काठमाडौं । नेपालमा मंगलबार थप ३११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
देशभरका प्रयोगशालामा ५ हजार ३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टायता १२१ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १३ हजार ८७५ पुगेको छ । हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टायता १ जनाको निधन भएको हो ।