काठमाडौं । गत शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापा मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापालाई पार्टी सदस्यता प्रदान गरे ।
गत शनिबार उनीसहित ३१ जना नेताहरुले पार्टीबाट संयुक्त राजीनामा दिएका थिए । उनीहरुले पार्टीका नेता कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबरालाई पत्र लेख्दै नेतृत्वको ढुलमुले नीतिले राप्रपाप्रति जन आकर्षण घटिरहेको निराशाजनक अवस्थाबारे वर्णन गर्दै पार्टी छाडेको बताएका थिए ।
सुनीलसँगै विष्णु विक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव र पदमबहादुर बस्नेतलगायतका नेताहरु कांग्रेस प्रवेश गरेका हुन् । सो कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार पनि सहभागी थिए ।