“टिकट भयो विल काका ?”
“हिजो कन्फर्म गरेको । ढेरै महँगो हुने यू नो ? क्याटमान्डू फ्लाइटको यति ढेरै माएले नतिरेको पैले ।”
“कतिपल्ट जानु भो नेपाल ?”
“ढेरै पल्ट गएको । डस पल्ट गएको ।”
“यसपल्ट के गर्दै हुनुहुन्छ नेपालमा ?”
“ढेरै घुम्ने । डेपुटी प्राइमिनिस्टर भेट्ने । स्नोमा क्याल्गरी नाबस्ने । कमिङ डसैँ नेपाल गएर सेलेब्रेट गर्ने यू नो ?”
“डेपुटी प्राइमिनिस्टर किन भेट्ने काका ? केही विशेष काम ?”
“मेरो काम छएन्न । डेपुटी प्राइमिनिस्टरले याद कारेको मालाई । मेरो ढेरै मन परेको । उसको इन्टरेस्टड छ मालाई भेट्ने । त्यो क्याली ग्याण्डकीमा सागै फिसिङ् कार्ने । साठी डेपुटी प्राइमिनिस्टर भएको नेपालमा । उसलाई माइले पनि ढेरै मिस करेको । हामी गुड फ्रेन्ड पहेलेडेखि । नेपालमा गएको टाइमडेखी । उसको रिभोल्युस्नरी आइडिया मालाई एकडम मान परेको ।”
विल काका अर्थात् विलियम स्टुवार्ट । नेपालीहरूबीचमा परिचित एउटा गोरो अनुहार । खाइलाग्दो जीउ । सत्तरी वर्षको उमेर । खैरा रौँ पनि फुलेर सेता हुँदै गरेका । नेपाली संस्कृतिमा रम्ने एक जना रिटायर्ड प्राविधिक गोरे । नेपाली समुदायले मनाउने दसैँको सांस्कृतिक कार्यक्रममा आएर नाच्छन् । काकाको नाच भने अङ्ग्रेजी पाराकै हुन्छ । तर हरेकजसो दसैँमा पुराना सोखिन ब्याले डान्सर काकाको नाचबाट नेपालीले मजा लिन पाउँछन् । रेसम फिरिरी... गीतमा मन्चमा काका नाच्दा नेपालबाट भरखर भरखर आएका आमाबुबाहरू दर्शकदीर्घामा निकै हाँसेको देखिन्छ तर ‘वान्स मोर’ भन्ने नयाँ पुस्ताका भाइबहिनीहरूले निकै हौस्याउँछन् । काका मख्ख पर्छन् । नेपाली समाजका पुराना नेताहरू काकाको नाचले नेपाली संस्कृति बिग्रियो भन्थे । उनीहरू पनि तारिफ गर्छन् काकाको अचेल ।
विल काका मेकानिकल इन्जिनियरिङका रिटायर्ड प्राविधिक हुन् । उनी स्थानीय नेपाली धेरैका साथी पनि । जसलाई जे परे पनि यथासक्य सहयोगका लागी उनी तयार हुन्छन् । पर्वमा गरिने सामुदायिक कार्यक्रम मात्र होइन, मलामी र जन्तीमा पनि काका छुट्दैनन् । नेपाली संस्कृति निकै मन पर्छ रे काकालाई । उनलाई पनि नेपालका मान्छे निकै सहयोगी र सहृदयी लाग्छन् । उनलाई क्याल्गरी मात्र होइन, उनी जाने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र पदमार्गका भट्टी पसल र उनले सहयोग गर्ने लालपुर गाउँका धेरै मान्छेहरूले चिन्छन्, सम्मान गर्छन् र माया गर्छन् । उनलाई त्यस खाले हार्दिकताको नाताले ऊर्जा दिन्छ नेपाल जान ।
साँच्चै भन्ने हो भने क्याल्गरीको जीवन उनलाई निकै नीरस लाग्छ । उनले भने अनुसार यहाँको जीवनमा रस छैन । काकाले कस्तो रस खोज्छन् जीवनमा भन्ने नबुझे पनि उनका नेपाली साथीहरूले सही थापिदिन्छन् । नेपाल जाँदा लालपुरका केटाकेटी, बूढाबूढी लगायतका उनका धेरै साथीहरूलाइ केही न केही न्याना लुगा उपहार पनि लैजान बिर्सन्नन् विल काका । क्याल्गरीको हिटिङ सिस्टममा बसेर पनि काकाले पहाडको जाडो बुझेका छन् । उनी वालमार्टबाट किनेर वा साथीहरूसँग बटुलेर नेपालमा बाँड्न लैजाने लुगाका दुई वटाजति सुटकेस तयार पार्छन् र लैजान्छन् नेपाल । विल काकाले बा भन्न सुहाउने लालपुरका बूढा बाहरू ‘यसपाला गोरे आएन, त्यो मोराले ल्याइदेको जाकेट क्या न्यानो थ्यो, त्यो पनि फाट्न लाग्यो कैले आउँछ खै’ भनेर एकखाले प्रतीक्षा गर्छन् उनलाई लालपुरमा ।
