बारामा एकै दिन ४९ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

बारामा एकै दिन ४९ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

बारा । बारामा शुक्रबार एकै दिन सशस्त्र प्रहरीका ४९ मा कोरोना संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी वल नम्बर ४० रिजर्भ गण पिलुवा बारामा कार्यारत प्रहरीमा कोरोना संक्रमण भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए । 

बारा, पर्सा र रौतहट जिल्लाको सिमा सुरक्षाका लागि भन्दै सरकारले यही श्रावण १ गते रिजर्भ गण स्थापना गरेको हो । यसअघि सशस्त्र प्रहरी बल भद्रकाली गणका रुपमा रहेको थियो । भदौ ८ गते एक सय १५ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएकोमा ४९ जनामा कोरोना संक्रमण देखिएको गणपति मनोज थापाले जानकारी दिए । 

संक्रमित सवैलाई गणमै बनाइएको आइसोलेसनमा राखिएको छ । करिव ७० जना व्यक्तिलाई व्यवस्थापन गर्न सकिने गरी सशस्त्र प्रहरीले आफ्नो छुट्टै आइसोलेसन बनाएको थियो । योसँगै बारामा संक्रमितहरुको संख्या  आठ सय ६ पुगेको छ भने मृत्यु भएका १५ जनामा कोरोना संक्रमण देखिएको छ ।