काठमाडौं । कोरोना संक्रमित आक्रमक रुपमा बढेपछि काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक हप्ता बढाउने निर्णय गरेको हो ।
भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँने भएपछि तीनै जिल्लाका प्रजिअको आजको बैठकले निषेधाज्ञा लम्व्याएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।
अब काठमाडौं उपत्यकामा भदौ १७ गते मध्यरातसम्म निषेधाज्ञा जारी रहनेछ ।कोरोना संक्रमितको दर दैनिक बढिरहेको भन्दै मंगलबार काठमाडौंका मेयरहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए ।
संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ ९३० अनुसार जिल्ला सुरक्षा समितीको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार छ ।
थप गरिएको निषेधाज्ञा अवधिमा आईसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाउने स्थानीय प्रशासनले निर्णय गरेको छ ।
निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।
अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।