के चिनी शाकाहारी हो?

के चिनी शाकाहारी हो?

हिजोआज चिनीविना खानेकुराको कल्पना गर्न पनि सकिन्न। सखर त सिलो खोज्दा मात्र भेटिन्छ। परम्परागत पद्धतिका गुलिया पदार्थ विलय भएर गैसके। बजारमा पाइने सेतो चिनी (ह्वाइट सुगर) निर्विकल्प बनेको छ। हाम्रा 'पवित्र' र 'चोखा' कार्जे र भोजनमा चिनी अनिवार्य हुन्छ।

हाम्रा 'भेटेरान' पण्डितहरू पनि गुलिया भोजनलाई 'पवित्र' मानेर खान्छन्। तर चिनीको उत्पादनमा जनावरको हड्डीको प्रयोग हुने गर्छ प्राय: जसो। विशेष गरी प्रशोधनको पछिल्लो खण्डमा छान्ने क्रिया जनावरको हड्डी भष्मबाट गरिन्छ। उसो त, छान्ने मात्र हो। चिनीमा हड्डीका तत्वहरू हुँदैनन् भनिन्छ। त्यसैले चिनी शाकाहारी हो कि होइन भन्ने विवाद पनि छ।

भेजिटरियन जर्नलहरूमा चिनी शाकाहारी हो भनेर दाबी गरिएका लेखहरू पनि प्रकाशित हुने गर्छन्। कम्पनीहरूले पनि आफ्ना उत्पादन जनावरको हड्डीको धूलोबाट छानिएर गएको भए पनि त्यसमा हड्डीको परिणाम शून्य प्रतिशत रहेको दाबी गरेका पनि भेटिन्छन्।

भेजिटेरियनहरू अलि 'माइल्ड' हुने हुँदा चिनीको शाकाहारीपनमा उति विवाद नभए पनि भेगनहरूक लागि भने चिनी टाउको दुखाइको विषय हुने गर्छ। उखुबाहेकका केही स्रोतबाट उत्पादन गरिने चिनी हड्डीबाट नछानिने हुँदा भेगनहरूको छनोटमा त्यो पर्ने गरेको पनि छ। कतिपय कारखानाहरूले उखुबाट उत्पादन गरिने चिनी प्रशोधनमा हड्डीलाई प्रयोग पनि गर्दैनन्। अमेरिकामा यस्ता कम्पनीहरूको सूची नै प्रकाशित गर्ने गरिन्छ। हाम्रा यतातिर त्यसमा चासो हुने कुरै भएन।

सामान्यतया बजारमा पाइने चिनीमा उत्पादन गर्ने क्रममा कसरी छानिएको हो भन्ने उल्लेख नगरिने हुँदा चिनीको 'शुद्धता' को बारेमा यकिन हुँदैन। बिस्कुट, चकलेट उत्पादनमा प्रयोग गरिने गुलियो पनि उही सेतो चिनीबाटै तयार गरिने हुँदा 'शुद्धता' को कसीमा चकलेट, बिस्कुट कस्ता खाद्य वस्तु हुन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। समस्या सेतो चिनीको मात्र होइन, खैरो चिनीको पनि उही हो। किनभने खैरो चिनी पनि सेतो चिनी जसरी नै उत्पादन गरिने हो।

दूध पनि कोकोनट मिल्क, आल्मोन्ड मिल्क खानेहरूका लागि त जे पनि पुग्छ, सकिन्छ। सामान्य मानिसको कोणबाट त 'शाकाहारी' हुन धेरै गारो मात्र होइन, असम्भव नै हुने। म पनि शाकाहारी दाबी गर्छु। अनि मलाई आफू कति प्रतिशत शाकाहारी भन्ने पनि लाग्छ।