विल काका नेपाल जाँदा मेरो घरमा पनि पस्ने गर्छन् । खासमा मेरो घरै भने छैन नेपालमा । पैतृक सम्पत्तिको नाममा गुल्मीमा घडेरी र सानो बारी थियो तर त्यही बारी पनि आधा पहिरोले लगेपछि आमालाई त्यहाँ बस्न डर भो भनेर स्थायी रूपले काठमाडौँमै ल्याएँ मैले । उहाँको मन गाउँमा, मान्छे काठमाडौँ । उहाँलाई धेरै कुरा मन पर्दैनथ्यो काठमाडौँको तर सशस्त्र द्वन्द्वपछि अचेल धेरैजसो गाउँले पनि काठमाडौँतिरै बसाइँ सरेकाले ठीकै मान्न थाल्नुभएको छ ।
अपार्टमेन्टको कोठा सुविधासम्पन्न छ आमाको । क्यानडाको भिसा दुईचोटि अस्वीकृत भएपछि ‘मेरा भाग्याँ रहेनछ क्यारे क्यानडा’ भनेर चित्त बुझाउनुभएको छ आमाले । ज्योतिषीले ‘भ्रामरीका दशा अझै दुई वर्षसम्म छ, त्यसपछि तपाईंलाइ भिसा मिल्छ’ भन्देको छ । त्यही भ्रामरीका दशाको समय काट्न दिन गनेर बस्नुभएकोछ आमा । नयाँ नयाँ ज्योतिषीकहाँ हेराउनु हुन्छ, अनि हरेक शनिबार पशुपतिमा गएर जल चढाउनुहुन्छ र क्यानडाको भिसा माग्नुहुन्छ ।
बा बितेपछि आमा गाउँमा झन्डै पन्ध्र वर्ष एक्लै बस्नुभयो । छोरा सँगसँगै बस्ने रहर त थियो तर भनेजस्तो भएन । आमालाई पाल्न सक्ने अवस्था बन्दासम्म मलाई क्यानडातिर लाग्ने अवसर मिल्यो । पछि काठमाडौँ आएर पनि आमार्लाइ एक्लै बस्नुपर्ने अवस्था भयो ।
आमाको कोठामा पाहुनाहरु आइरहन्छन् । मेरा साथीहरू यताबाट नेपाल घुम्न गए भने पनि एकपल्ट आमालाइ भेटेर आउँछन् । आमाले पशुपतिको प्रसाद खुवाएर, आशीष दिएर पठाउनुहुन्छ क्रिस्चियन गोरेहरूलाइ पनि । सत्तरी वर्षकी, पढाइलेखाइ नभएकी तर निकै रहरालु हुनुहुन्छ आमा ।
आमालाई आफू स्कुल गएर पढेको सम्झना छैन । ठूलो मामाले सिकाएको रे अलिअलि कखरा पछि । ‘पैलो किताब’ आफैँ पढेर सिकेको भन्नुहुन्छ । उमेर ढल्के पनि उहाँमा उत्सुकता जवान छ, मैले स्मार्ट फोन किन्दिएपछि आमाले भाइबर र फेसबुक चलाउन सिक्नुभयो । फोटा खिच्न र अपलोड गर्न सिक्नुभएको छ मोबाइलबाट । पढेका, जागिर खाएर रिटायर्ड भएका उहाँका गाउँलेहरूले फेसबुक र भाइबर नजान्ने तर आफूले चलाउन जानेकोमा निकै गौरव छ उहाँलाई । यसलाई काठमाडौँजस्तो जान्ने–सुन्ने ठाउँमा बस्नुको उपलब्धि मान्नुहुन्छ आमा । ‘पढेर मात्र हुन्छ र सीप हुनुपर्छ हाताँ’ भनेर फेसबुक–भाइबर नजान्ने दौँतरीहरूलाई छेड हान्दा उहाँलाई मजा पनि लाग्छ क्यार ।
मलाई पनि भाइबरबाट फोन गरिरहनुहुन्छ । अरब र मलेसिया गएका मामा, भाइ–भतिजाहरूलाई पनि फोन गरिरहनुहुन्छ । सानी फुपूले सम्झना गर्नुभयो भनेर उनीहरूले पनि आमालाई फेसबुक म्यासेन्जरमा कलब्याक गरिरहन्छन् । आमाको फुर्सद फोनमा पनि निकै बित्छ, ‘मोबाइलमा धेरै पैसा लाग्ने मुगो हुने र’च’ भनेर गुनासो गर्नुहुन्छ मसित । ‘अब तपाईंको जमाना जस्तो हुन्छ त मोहोर मानो घिउ खाने’ भनेर जिस्क्याइदिन्छु । उहाँ खित्का छाडेर हाँस्नुहुन्छ ।
लौ आमाको फोन आयो भाइबरमा ।
“आमा मैले ढोगेँ,” फोनबाटै खुट्टामा ढोग गरेजस्तो गरी भनेँ ।
“भाग्यमानी भएस् बा,” आमाले फोनबाटै टाउकोमा हात राखेझैँ गरेर आशिक दिनुभयो ।
“के छ आमा खबर ?”
