दुई वर्षअघि हेटौडा स्थाई घर भएकी रबिना क्षेत्री (नाम परिवर्तन) नर्सिङ्ग अध्ययनको लागि विद्यार्थी भिसामा पश्चिम अस्ट्रेलियाको राजधानी पर्थको एडिथ कोवान नामक बिश्वबिद्यालयमा भर्ना भईन् । घरकी एक्ली छोरी भएको कारणले उनका परिवारले उनलाई पुर्ख्यौली घर बैकमा धितो राखेर अस्ट्रेलिया पठाएका थिए । छ महिनाको सेमेस्टर फि तिरेर उनि यहाँ आएकी थिइन। आएको दुई/तीन महिना त घरबाट ल्याएको पन्ध्र सय अस्ट्रेलियन डलरले उनलाई गाह्रो पर्न दिएन तर जब त्यो डलर सकिदै गयो, उनी कामको खोजिमा लाग्न थालिन। किनकी उनलाई मज्जाले थाहा थियो कि अब आउने सेमेस्टर फि आफै कमाएर तिर्नु पर्छ भन्ने।
त्यसपछि यहि राज्यमा भएका साथीभाई, काम खोज्न सहयोग पुर्याउने गम ट्री नामक मोबाइल एप्लिकेसन देखी सारालाई गुहार्न थालिन। एक महिना सम्म त कतै बाट पनि उनलाई बोलाइएन तर संयोगवस पश्चिम अस्ट्रेलियामै रहेको एक नेपाली रेटुरेण्टमा उनलाई किचन ह्याण्डको जागिर मिल्यो। केहि समय सम्म त राम्रै भैरहेको थियो। समय बित्नु भन्दा अगाडीनै उनलाई तलब दिईन्थियो, कहिले काही आफ्नो तलब भन्दा सय डलर बढि दिएको देखेर उनी झन् खुशी हुन्थिन ।
नेपाली समाजमा भद्रभलादमीको ट्याग बोकेका त्यस रेटुरेण्टका साहुलाई रबिना अङ्कल भनेर सम्बोधन गर्थिन तर महिना बित्दै जादा आफ्नो मुखौटा खोलेर असली रुपमा आउँन थालिसकेका थिए साहु । काम गरिरहेको बेला अगाडि आउने, बिभिन्न बाहनामा छुन खोज्ने यस्ता गतिबिधि बढ्दै गयो। सुरु सुरुमा उनले पत्तै पाइन्न के भैरहेको छ भनेर । तर यस्ता क्रियाकलाप झन् बढ्न थाले पछि, उनी आफै सतर्क हुन् थालिन । राति १० बजे सम्म खुल्ने त्यस रेटुरेण्टमा प्राय: दुई सिफ्ट भान्छा सहयोगी हुन्थे तर एकदिन उनलाई अर्को काम गर्ने मान्छे बिरामी भएको कारणले तिम्ले त्यो सिफ्ट पनि गर्दिनु पर्यो भनेर मोबाइलमा म्यासेज आयो ।
कोठा भाडा र सेमेस्टर फि ले च्यापिरहेको उनले हुन्न भन्न सकिनन् । अन्तत्ः उनी आफ्नो काममा गइन र आफ्नो काम सकाएर भान्छा सफा गर्न लाग्दा एकासी उनलाई पछाडीबाट उनको साहुले अंगालो हाले, उनी झसंग भईन। प्रति उत्तरमा उनले गालि गरिन, साहु बिभिन्न प्रलोभन देखाउन तर्फ लागे तर उनले मानिनन्। अन्ततः उनी त्यो चंगुलबाट छुटेर घर लागिन। भोलि पल्टबाट तिनै साहुले माफ गर्देउ मैले तिम्रो खातामा केहि पैसा हाल्दिएको छु भन्दै म्यासेज गर्न थाले। उनी भन्छिन त्यसपछि काममा पनि डरले जान छोड्दिए, कति रात रुदै पनि बित्यो। भनम कसलाई भनम, परिवार टाढा थिए।
