काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहेको छ । शुक्रबार बिहानै थप चार जनाको कोरोनाकै कारण मृत्यु भएको छ। ज्यान गुमाउने तीन महिला र एक पुरुष छन्। भक्तपुर, मकवानपुर, झापा र मोरङमा गरेर थप चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
भक्तपुरमा ६२ वर्षीया महिला, मकवानपुरकी ७१ वर्षीया महिला, मोरङकी ५६ वर्षीया महिला र झापाका ७३ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा।दयाराम लम्सालले जानकारी दिए।
त्यसैगरी झापाको कमल गाउँपालिका ३ केर्खाका ८३ वर्षीय एक वृद्धको आज बिहान उपचारको क्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन्।
मोरङकी ५६ वर्षीया एक महिलाको पनि शुक्रबार बिहान पौने ४ बजेतिर धरानमा मृत्यु भएको छ। उनमा खोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको चिकित्सकले बताएका छन्।
त्यसैगरी कोरोना संक्रमणको कारण भक्तपुरमा ६२ वर्षीया महिलाको मृत्यु भएको छ। मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि पुगेकी स्थानीय ६२ वर्षीया महिलाको गएराति मृत्यु भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।
अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचापलगायत समस्याका कारण उपचारका लागि नागरिक अस्पताल आएकी महिलाको अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताए। आज मृत्यु भएका चारसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक सय ८८ पुगेको छ।