“केही छैन । ढुङ्गेघरे मामा बितेछन् गाउँमा । थाहा पाइस् कान्छा ?”
“ए, के भ’को रहेछ ?” मैले सोधेँ ।
“हातखुट्टा सुन्निने, ज्वरो आउने भएको थियो रे । मान्छे गत्तिलो हो, भगुवान्लाई चाहियो त्यो कान्छो पनि । निख्रिसके गतिला पुराना मान्छे ।”
आमाले दिक्दारी पोख्नुभयो ।
“अनि विल काका पनि गए पदयात्रामा ?”बीचैमा कुरो काटेर मैले सोधेँ अर्थात् मैले प्रसङ्ग बदल्न खोजेँ ।
“गए । आज दिउँसोको पिलेनमा पोखरा गए । तीन दिन बसे यसपाला । मलाई पनि कपालमा लगाउने कालो ल्याइदिएको रहेछ । अम्रिकाने ओर्जिनेल राम्रो वाला ।”
“तपाईंलाई त्यति भा पछि पुग्यो ?”
“यस्सो बिहेबर्तुनमा बोलाउँछन् दिदी र फुपू भनेर । जान परिहाल्यो । कपाल रँगाउन परेन ? घरै मात्र बसिरहँदा पो परेन त । बाहिर निस्कँदा भुतुङ्गे भएर निस्कन भयो त ? तेरो पनि त इज्जतको कुरा भो नि । कस्तो मुमा बडामहारानी जस्तो बनाएर पालेको रहेछ छोराले भनेर देखिन परेन गाउँ–छिमेकमा,”आमाले आफ्ना पुराना तर्क गर्नुभयो । मैले प्रतिवाद गरिनँ ।
“ल ल राम्रो भो । जे दिए पनि उपहार त राम्रो मान्नुपर्छ । त्यही पनि सम्झेछन् विल काकाले,” मैले कुराको बिट मार्न खोजेँ ।
“सम्झिहाल्छ नि । त्यत्रो पढे लेखेको, इन्जिनियर भा’को, खानदानी, धनीमानी मान्छे पो हो त विल काका । टुप्पाबाट पलाएकाहरू पो मात्तिएर खपिखानु हुँदैन त । लालपुरेहरूलाई त झन् दुई मधुसजति त कपडा ल्याएको रहेछ । दामी दामी सक्कली विदेशी जुग जाने लुगा । कस्ता राम्रा ! यहीँ फुर्सदमा पिलास्टिकका झोलामा सबलाई छुट्टाछुट्टै पोको पारेर दिनुपर्ने मान्छेका नाम लेखेर । कति पाको हो त्यो गोरे । दुरान फर्काउने कुलघरानकी बुहारीले के गर्ली ? उति राम्ररी सामान लिएर आएको । उत्ना टाढाबाट हेर त ।”
“अहिले कहाँ कहाँ जाने भन्थे ?” मैले सोधेँ ।
“लालपुरमा यसपालिको दसैँमा टीका लाउने रे । उसको माइती–मावली जस्तै छ । मान्छेले पनि ज्यादै मन पराउने त्यो गाउँमा । जहाजमा सगरमाथा घुम्न जाने रे । पोखराको महँगो होटेलमा बस्ने रे । केके हो केके । कति पैसा रहेछ मोरासँग ? कैल्यै नसकिने खर्च गरेर पनि । छोराछोरी पनि हुर्किसके । काम गर्छन् पढाइ सकेर भन्थ्यो ।”
“हो पढाइ सकेर काम गर्दैछन् । मेरो घर पनि आएका छन् । निकै ठूला भैसके । बिहेचाहिँ भा’ छैन क्यारे तीनै जनाको,” मैले अथ्र्याएँ ।
“मनकारी दयालु मान्छे । लालपुरमा स्कुल खोल्न भनेर कुरा गरेछन् मान्छेहरूले । उसले भवन बनाइदिने भएछ । ठेक्दार खोजेर काम पनि सुरु गराएछ । बाह्र लाख रे त्यो पाँचकोठे एकतले छाप्रो बनाउन । गोरेले दिएछ । मनकारी साह्रै गुनिलो के त्यो मान्छे भगवानैजस्तो,”आमाको तारिफलाई बीचैमा काटेर सोधेँ ।
“अनि अरू सामाजिक सेवाको केके काम गरेछन्?”
