खुमलटार भेला: प्रचण्डले भने- पूर्वएमाले एकातिर र पूर्वमाओवादी अर्कोतिर हुनुपर्ने अवस्था आउन सक्छ

खुमलटार भेला: प्रचण्डले भने- पूर्वएमाले एकातिर र पूर्वमाओवादी अर्कोतिर हुनुपर्ने अवस्था आउन सक्छ

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वमाओवादी पक्षीय स्थायी समिति सदस्यहरुको भेला सकिएको छ। छलफलमा पार्टीभित्रको विवादमा पूर्वमाओवादी खेमाको समान धारणा बनाउने सहमित भएको बताइन्छ । 

भेलामा पूर्वमाओवादी खेमामा रहेका १८ स्थायी समिति सदस्यमध्ये लेखराज भट्ट बाहेक बाँकी सबै सहभागी थिए। प्रचण्डलाई अर्का अध्यक्ष ओलीले मंसिरमै महाधिवेशन गरेर पार्टीको एकल अध्यक्ष बनाउने प्रस्ताव गरेपछि त्यसलाई स्वीकार गर्ने कि नगर्ने भन्ने अलमलमा परेका थिए। शनिबार बेलुका भएको सचिवालय बैठकमा ओलीको प्रस्ताव स्वीकार गरेका प्रचण्डले आइतबार बिहान वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाललगायसँग आफूले ओलीको प्रस्ताव स्वीकार नगरेको बताएका थिए।

प्रचण्ड आफ्नै गुटमा आलोचित भएपछि भावी रणनीतिबारे छलफल गर्न सोमबार आफू पक्षीय नेताहरुसँग छलफल गरेका हुन्। ओलीले जबज स्वीकार गर्नुपर्ने सर्त राख्दै विषय विकेन्द्रीत गरेको प्रचण्डले छलफलको क्रममा बताएका थिए । माधव नेपाल समूहले पनि जवजको कुरा उठाएकाले नेकपाभित्र पूर्वएमाले एकातिर र पूर्व माओवादीहरु अर्कोतिर हुने अवस्था आउन सक्ने भन्दै सचेत रहन प्रचण्डले आग्रह गरेको  स्रोतको दाबी छ ।