काठमाडौं । उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोभिड–१९ को पछिल्लो पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उनीहरूको पीसीआर परीक्षण गरिएको थियो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायतका सीसीएमसीको उक्त बैठकमा सहभागी थिए ।
उनीहरूको स्वाब बिहान सङ्कलन गरिएकोमा शनिबार साँझ परीक्षणको नतिजा नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।
बैठकमा चिया र पानी उपलब्ध गराउने व्यक्तिलाई कोरोना भएको गत बिहीबार पुष्टि भएपछि शुक्रबार त्यस बैठकमा सहभागी प्रायः सबै व्यक्ति आइसोलेसनमा रहेका थिए ।