“स्कुल बनाउन भनेर सप्ताह पुराण लगाएको रे । त्यसमा पनि ५० हजार चन्दा दिएछ । दीनबन्धु गुरूले जनै र माला लगाइदिएर सम्मान गरेको रे । अघिल्लो जुनीमा पण्डित हुनुपर्छ । कस्तो राम्रो भा’को सेतो कछाड र पहेँलो भोटो र निधारमा टीकामा । दीनबन्धुले काकालाई मन्तर पनि सुनाएका रे । केको गोरे भन्ने ? पूरै नेपाली,” आमाले लालपुरमा खिचेर काकाले ल्याएको फोटोको स्लाइड सो हेरे अनुसार नै भन्नुभयो ।
“अनि ऊ त म्लेच्छ हो नि । पूजामा आउन दिएछन् गुरूले त्यसरी ?” मैले आमालाई अत्तो थापेँ ।
“जनै लगाइदिएर गुरूले मन्त्र सुनाएपछि केको म्लेच्छे हुनु नि । कर्म चलिहाल्यो नि । हाम्रो हिन्दू सनातन धर्म भनेको त्यसै हो त नि । सबै अटाउँछन् । जसले श्रद्धा गरेर आयो, त्यसलाई अस्वीकार गर्न हुन्न,” आमाले हिन्दू धर्मबारे आफ्नै मौलिक धारणा राख्नुभयो, मैले केही भनिनँ ।
लालपुर पहाडको गाउँ, खेतीपाती हुने । न धेरै जाडो, न त धेरै गर्मी । विकासका नाममा दुईकोठे स्कुल र अहिले पानी नआउने पानीका धारा र गाडी नचल्ने मोटरबाटो । हिउँदमा चुनावताका ट्याक्टरसम्म ल्याएका थिए रे । पछि डोजर पनि गयो । ट्याक्टर पनि गयो । चुनाव पनि गयो । कोही फर्केन गाउँमा ।
गाउँमा पुगेर केही न केही सेवा र सहयोग गर्ने हुनाले विल काकालाइ गाउँलेले आफन्त मान्छन् । अघिल्लो महिना एक जना युरोपेली पर्यटकलाई लुटपाट गरे भन्ने सुनिएको थियो लालपुरमै । धर्म प्रचार गर्न खोज्यो भनेर केही युवाहरूले पिटेछन् र बाइबलका किताब खोसेछन् । स्थानीय बूढापाकाहरूले किताबको अपमान गर्नुहुन्न भनेर ढोगेर रामनामी पछ्यौरा ओढाएर कालीगण्डकीमा बगाइदिए रे । विल काकालाई भने यो आफ्नै घरगाउँजस्तो छ ।
गाउँ जानुमा विल काकासँग कुनै निहित स्वार्थ छैन । गाउँलेले माया गर्छन्, त्यत्ति हो उनको लगाव । प्रेममा शक्ति हुन्छ भन्छन् । बाह्र हजार किलोमिटर पर विल काकालाई त्यसैले तान्दो हो । विललाई लालपुरका गाउँलेको धेरै जनाको नाम थाहा छ । हुन त उनी उतिसारो शुद्धसँग नाम उच्चारण गर्न सक्दैनन् तर पनि मान्छेलाई नामैले बोलाएपछि हुने एक खाले हार्दिकताको लगावबारे उनी पूरा जानकार छन् ।
हिउँदे धान रोप्ने बेला थियो । मेसिन बिग्रियो । गाउँको एक मात्र पम्पिङ सेट चलेन । तल खोलाबाट पम्पिङ सेटले पानी तानेर रोपाइँ गर्न थालेको केही वर्ष मात्र भएको थियो । सरकारले दिएको पम्पिङ सेटबाट पानी लगाएर धान रोप्दा बूढापाकाहरू भगवानको लीला भन्थे । पम्पिङ सेट एउटै मात्र हो गाउँमा जडान भएको तर सबैजसो पार्टीका स्थानीय नेताहरूले हाम्रो पार्टीले लालपुरलाई मिलाइदिएको पम्पिङ सेट भनेर क्रेडिट लिन खोज्थे । त्यसमा गाउँलेहरूलाई कुनै निदिखुदी थिएन । जब पम्पिङ सेट बिग्रियो, सबै पार्टीको अफिसमा उपभोक्ता समिति गएर उभिए, जिल्ला नेताहरूलाइ भेटे, समस्या समाधान भएन । त्यो बनाउन निकै खर्च लाग्ने, बोकेर सहर लैजानुपर्ने भन्ने कुरो आयो ।
