नेकपा विवाद मिलेपछि बिदा हुँदैछन् यी ५ मन्त्री, मापदण्ड बन्दा अरू ६ मन्त्री पनि धरापमा !

नेकपा विवाद मिलेपछि बिदा हुँदैछन् यी ५ मन्त्री,  मापदण्ड बन्दा अरू ६ मन्त्री पनि धरापमा !

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपाको विवाद समाधानउन्मुख भएसँगै मन्त्रिपरिषद् पुनर्गठनको चर्चा शुरू भएको छ ।

पार्टी विवाद समाधानका लागि प्रस्ताव तयार पार्न गठित कार्यदलले पनि मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाव दिएको छ ।

कार्यदलको सुझावको बुँदा नम्बर ९.२ मा भनिएको छ–

'सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने । सचिवालयका सदस्य कमरेडहरूको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानूनी प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गर्ने । मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुने गरी मापदण्ड निर्धारण गर्ने ।'

मन्त्रिपरिषद् पुनर्गठन त्यति सजिलो विषय भने पक्कै होइन । पार्टीभित्र आकांक्षीहरूको संख्या निकै छ । मन्त्री रहिरहेकाहरूलाई हटाउन पनि त्यति सजिलो छैन ।

पार्टी विवाद उत्कर्षमा रहँदा आफूलाई सहयोग गरेकाहरूलाई हटाउन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' दुवैलाई सकस छ ।

स्रोतका अनुसार अबको मन्त्रिपरिषद् पुनर्गठन पहिलाको भन्दा अलि वृहत् हुने सम्भावना छ, त्यसका लागि एउटा मापदण्ड बनाउने तयारी छ ।

मापदण्डअनुसार २ वर्ष नाघेका सबै मन्त्रिको बिदाइ हुनेछ । 'निश्चित मापदण्ड बनाएर पुनर्गठन गर्दा धेरै सहज हुने बुझाइ अध्यक्षद्वयको रहेको पाएको छु,' नेकपा स्रोतले भन्यो, 'यस्तो अवस्थामा २ वर्ष नाघेका सबै मन्त्री बिदा हुनेछन् ।'

कुनै पनि हालतमा बिदा हुँदैछन् यी ५ मन्त्री

मन्त्रिपरिषद्बाट बिदा हुने लिस्टमा सबैभन्दा अगाडि नाम सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाको छ ।

संघीय संसद्को सदस्य समेत नरहेकाले खतिवडा यही भदौको तेस्रो सातापछि मन्त्री रहिरहन संवैधानिक रूपमा पनि मिल्दैन ।

त्यसो त राष्ट्रिय सभामा रिक्त कोटामा डा. खतिवडाको मनोनयन हुने सम्भावना पनि लगभग टर्दै गएको स्रोतको दाबी छ ।

स्वयं मन्त्री खतिवडाले निकटस्थहरूसँग आफू छिट्टै बिदा हुने कुरा बताइसकेको स्रोतले जानकारी दियो ।

मन्त्रीबाट  बिदा हुनेमा अर्को नाम खानेपानी मन्त्रि वीना मगरको पनि छ । मापदण्ड बनेको खण्डमा त स्वत: वीनाको बिदाइ हुनेछ ।

मापदण्ड नबनाइ गर्दा पनि वीनालाई अब बिदा गर्ने मूडमा स्वयं अध्यक्ष प्रचण्ड रहेको खुमलटार स्रोतको दाबी छ ।

आफ्नै बुहारीलाई राखिरहेर थप आलोचना झेल्ने मूडमा प्रचण्ड देखिएका छैनन् ।

मन्त्रिबाट बिदा हुनेमा तेस्रो नाम हो, स्वास्थ्यमन्त्री भानुभक्त ढकालको  ।

स्वास्थ्य मन्त्री ढकालले पनि अब निरन्तरता नपाउने चर्चा नेकपामा छ ।

महामारीका बेला प्रभावकारी काम गर्न नसकेको मात्र होइन, बेलाबेलामा विवादित कुरा बोलेर पनि मन्त्री ढकालले आफ्नो कार्यकाल छोट्याइरहेका छन् ।

