गुर्जो खाऔँ, कोरोना भगाऔँ

गुर्जो खाऔँ, कोरोना भगाऔँ

हाम्रै घर–आँगनमा पाइने चिरपरिचित गुर्जोको उपयोगिता अहिले ह्वात्तै बढेर गएको छ। कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएसँगै आज हरेक व्यक्ति आफ्नो प्रतिरक्षा प्रणलीलाई सबल बनाएर यो रोगलाई जित्न चाहिरहेको छ। यसै सन्दर्भमा हाम्रो घर-आँगनमै पाइने गुर्जोको उपयोगितालाई लिएर विभिन्न अभ्यास भइरहेको छ। सामान्य ज्वरो, रूघाखोकी, रक्तअल्पता, जन्डिस, गोनेरिया, अपच, अजिर्ण, पाइल्स, दम एवं अन्य विषम परिस्थितिमा दिइने यो औषधिको प्रतिरक्षा प्रणाली सबल पार्न सक्ने गुणकै कारण कोरोना भाइरसजस्तो महामारीमा पनि उपयोगी सावित भइसकेको छ। विभिन्न फाइटो स्टेरोइड, अल्कलाइड्स, टारपेन, ग्लइकोसाइडहरूले भरपूर यो जडीबुटी रक्त शुद्धीकरण र व्याधि-क्षमत्व वृद्धिका लागि प्रयोग गर्ने गरिन्छ। कोरोना भाइरससँग लड्न व्याधि-क्षमत्व सबल पार्न होस् वा यो योगका लागिसकेपछि रोगका लक्षणहरू समन गर्नुहोस्, गुर्जोको उपयोग गर्न सकिन्छ।

किन खाने गुर्जो?

कोरोना भाइरसको महामारीको दौरान गुर्जो विशेषतः प्रतिरक्षा प्रणलीलाई सबल गर्न र कोरोनाका कारण देखापर्ने लक्षणहरू जस्तैः ज्वरो, रूघा, मर्की, खोकी, दमबढ्ने, जीउ दुख्ने जस्ता समस्याबाट छुटकारा पाउनका लागि खाने गरिन्छ। गुर्जोमा प्रचूर मात्रमा एण्टि–अक्सिडेण्ट पाइन्छ, जसले अक्सिडेटिभ स्ट्रसका दौरान हुने फ्रि–रेडिकल इन्जुरीलाई ठिक गर्दछ। गुर्जोमा गिलोइन नामक ग्लुकोसाइड, पामेरिन, टिनोस्पोरिन, टिनोस्पोरिक एसिड जस्ता तत्त्व पनि पाइन्छ। साथै यसमा फलाम, फस्फोरस, तामा, क्याल्सियम, जिंक, म्यागनिज आदि पनि प्रशस्त मातामा पाइन्छ। यी तत्त्व शरीरका लागि महत्त्वपूर्ण पोषक तत्व हुनुका साथै अनेकौँ रोगबाट बचाउन आवश्यक हुन्छ। गुर्जोको सेवनले रक्त शुद्धीकरण हुने, रक्तकोष र प्लेटलेट्सको संख्या बढ्ने गर्छ। यसमा विद्यमान तत्व ब्याक्टेरिया एवं भाइरसविरोधी छन्। साथै गुर्जोको सेवनले कोरोना भाइरसको संक्रमणका दौरान हुने श्वासप्रश्वासका समस्यालाई समेत समन गर्छ।

कसरी खाने गुर्जो?

१. राती, आफ्नो (खाने मान्छेको) हातको एक बित्ता लामो गुर्जोको डाँठलाई मजाले धोएर खालमा वा सिलौटामा कुट्नुहोस्। यसरी कुटिएको औषधिलाई १५० मि.लि. पानीमा हालेर रातभरि छोडिदिनुस्। बिहान भएपछि यो पानीलाई कपडाले छानेर मजाले पिउनुहोस्।

२. तत्काल पिउन एक हात लामो र कान्छीऔँला बराबर मोटो गुर्जोको लहरालाई खलमा कुटेर रस निकालेर २० मि.लि. रस प्रतिदिन पिउन सकिन्छ।

३. तत्काल पिउने भए यसरी खलमा कुटिएको गुर्जोको क्वाथलाई एकचोटि भुलुक्क उमालेर हल्का मनतातो भएपछि पनि पिउन सकिन्छ वा २० देखि ३० मि.लि. क्वाथ उसै पनि पिउन सकिन्छ।

४. गुर्जोको चूर्ण लिने हो भने ५ ग्राम वा एक चिया चम्चा गुर्जोको चूर्णलाई एक गिलास तातोपानीमा हालेर केही क्षणपश्चात लिन सकिन्छ।

५. अहिले बजारमा गुर्जोको क्याप्सुल पनि पाइन्छ। यो क्याप्सुल राती सुत्ने बेलामा दिनको एउटा लिन सकिन्छ।

साबधानीः गुर्जोको सेवनले कसैकसैमा एलर्जी पनि हुन सक्छ । यसैगरी गर्भवती, अटोइम्युनका समस्या भएकाहरू कब्जियत भएकाहरूले पनि यसको सेवन गर्नु हुँदैन।