यत्तिकैमा यसपल्ट विल काका पुगे गाउँमा । पम्प चलाउने डिजेल इन्जिनको समस्या सुनेपछि काकाले तीन दिन लगाएर खोलखाल जोडजाड गर्दा मेसिन बन्यो । गाउँलेहरूले खसी काटे । राती भोजभतेर र नाचगान गरे विल काकाको सम्मानमा । बिल काकाले यसपल्ट आफ्नो नयाँ आइफोनमा भिडियो पनि खिचे । क्याल्गरी फर्केपछि डकुमेन्ट्री नै बनाउने योजना समेत गरे । गाउँमा भोलिपल्टबाट रोपाइँ सुरु भयो । उनले खोक लगाएर हिलोमा पनि खेले ।
जीवनमा निकै रोमाञ्चक छन्, यस्ता पल काकाका लागि । रोपाहारसँग खाजा पनि खाए खेतमै बसेर । उनले क्याल्गरीको पश्चिमपट्टि रहेको ब्याम्फ न्यासनल पार्कमा क्याम्पिङ जाँदा सुनाएका थिए । कता हो कता आनन्दको अनुभूति भयो यो आउटिङ ।
काका आफूलाई चाहिने र चाहिन सक्ने थुप्रै प्रकारका औषधीको पोको लिएर जान्छन् नेपाल । त्यो पनि जाने बेला उपभोक्ता समितिका अध्यक्ष ज्वारचन ठूलबालाई दिएर जान्छन् । त्यो पनि लाखै हुन्छ अभावका बेला । गाउँका पण्डित गीताको श्लोकमा श्रीकृष्णले ‘धर्म संस्थापनार्थाय संभवामि युगेयुगे’ भनेकाले भगवान् गोरेका रूपमा पाल्नुभएको हो भनेर ठोकुवै गर्छन् काकाका बारेमा । लालपुरमा विल काकालाई मन्दिर जान पनि छुट छ । राती भजनमा पनि विल काका नाच्न चुक्दैनन् । उनले अङ्ग्रेजी पारामा चाक हल्लाएर नाच्दा पनि भजन गाउने भक्तहरु साह्रै राम्रो भनेर तारिफ गरिदिन्छन् । विललाई सधैँ लालपुरमा बस भनेर भन्ने गाउँलेहरू मात्र होइन, छोरालाई लुगा ल्याइदिने गोरे जान लाग्यो भनेर आँखा रसाउने गरिब आमाहरूको हार्दिकताभन्दा छ महिनाभन्दा बढी बाहिर रहे क्यानडा सरकारले दिने पेन्सन प्राप्त नहुने समस्याले पुनः क्याल्गरी तान्छ ।
काका क्याल्गरी फर्कंदा मेरी आमालाई भेटेर आएका रहेछन् । के भारी बोकाउने त्यत्रो ठूलो मान्छेलाई भनेर आमाले मलाइ केही पठाउनु भएनछ । छोरालाई अलिकति माया गर्दिनेबित्तिकै मेरी आमालाइ त्यो मान्छे एकदम गतिलो हो भन्ने पर्छ । मेरो आमा र लालपुरका मान्छेका आशयमा भन्ने हो भने भगवान्जस्तो मान्छे यसपल्टको लालपुर भिजिट सकेर विल काका क्याल्गरी फर्के ।
दुई वर्षका लागि बिग्रेका आमाका भ्रामरीका दशा छ महिनाभित्रैमा सप्रेछन् । यसपल्ट भिसा लाग्यो । क्यानडा आउने हुनुभो आमा । “देखिस् ? पशुपतिमा जल चढाएपछि कति चाँडै भिसा लाग्यो ?” आमाले भन्नुभयो । भूकम्पपीडित आफन्तहरूको परिवारका सदस्य क्यानडा आउन निवेदन गरिरहेको छ भने यथासम्भव चाँडै भिसा दिने गरी क्यानडियन सङ्घीय सरकारले गरेको निर्णयका कारण तपाईंको भिसा लागेको हो भनेँ मैले । “हो, त्यही भनेको, त्यो निर्णय गर्न उनीहरूलाई भगवान्ले बुद्धि दे’को हो बुझिस् ?” आमाले मलाई जितेको अनुभूति गर्नुभयो । म चुप लागेँ । मलाइ आमासँग यसरी हार्नुमा औधि आनन्द हुन्छ । यो हप्ता आमाको टिकट पनि भयो ।
