काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। बिहान ११ बजे बोलाइएको बैठक फेरि स्थगित भएको एक नेताले जानकारी दिए । आजको बैठक पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले स्थगित गरिएको नेकपाले जनाएको छ ।
बैठक अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी आएको उनले बताए । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि नेकपा स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ। यसअघि बाढी, पहिरोको प्रकोपमा परेकाहरुलाई उद्धारमा खटिनुपर्ने भन्दै एक साता स्थगित बैठक आज बोलाइएको थियो।
गएको १७ असार देखि बस्न नसकेको बैठक ६ साउनदेखि एक साताका लागि स्थगित गरिएको थियो। तर, थप छलफलको आवश्यकता रहेको भन्दै अन्ततः बैठक नै अनिश्चित भएको छ।
आज अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्याकेजमै सहमति खोज्न वार्तामा बस्ने पनि बताइएको छ । यसअघि ओलीइत्तरका नेताहरु बहुमतले निर्णय गर्दै स्थायी कमिटी बैठक आगाडि बढाउन सहमत भएका थिए ।