उनी प्रहरीमा उजुरी दिन्छु भन्ने सम्मको साहस जुटाईसकेकी थिइन् तर अस्ट्रेलियन सरकारको नियम अनुसार अन्तरास्ट्रिय विद्यार्थीले हप्तामा २० घण्टा भन्दा बढी काम गर्न पाउदैनन्, उनले २० घण्टा बढी काम गर्थिन त्यही डरले पनि उनी चुपचाप भइन र त्यो अपराध त्यहि सल्टियो, बाहिर आएन ।
उनीमात्र होइन आफ्नो भविष्य उज्ज्वल बनाउने लक्ष्य लिएर एक वर्ष अघि नक्कली बिवाह गरेर डिपेन्डेन भिसामा आएका समिर सिग्देल (नाम परिवर्तन) को अवस्था पनि उस्तै छ । सुरु सुरुमा यहाँ आइसकेपछि त बेक्कार आएको जस्तो भयो रे उनलाई। काम पाउन गाह्रो, पाए पनि घण्टाको ११ /१२ दिने, त्यो पैसा पनि समयमा नदिने झगडै गर्नु पर्ने बाध्यता । मैले कति समय काम गरेको पैसा नपाएर डिप्रेसनमा गैसकेको थिए, रुनु बाहेक केहि बिकल्प थिएन। उनी भन्छन अस्ट्रेलियन यूरोपियनले खोलेको व्यवासयमा त्यस्तो छैन राम्रो तलब दिन्छन तर यो नेपाली र भारतीयले खोलेको व्यवसायमा आफ्नै दाजुभाइलाई श्रम शोषण गर्छन । फेरी कोहि कोहि नेपाली साहूहरु एकदम सहयोगी र राम्रा पनि देखेको छु । यी त उदाहरणीय पात्र र भोगाई मात्र हो, यस्ता क्रियाकलाप त कति छन् छन्।
अष्ट्रेलियाको नेपाली समाजमा यौन दुर्व्यवहार र श्रम शोषण बढ्दो क्रममा छ । खासगरी विद्यार्थी भिषामा रहेकाहरु यस्तो शोषणमा बढी पारिरहेछन । तर, भिषा रद्द हुने र समाजिक बेइज्जत हुने डरले पीडितहरु प्रहरीसम्म जान हिच्किचाउने गरेका छन् ।
के हुन्छ यदि तपाइँले उजुरी दिनु भयो भने?
यदि तपाइँले आफु माथि यौन दुर्व्यवहार भएको जानकारी सम्बन्धित राज्य प्रहरीमा गराउनु भयो भने तपाइँको पहिचान गोप्य राखेर अनुसन्धान अघि बढाइन्छ र दोषी ठहर हुनासाथ प्रकृति हेरेर पीडकलाई २० वर्ष सम्मको जेल सजाय हुन् सक्छ । प्रायः महिला वा पुरुष दुवैलाई समाजमा आफ्नो नाम आउने डरले बोल्न डराउछन्।
साथै आफ्नो काम गर्ने ठाँउबाट अस्ट्रेलियन सरकारले तोकेको अनुसारको तलब, सुबिधा समयमा पाउनु भएको छैन भने तपाईले सिधै अस्ट्रेलियन सरकारको फेयर वर्कस नामक संस्थालाई आफ्नो समस्याको जानकारी दिन सक्नुहुन्छ, उनीहरुले अनुसन्धान थालनेछन। अहिले सम्म सबै भन्दा बढी जरिवाना मेलबर्नको एक व्यवसायिक घरलाई २,२८,००० अस्ट्रेलियन डलर गरिएको थियो । यस्ता उजुरी गर्दा तपाईको भिसामा कुनै पनि फरक पर्ने छैन । डर होइन, उजुरी गर्ने बानि बसाउनु पर्छ ।