उहाँलाई क्याल्गरीमा विल काकाको घर पनि हेर्ने रहर छ । कस्तो होला विलजस्तो असल मान्छे भएको त्यो सहर ? आमालाई निकै उत्सुकता छ । सायद आमा सोच्नुहुन्छ, ‘सबै गोरा मात्र बस्ने त्यो सहरमा विलजस्तै असलै असल मान्छे भएको त्यो स्वर्गजस्तो सहर हुनुपर्छ ।’ म आमालाई छेड हान्छु, “आमाका भगवान्ले पृथ्वीलाई नै स्वर्ग बनाउने कुनै प्रोजेक्ट सुरु गरेका छैनन् ।” आमाले पनि छोराले बिल्ला ग¥यो भन्ने बुझेर हाँस्नुहुन्छ र भन्नुहुन्छ, “तँ माने मान्, नमाने नमान् । तेरा बाले सिकाएको धर्म र देउता म नमरून्जेल मान्छु, मान्छु ।” म खालि हाँसी मात्र रहन्छु ।
मैले यो शनिबार विल काकालाई खान बोलाएँ । ढिँडो र मोहीको ट्वाक्कको सोल्लर खाने बानी परेको छ नेपालमा विललाई । मैले पनि त्यही बनाएँ । खान आउँदा कुन चाहिँ वाइन ल्याऊँ भनेर सोधेका थिए विलले । हामी अल्कोहल, सुर्ती र माछा–मासु नखाने भनेपछि के ल्याउनु उपयुक्त हुन्छ भनेका थिए । मैले केही नल्याउँदा पनि राम्रो देखिन्छ भनेँ तर इन्डियन मिठाई पसलबाट लड्डुको पोको त ल्याइछाडेछन् । काकालाई म अङ्ग्रेजीमा बोल्न भन्छु किनकि यो उनलाई सजिलो हुन्छ । बरू मलाई उनका कुरा उल्था गरेर सुनाउन मजा लाग्छ ।
“तपाईंको घरजग्गा कता छ यहाँ ?” आमाले काकालाई सोध्नुभयो । म उल्था पनि गरिदिन्छु तर कति कुरा काका आफैँ पनि बुझ्छन् ।
आमाको प्रश्नको आशय पनि म बुझ्छु तर काकालाई बुझाउँदिनँ । आमालाई काकालाई जमिनदार सोच्नुभएको छ ।
“मेरो जग्गा छैन । कोन्डो छ दुई बेडरूमको,”काकाले भनेका कुरा म आमालाई उल्था गरिदिन्छु ।
“त्यो डाउन टाउनमा थिए नि, तीस–चालीस तले घर । त्यसलाई अङ्ग्रेजीमा कोन्डोमिनियम भन्छन् । त्यसैलाई छोटोमा कोन्डो भन्छन्,” म आमालाई बुझाउँछु ।
“ए त्यत्रो ठूलो घर छ काकाको ?” आमा छक्क पर्नुहुन्छ ।
“त्यो सबै घर होइन आमा । हामी बस्ने एपार्टमेन्टजस्तै दुई कोठा भनेको,” म अथ्र्याउँछु ।
“अनि दुई कोठा मात्रै उसको ? अरू भाडामा दे’को ?” आमाले सोध्नुभयो ।
“होइन आमा, उनको सम्पत्ति भनेकै त्यत्ति हो । विलजस्ता सयाँै मान्छेको साझा घर हो त्यो अग्लो बिल्डिङ । विलको त्यति मात्र हो,” घर छैन भन्दा आमालाई पत्याउन निकै गाह्रो भयो ।
“खेतबारी, भेडा फारम केही होला नि अरू ? सबै पैत्रिक सम्पत्ति बेचेको विलले ?” आमालाई पत्यार लागेनछ ।
“विलसँग धेरै सम्पत्ति होइन, मनकारी छाती चाहिँ छ । उनका बाबु युरोपबाट बसाइँ सरेर आएका ज्यामी थिए । जति पैसा छ उनीसँग, सबै मिहिनेत गरेर कमाएको हो । उनीसँग भएजति पैसा यहाँका धेरैजसो गोरेसँग हुन्छ । उनीहरू साँच्दैनन् । बस् खर्च गर्छन् । त्यसैले उनीहरूसँग धेरै पैसा भएको जस्तो लाग्छ ।”
मैले नेपालीमा बुझाएको कुरा विलले केही त पक्कै बुझे होला । उनले पनि थपे ।
“मसँग धेरै पैसा छैन । मेरो पेन्सनले मलाई पुग्दैन । कोन्डोको मोर्टगेज तिर्न म हप्तामा तीन–चार रात काम गर्छु ।”