आफ्ना निकटस्थ ढकाललाई मन्त्रीबाट हटाउन प्रधानमन्त्री ओली खासै इच्छुक नदेखिएपनि थप आलोचनाको डर र पार्टीभित्रको दबाबका कारण उनको बिदाइ हुने पक्कापक्की रहेको स्रोतले दाबी गर्‍यो ।

यसैगरी बिदा हुने लिष्टमा रहेका अर्का मन्त्री हुन्, शिक्षामन्त्रि गिरीराजमणि पोखरेल ।

पार्टीको आन्तरिक शक्ति सन्तुलनमा पोखरेल प्रवक्ता नारायणकाजी श्रेष्ठको कोटामा मन्त्री बनेका हुन् ।

अबको मन्त्रिपरिषद् पुनर्गठनमा श्रेष्ठ स्वयं मन्त्री बन्ने सम्भावना रहेकाले पोखरेलको पद धरापमा रहेको स्रोत बताउँछ ।

यस्तै साग खेलकुदका कारण अघिल्लोपटक जोगिएका खेलकुद मन्त्री जगत विश्वकर्माको पद पनि यसपटक जाँदैछ ।

मापदण्ड बन्दा जो पर्न सक्छन् धरापमा

दुई वर्ष पार गरेका सबै मन्त्री फेर्ने गरी मापदण्ड बन्दा सुरक्षित मानिएका मन्त्रीहरू पनि बिदा हुने सम्भावना छ ।

जसमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलदेखि प्रधानमन्त्रीलाई पार्टी विवादमा दह्रो साथ दिएका गृहमन्त्री रामबहादुर थापा बादलसम्म पर्छन् ।

सुरक्षित ठानिएका अन्य मन्त्रीहरू परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, ऊर्जा मन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, भूमि मन्त्री पद्माकुमारी अर्यालको पद पनि मापदण्ड बनेको खण्डमा धरापमा पर्ने सम्भावना रहेको नेकपा स्रोत बताउँछ ।

मापदण्ड नबनेको खण्डमा भने उनीहरूमध्ये बादलबाहेक अधिकांश सुरक्षित हुन सक्छन् ।

जो मापदण्डमा नपरे पनि  जान सक्छन्

२ वर्षे मापदण्डभित्र नपर्दा पनि केही मन्त्रीको पद धरापमा पर्नसक्ने स्रोतको दाबी छ ।

त्यसमा पहिलो नाम उद्योग मन्त्री लेखराज भट्टको छ । पूर्वमाओवादी कोटाबाट मन्त्री बनेका भट्टले त्यसलगत्तै खुमलटारसँग सम्बन्ध तोडे ।

पार्टी विवादका कुनै पनि मोडमा उनी पूर्व माओवादी खेमामा देखिएनन् ।

सोही कारण पूर्व माओवादीका कतिपय नेता भट्टको पद पनि धरापमा देख्छन् ।

तर, खुमलटार स्रोत भने प्रचण्डले आफ्नै पूर्व सहकर्मीप्रति पूर्वाग्रह राख्ने सम्भावना नरहेको बताउँछ ।

'उहाँप्रति अध्यक्षको कुनै पूर्वाग्रह छैन,' खुमलटार स्रोत भन्छ, 'अरू नै कारण वा कुनै मापदण्डले उहाँ हट्न सक्नुहोला, तर प्रचण्डलाई साथ नदिएकैले हट्ने भन्ने कुरामा सत्यता छैन ।'

यस्तै माधव नेपाल-झलनाथ खनाल कोटाबाट मन्त्री बनेका योगेश भट्टराई तथा घनश्याम भुसालसँग पनि  नेपाल समूह खुशी छैन, तर पद नै धरापमा परिहाल्ने सम्भावन भने निकै न्यून छ ।

याे पनि पढ्नुहाेस्ः

अक्सफोर्ड युनिभर्सिटीको रिपोर्टले खैलाबैला: पुससम्म ४९ हजार २ सयको मृत्यु हुने आकलन