा सम्पर्क गरे सहजै राहत उपलब्ध हुने पनि श्रेष्ठले बताए।