“केको रिन रहेछ र ?” आमा तीनछक्क पर्नुभयो ।
“त्यही दुई कोठे घरको ऋण ।”
“कति हुन्छ र त्यति दुई कोठेको पनि ?” आमाले सोध्नुभयो ।
“नेपाली चार करोड ।”
“चार करोड ! मेरा बाबै कति महँगो त ?” आमा ज्यादै अचम्मित हुनुभयो ।
“छोराछोरीले नि सहयोग गर्दा हुन् नि ऋण तिर्न ।”
“अहँ, यहाँ यस्तो चलन छैन । उनीहरू पनि आफ्नै घरको मोर्टगेजको भारमा यसैगरी थिचिएका हुन्छन् । आमाबासँग सँगै बस्दा पनि बस्दैनन्, १८ वर्ष पुगेपछि ।”
आमालाई तिरिमिरी झ्याइँ भयो विलका कुराले । एकपछि अर्को झड्का दिएजस्तै भयो । आमा ट्वाँ पर्नुभयो । गफगाफ लामै भयो । सामान्यतया व्यक्तिगत कुरो सोध्नु र भन्नु उति स्वाभाविक मानिँदैन यहाँ तर पनि विल नेपाल गएको र नेपाली आनीबानी बुझेको हुनाले उसले आमाका प्रश्नको जवाफ दिइरह्यो । उसले खासै असहज मानेन । रातीको पौने १० बज्दा बल्ल घाम अस्ताउँदै थियो । जाडो थिएन बाहिर । आमा स्वयम्सँग कुरा गरिरहेझैँ चुपचाप हुनुहुन्थ्यो । विललाई मैले आइदिएकोमा सधन्यवाद बिदा गरेँ ।
विल गएपछि म कोठा भान्सा मिलाउनतिर लागेँ । तर विलका बारेमा हामी कुरा गरी नै रह्यौँ । मेरी श्रीमती कामबाट १२ बजे फर्किने हुनाले साँझको धेरैजसो काम म आफैँ गर्छु । कहिलेकाहीँ हामी आमा–छोरा गफ गर्दै बस्छौँ श्रीमती फर्कने बेलासम्म अनि आमा ‘तिमीलाई पर्खेर बसेको’ भनेर कुरा मिलाउनुहुन्छ ।
“विलकी स्वास्नी मरेकी हो ?” आमाले मसँग सोध्नुभयो ।
“होइन, पोइल गा’की ।”
“नेपालमा देउताजस्तो मान्छन् विललाई । यस्तो असल मान्छे छाडेर पोइल हिँडिछ बुढेसकालमा नखरमाउली । नेपालमा भए लाइन लाग्थे यै बूढासित बिहे गर्न पनि । देउताझैँ मान्छन् केरे लालपुर गाउँमा यसलाई । यहाँ एक्लै रहेछ बिचरा ।” आमाले भन्नुभयो ।
“मन परेन होला आमा । हामीलाई राम्रो लाग्ने मान्छे उसैकी स्वास्नीलाई राम्रो लागेन होला ।”
“हुन त माल पाएर चाल नपाउने आइमाई पनि प्रशस्तै भेटिन्छन् नेपालमा पनि । यता पनि हुँदा रहेछन् भन्न परो ।”
विल काकाका पनि कमजोरी होलान् भनेर एकछिनका लागि मान्न पनि तयार हुनुहुन्न आमा ।
“छोराछोरी किन अन्तै बसेका नि ?”
“बिहे नहुँदै केटा र केटी सँगै बस्न र बच्चा पाउन पाइने कानुन छ आमा यहाँ । त्यस्तोलाई कमन ल पार्टनर भनिन्छ ।”
“छ्या के कानुन होला त्यस्तो ?” आमाले नाक चेप्य्राउनुभयो,“त्यस्तो भेडाबाख्राजस्तो चलन रहेछ है गोरेहरूको ।”
आमाको दिमाग अझै पनि घुमेको घुम्यै छ ।”विदेशीहरूको चलनचल्ती केके न हुन्छ भनेझैँ गरेर सिको गर्थे त हाम्रा गाउँका केटाकेटीहरू । यस्तो के चलन हो ? के संस्कृति हो ? अफिसचाहिँ कता हो विलको ?”आमाले सोध्नुभयो मलाई ।
“डाउनटाउनमै छ । उसले रातभरि काम गर्छ । सोमबार, बिहीबार, शनिबार र आइतबार । ऊ मेसिनको मर्मतसम्भार विशेषज्ञ हो । पैसा राम्रै कमाउँछ आमा विलले,” मैले भनेँ ।
“रातभरि नसुतेर काम गर्ने ?”
