नेकपा स्थायी कमिटी बैठक आज बस्दै

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । पटकपटक स्थगित भइरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ।  बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको छ। 

केपी शर्मा ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि नेकपामा झण्डै एक महिनादेखि विवाद जारी छ। विवाद समाधानका लागि पटकपटक भएका प्रयासहरु सफल नहुँदा स्थायी कमिटीको बैठक स्थगित हुने शिलशिला चलिरहेको छ।  स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्षले एकआपसमा र आफू निकटका नेताहरुसँगको छलफल तीव्र पारेका छन्। 

हिजो प्रचण्डले आफ्नो निवास खुमलटारमा पूर्व माओवादी तर्फका स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा विवाद अन्त्यको संकेत गरेका छन्। उनले पार्टी एकताको रक्षाका लागि ओलीको प्रस्तावमा सहमति गर्नुको विकल्प नभएको बताएका छन्। साउन ३ गते बसेको सचिवालय बैठकमा ओलीले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए।