काठमाडौं । कोरोना भाइरस संक्रमणमा निरन्तर उकालो लाग्दै गर्दा अक्सफोर्ड युनिभर्सिटीको एक अनुसन्धानले आगामी पुस १५ सम्म नेपालमा ४९ हजार २ सयको मृत्यु हुने आकलन गरेको छ । बेलायती सहयोग नियोग डीएफआईडीको आर्थिक सहायतामा अक्सफोर्ड युनिभर्सिटीको अनुसन्धानपत्र 'मोडेलिङ अफ कोभिड–१९ स्ट्राटेजिज इन नेपाल' मा त्यस्तो तथ्य सार्वजनिक भएको हो ।
अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट (ओपीएम), अक्सफोर्ड पोलिसी एन्ड एनालाइसिस फर हेल्थ अफ द न्युफिल्ड डिपोर्टमेन्ट अफ मेडिसिनले संयुक्त रुपमा यो अध्ययन गरेका हुन् । अक्सफोर्डकी प्राध्यापक लिसा व्हाइट, डा. निकोलस लेचफोर्ड, डा. सुनील पोखरेल, डा. दिप्ती लता, डा. रसिद जमानको अनुसन्धानपत्र ४० पृष्ठ लामो छ ।
महामारी विज्ञानको डाटा प्रयोग गरेर गणितीय मोडेलिङका आधारमा भाइरस प्रसार हुने आकलन गरिएको भनिएको उक्त अनुसन्धान बेलायत सरकारको वेभसाइट जीओभीडट युकेमा अगस्ट २५ मा प्रकाशित भएको हो । अध्ययनबाट सरोकारवालालाई यसबारे राम्रोसँग बुझ्न र भावी रणनीति बनाउन मद्दत पुग्ने अनुसन्धानकर्ताहरुको विश्वास छ ।
अक्सफोर्डको अनुसन्धान अनुसार अंग्रेजी वर्षको अन्त्य (पुस १५) सम्म ८१.१ प्रतिशत जनसंख्या संक्रमित हुँदा प्रत्येक दिन ८ लाख ४६ हजार बिरामी देखिने र मृत्यु हुनेको संख्या ४९ हजार २ सय पुग्ने छन् । जुनदेखि सेप्टेम्बरसम्म कोभिड १९ चरमोत्कर्षमा पुग्दा १२ हजार ४ सय आईसीयु र १ हजार भेन्टिलेटर चाहिने अनुसन्धानमा उल्लेख छ । त्यस अवस्थामा २५ प्रतिशत बिरामीको मृत्यु हुने आकलन छ ।
त्यस्तै, वर्षको अन्त्यसम्म ७१.१ प्रतिशत जनसंख्या संक्रमित हुँदा हरेक दिन ५ लाख ४८ हजार नयाँ बिरामी देखिने र मृतकको संख्या ४४ हजार २ सय पुग्ने आकलन छ । जुलाईदेखि अक्टोबरसम्म कोभिड-१९ उत्कर्षमा पुग्दा ८ हजार आईसीयु र एक हजार भेन्टिलेटर चाहिने आकलन गरिएको छ । यसमा २३ प्रतिशत संक्रमितको मृत्युको मुखमा पुग्ने अनुमान छ ।
यसैगरी, ६४.८ प्रतिशत जनसंख्या संक्रमित हुँदा ५ लाख ३१ हजार नयाँ बिरामी देखिने र मृतकको संख्या ३२ हजार ९ सय पुग्ने भएकाले त्यही अनुसार रणनीति तयार गर्न सुझाइएको छ । जुनदेखि अक्टोबरसम्म कोरोना उत्कर्षमा पुगेमा ६ हजार ६ सय आईसीयु र १ हजार भेन्टिलेटर चाहिने प्रक्षेपण छ । यस अवस्थामा १९ प्रतिशतको कोभिड १९ बाट मृत्यु हुने अनुसन्धानपत्रमा उल्लेख छ ।
यद्यपि जनस्वास्थ्य विशेषज्ञ डा रवीन्द्र समीरले त्यसलाई अस्वीकार गरेका छन् । 'त्यो अनुमान १०० प्रतिशत गलत हो । उक्त अध्ययनमा प्रकाशित संक्रमित एबम मृतकको संख्या कुनै पनि मिलेको छैन र मिल्दैन,' उनले भनेका छन्, 'जुनदेखि सेप्टेम्बरसम्म प्रतिदिन ५० हजारदेखि ७५ हजारसम्म संक्रमित हुने, जुलाईदेखि अक्टुबरसम्म संक्रमण उच्चबिन्दुमा पुग्नेलगायत कुनै पनि तथ्यांक सहक्ष् छैनन् ।'
अनुसन्धानपत्रमा महामारी द्रुत रूपमा फैलिरहेकाले स्वास्थ्य प्रणालीका साथै सामाजिक र आर्थिक क्षतिको आकलन पनि गरिएको छ । स्वास्थ्य पहुँच र क्षमताका आधारमा थुप्रै विकासोन्मुख देशजस्तै नेपाल कोभिड-१९ को चपेटामा पर्ने दाबी पनि गरिएको छ ।
संयुक्त अध्ययन प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहोला।
याे पनि पढ्नुहाेस्ः
,