“दिउँसो सुत्छ नि त ।”
“निद्रा लाग्दैन ?”
“लाग्छ, लागेर सुत्न भएन । त्यत्रा ठूला बिल्डिङमा एकछिन लिफ्ट चलेन भने पनि चौपट हुन्छ । जाग्रामै बस्नुपर्छ आमा ।”
आमालाई यो सहर स्वर्गजस्तो लाग्न छाड्यो अब । भेडाबाख्राको सहर जस्तो लाग्न थालिसक्यो । उहाँ एकछिन टोलाउनुभयो ।
“मर्ने बेलामा न छोराछोरी साथमा, न त श्रीमती सँगै । कति दुःखी रहेछ हगि यो विल काका भन्ने मान्छे ? तर कस्तो हाँसिखुसी ? कस्तो चल्ताफुर्ता ? दुःखको कुरा, कहीँ कतै पत्ता लाग्दैन उसलाई हेरेर,” आमाले भन्नुभयो ।
“खै कसरी जानु आमा, बिल यसमा खुसी छ कि दुःखी ? माछालाई चिसो पानीमै बस्न रमाइलो, सुँगुरलाई हिलो आहाल प्यारो, चौँरीलाई त्यो हिउँको सिरेटो नै राम्रो कि कसो आमा ?” आमाले केही गहिरो कुरो बुझेझैँ गरेर मुन्टो हल्लाउनुभयो ।
“त्यत्रो चार करोडको ऋण एक्लैको थाप्लामा मर्ने बेलामा दुःखकै कुरा हो नि हैन र कान्छा ? अनि किन नेपाल नेपाल लगेर पैसा बाँड्छ त विलले ?” आमा अलिकति दिग्दार लागेजस्तो देखिनुभयो ।
“दान गर्ने भनेको आफूलाई धेरै भएर होइन नि । गाँस काटेर आफ्नो दैनिकीको खर्च कम गरेर गर्ने हो । जुन कुरामा आनन्द छ, त्यो गरेको कुरा हो नि । रक्सी खाने मान्छेले खानेकुरा किन्ने पैसा कटाएर पनि रक्सी किन्छन्, त्यसमा आनन्द छ । विलले नेपालमा दान दिने कसैलाई देखाउन हैन, मनको आनन्दका लागि हो,” मैले आमालाइ बुझाउन खोजेँ ।
“त्यो भन्दा त आफ्नै रिन तिरे हुन्तो मर्ने बेलामा । आफ्नै हाड सुकिला हुन्थे भन्ने मेरो कुरो,” आमाले तर्क गर्नुभयो ।
“ब्याङ्कले घर लिलाम गरेर पैसा असुल उपर गरेर उसको ऋण चुक्ता हुन्छ यदि ऋण नतिरी म¥यो भने । विलले कसैको खाएर मर्नु पर्दैन आमा,”मैले यहाँको प्रचलित आर्थिक अभ्यासको व्याख्या गरेँ ।
“सधैँ काममा जान पर्ने जति बूढो भए पनि । एक–दुई दिन महिनाको कुरो भएन । खै त विलले सुखसँग बस्ने दिन कैल्यै आउन्नन् त ?”
“काममै रमाइलो मान्छन् आमा गोरेहरू । काम भएन भने बरू यिनीहरूलाई न्यास्रो र नरमाइलो लाग्छ भन्छन् । हुँदाहुँदा हामीलाई पनि त्यस्तै लाग्न थालिसकेको छ अचेल,” मैले बुझाएँ ।
आमा धेरै बेर घोरिनुभयो विलको जीवनका पाटाहरूमा ।
“न मेरो एक पैसाको ऋण छ । बरू ब्याङ्काँ थोरै भा’ पनि पैसा छ । पहिराले खाएको भए पनि सानो बारी छ । पुरानै भए पनि गाउँमा मेरै नामको लालपुर्जा भएको घर छ । रात–विरात अनिदो बसीबसी काम गर्नु पर्दैन । अहिले तेरा बाउले छाडेर गएको पैसाले बसीबसी खान पुगेकै छ । छरछिमेक, नालनाता जताततै सेनी फुपू भनेर मानमनितो छ । विदेश गएर आएकी भनेर समाजले गन्छ मलाई । ढोकामा हात पसार्न आउनेलाई रित्तो पठाउनु परेको छैन । कसैलाई चित्त दुखाएर पैसो हात पार्नु परेको छैन । म त विल काकाभन्दा धेरै सुखी रहेछु, हगि कान्छा ?”
आमाले आफैँसँग तुलना गरेर बडा स्वाभाविक ढङ्गले भन्नुभयो । म भरखरै झकाएको रहेछु ।