लकडाउनलाई अझै खुकुलो बनाउने मन्त्रिपरिषदको निर्णय, भदौ १ देखि हवाई सेवा खुल्ने

लकडाउनलाई अझै खुकुलो बनाउने मन्त्रिपरिषदको निर्णय, भदौ १ देखि हवाई सेवा खुल्ने

काठमाडौं । भदौ १ गतेबाट हवाई सेवा सञ्चालनमा ल्याउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १ गतेदेखि  उडान खोल्नेगरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।

कोरोना भाइरसविरुद्ध सुरक्षाका उपाय अपनाई भदौदेखि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार आन्तरिक उडानका लागि सम्पूर्ण सुरक्षाको प्रवन्ध मिलाउन मन्त्रालयलाई निर्देशन दिइनेछ।


त्यस्तै अहिलेको लकडाउनलाई अझै खुकुलो बनाइने भएको छ। यथास्थितिको लकडाउन साउन ७ गते सकिँदैछ। त्यसपछिको चरणमा लकडाउनलाई अझै खुकुलो बनाइने भएको ती मन्त्रीले बताए। 

उनले भने ‘त्यसपछिको लकडाउन कस्तो हुने भनेर सरकारका प्रवक्ताले नै नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नुहुनेछ।’  साउन ८ देखि सिनेमा घर, लामो दुरीका सवारीसाधन, कलेज, विद्यालय लगायत सीमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा थप सहजता मिलाइने भएको छ।