काठमाडौं । पछिल्लो समय आन्तरिक विवादमा फसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादले उघ्र रुप लिने संकेत देखिएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज बस्ने तय भएको स्थायी कमिटी बैठक स्थगित गरेपनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः सुचारू गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।
बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीइतरका स्थायी कमिटी सदस्यहरू उपस्थित छन् । बैठकअघि प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । ओलीले बैठक आज बस्न नसक्ने बताएपछि प्रचण्डले बैठक नरोकिने भन्दै ओलीको बैठककक्षबाट बाहिरिएका थिए ।
स्रोतका अनुसार बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सरकारका केही मन्त्रीहरू पनि सहभागी छन् । ओली पक्षका नेताहरुले भने बैठक बहिस्कार गरेका छन् । ओलीनिकट नेताहरुले उक्त बैठकलाई स्थायी कमिटी बैठक भन्न नमिल्ने भन्दै प्रचण्ड नेपाल गुटको भेलाको संज्ञा दिएका छन् ।