खुमलटारमा प्रचण्ड-माधव पक्षका नेताहरुको बैठक, प्रचण्डलाई यसरी झपारे माधवले

खुमलटारमा प्रचण्ड-माधव पक्षका नेताहरुको बैठक, प्रचण्डलाई यसरी झपारे माधवले

काठमाडौं । नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव ल्याएपछि त्यसको समर्थन र विरोधमा नेताहरु खुल्ने क्रम जारी छ । कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको उक्त प्रस्तावलाई समर्थन गरेपछि वरिष्ट नेता माधव नेपाल भने रुष्ट हुने पुगेका छन् । 

ओलीको नयाँ प्रस्तावकै कारण प्रचण्ड-माधवको समूहमा विवाद भएपछि आज प्रचण्डनिवास खुमलटारमा सो समूह छलफलमा जुटेको थियो । छलफलका क्रममा प्रचण्डले ओलीले प्रस्तुत गरेको महाधिवेहशनको प्रस्ताव र राष्ट्रपति विद्या भण्डारीसँग भेटका क्रममा भएका कुराकानी सविस्तार प्रस्तुत गरेका थिए । छलफलको क्रममा महाधिवेशनबाटै विवादको समाधान खोज्नु उपयुक्त हुने भनाई प्रचण्डले राखेको खुमलटार स्रोतले बतायो । 

तर माधव नेपालले भने मंसिरमा महाधिवेशन सम्भव नरहेको भन्दै ओलीले दुबै पदबाट राजीनामा नदिन तत्काल महाधिवेशनको जाल थापेको जिकिर गरे । तत्काल कोरोनाको प्रभाव कम हुने देखिंदैन, त्यसपछि दशैं तिहार आउछ, अनि कसरी हुन्छ महाधिवेशन ? उनले प्रचण्डलाई झपार्दै भने । ओलीसँग कुनै गोप्य सहमति भएको भए प्रष्ट पार्न पनि नेपालले प्रचण्डलाई चेतावनी दिएका थिए । 

प्रधानमन्त्री र पार्टी अध्यक्ष पद जोगाउन ओलीले महाधिवेशनको कुरा उठाएकोले आफू महाधिवेशनको पक्षमा नरहेको नेपालले बताएका थिए । नेपालको भनाईमा वरिष्ट नेता झलनाथ खनालले पनि साथ दिएका थिए । वामदेव गौतमले भने प्रचण्डलाई एक्लै भेटेका थिए । आज विहानको छलफलमा नेपाल, खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि मंसिरमा महाधिवेशन सम्भव नरहेको बताएका थिए । 

नेपाल पक्षले महाधिवेशन सम्भव नरहेको बताइरहदा प्रचण्डले भने आजको स्थायी कमिटी बैठकमा त्यसको सम्भावनाको बारेमा छलफल गरिने बताएका थिए । तत्काल आफूहरुको समूह फुटाउन ओलीले महाधिवेशनको प्रस्ताव गरेकोले यसबारे पुनर्बिचार गर्नेमा प्रचण्ड नेपाल समूह पुगेको छ ।