पाईलट प्रोजेक्ट अन्तर्गत सेप्टेम्बरमा ३ सय विद्यार्थी एडिलेड आउँदै

पाईलट प्रोजेक्ट अन्तर्गत सेप्टेम्बरमा ३ सय विद्यार्थी एडिलेड आउँदै

एडिलेड । कोरोना भाइरसका नियन्त्रणको लागि अन्तर्राष्ट्रिय उडान बन्द भएको कारण गत मार्च महिनादेखि भने अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको आवागमन रोकिएको छ । कोरोना महामारीको कारण आफ्ना नागरिक वा पीआरधारीबाहेक अन्यलाई प्रवेश निषेध गरेको अष्ट्रेलियाले अर्थतन्त्रको प्रमुख आधारमध्येको एक शिक्षा क्षेत्रलाई पुनःर्जीवन दिन अन्तर्राष्ट्रिय विद्यार्थीलाई सुरक्षित रुपमा अष्ट्रेलिया आउन दिने कार्यक्रम सेप्टेम्बरबाट सुरु गर्न लागेको हो ।  पहिलो चरणमा सिंगापुर, चीन, भारत, नेपाल, जापान लगायतका देशका ३ सय  विद्यार्थीलाई अष्ट्रेलिया आउन दिइनेछ । 

यसरी आउने विद्यार्थीहरुले अनिवार्य १४ दिन होटल क्वारेन्टाईनमा बस्नुपर्नेछ भने समूदायसँग सम्पर्क हुन नदिनका लागि त्यसपछि पनि केही समय विश्वविद्यालयहरुले व्यवस्था गरेको आवासमा बस्नेछन् । साउथ अष्ट्रेलियाले अन्तर्राष्ट्रिय यात्रीहरुको सफल व्यवस्थापन गरी समूदायमा कोरोना संक्रमण हुनबाट जोगाएको सन्दर्भमा विद्यार्थी फिर्तीका लागि पनि पहिलो चरणमा साउथ अष्ट्रेलिया छानिएको हो । 

अष्ट्रेलियाका ट्रेड मिनिष्टर सिमोन बिर्मिंघमले यो कार्यक्रमको घोषणा गर्दै सेप्टेम्बरको पहिलो सातामा ३ सय विद्यार्थी आइपुग्ने जानकारी दिए । यसअघि नेपाली विद्यार्थीहरुसँगको अन्तरक्रियामा नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले पनि यो कार्यक्रममा सहभागी हुनका लागि ईच्छुक विद्यार्थीहरुलाई आह्वान गरेका थिए । ठूला विश्वविद्यालयहरुको संगठनले पनि अष्ट्रेलिया सरकारसँग विद्यार्थी आउन दिने कार्यक्रमका लागि निरन्तर दबाब दिएको थियो । यही दबाबका कारण अहिले आवेदन दिइसकेका विद्यार्थीहरुको भिसा प्रोसेसिंग सुरु गरिएको छ । 

अष्ट्रेलियन सरकारका अधिकारीहरुले भने यो विद्यार्थी आगमन कार्यक्रममा अष्ट्रेलियन नागरिकको एकपैसा पनि खर्च नहुने बताएका छन् । जनताले तिरेको कर खर्च गरेर अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने र तिनकै कारण समूदायमा कोरोना फैलिने सम्भावना रहने भन्दै आलोचना हुने सम्भावनाका कारण राजनीतिज्ञहरुले यस्तो बचाउ गर्दै आएका छन् । कोरोनाको महामारी सुरु हुनुअघिसम्म ५ लाख अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलियामा विभिन्न विषयमा अध्ययन गरिरहेका थिए । जसमा सबैभन्दा बढी चीन, त्यसपछि भारत र नेपालका विद्यार्थी यहाँ पढिरहेका छन् ।