काठमाडौं । आइतबार बिहान ओलीइत्तरका शीर्ष नेताहरुको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटारमा बसेको छ । सो बैठकपछि मंसिरमा महाधिवेहन गर्ने ओलीको प्रस्तावमा सहमति जनाउदै आएका प्रचण्ड पछि हटेका छन् । तर आजको सो बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा भने सहभागि भएनन् ।
हिजो सचिवालय बैठकमा ओलीले मंसिरमा महाधिवेशन गरेर विवाद समाधान गर्ने प्रस्ताव गर्दा थापाले समर्थन जनाएका थिए । यता प्रचण्डले रणनीति नबुझेर ओलीको प्रस्तावमा समर्थन जनाएको भन्दै गौतम रुष्ट भएका थिए । आजको बैठकमा गौतम र थापा सहभागि नहुँदा उनीहरुले प्रचण्ड-नेपाल समूह छोडेको चर्चा छ ।
पछिल्लो समय कहिले ओली त कहिले प्रचण्ड निकट देखिएका थापा ओली क्याम्पमा पुगेको स्रोतको दाबी छ । ओलीले सचिवालयमा आफ्नो बहुमत पुर्याउन थापा र गौतमलाई बिभिन्न प्रलोभन देखाउँदै आएका थिए । सोहि प्रलोभनमा परेर गौतम र थापा ओली क्याम्पमा पुगेको स्रोतको दाबी छ ।
यता पार्टीका सबै कमिटीमा अल्पमतमा परेका ओली गौतम र थापाले साथ दिएमा सचिवालयमा भने बहुमतमा पुग्नेछन् । तर स्थायी कमिटी र केन्द्रीय कमिटीमा भने गौतम र थापाले साथ दिए पनि ओलीको बहुमत पुग्ने अवस्था छैन ।