काठमाडौं । काठमाडौंमा सर्जिकल सामान बिक्री गर्ने पसलहरु समेत जबरजस्ती बन्द गरिएको छ । त्रिपुरेश्वरमा रहेका सर्जिकल सामान बिक्री गर्ने पसलहरु स्थानीय युवाहरुले जवरजस्ती बन्द गराउँदै हिडेको पाइएको हो ।
सोमबार उनीहरुले एउटा पसलका सञ्चालकलाई कुटपीट समेत गरेका छन् । अत्यावश्यक सर्जिकलका सामान बिक्री गर्ने ती पसल २४ घण्टे अत्यावश्यक सेवा भित्र पर्दछन् । तर स्थानीय युवाको समूहले ती पसल खुल्ला राख्दा कोरोना संक्रमण फैलन सक्ने भन्दै पसल बन्द गराएका हुन् ।
उनीहरुले बिहान ११ देखि दिउँसो २ बजेसम्म मात्र पसल खोल्नु पर्ने भन्दै व्यवसायीलाई दवाव दिँदै आएका थिए । सोमबार युवाको समूहले जवजस्ती पसल बन्द गराएको बी एम सर्जीकल सप्लायर्सका सञ्चालक विवेक पोखरेलले जानकारी दिए ।
युवाहरुको समूहले हिमालयन सर्जिकलका सञ्चालक युवराज वेलबासेलाई कुटपीट समेत गरेका छन् । सोही पसलमा काम गर्ने अर्का एक युवक समेत कुटिएका छन् । व्यवसायीलाई कुटपीट गरेपछि त्रिपुरेश्वरका सबै सर्जिकल इकुपमेन्ट पसल बन्द भएका छन् ।