काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार साँझ भेटवार्ता भएको छ । करिब ३ घण्टा भएको छलफलको क्रममा प्रचण्डले मंसिरमा महाधिवेहन सम्भव नभएको बताएका थिए ।
आजै माधव नेपाल र झलनाथ खनालसँग पनि परामर्श गरेका प्रचण्डले ओलीसँगको भेटमा फेरि एकपटक राजीनामा दिएर पार्टी एकता बचाउन र विवादको निकास दिन आग्रह गरेको बालुवाटार स्रोतले बतायो ।
ओलीले भने तत्काल राजीनामा सम्भव नरहेको बताउदै दशै पछि राजनीतिक माहोल हेरेर राजीनामा दिन सकिने बताएका थिए । अहिले राजीनामा दिंदा भारतले हटाएको भन्ने सन्देश जाने भन्दै आफ्नो अपमान हुने ओलीको भनाई थियो । सरकारबाट सम्मानजनक बहिर्गमनको वातावरण बनेको दिन आफू राजीनामा दिन तयार रहेको ओलीको कथन थियो ।
सहमतिको लागि सोमबार पनि छलफल हुनेछ । पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि सहमति खोज्नका लागि आइतबार निर्धारित स्थायी कमिटी बैठक दुई दिन स्थगित गरेर सहमतिको प्रयास भइरहेको छ । स्थायी समिति साउन ६ मा बस्नेछ ।